• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओलीको अनभिज्ञता

kharibot

काठमाडौं । अहिले भारतसहित अन्य मुलुकबाट नेपाल भित्रिने फलफुल तथा तरकारीको विषादी परीक्षण प्रकरण चर्चामा रहेको छ । यसै प्रसंगमा भारतीय दुताबासले नेपाल सरकारलाई पठाएको पत्र बारे निकै बहस भएको छ ।       

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको पत्र बारे आफुलाई जानकारी नदिइएको बताएर यस प्रसंगलाई फेरी चर्चामा ल्याएका छन् । प्रधानमन्त्रीले नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै भारतबाट आएको पत्र बारे आफुलाई जानकारी नदिएको भन्दै आफुले यस अघि यस विषय अनावश्यक हल्ला भएको भनेर गरेको टिप्पणी गल्ति भएको स्वीकार गरेका छन् । 

प्रधानमन्त्री ओलीले भने, “अब एउटा कुरामा चाहिँ भुल स्वीकार गर्नुपर्छ । भारतबाट पत्र आएको कुरा साँचो होइन हल्ला हो मैले भनेको थिएँ तर परराष्ट्र, वाणिज्य र कृषि मन्त्रालय यो विषयमा जानकार रहेछन् । मलाई बताइएन । मैले बोलेपछि पनि बताइएन । कुटनीतिक संवादबाट अनभिज्ञ राखियो । मेरो जानकारीमा नभएकोले मैले त्यसो भनेको हुँ । मैले २३ गते बेलुका मात्रै पत्र आएको बारेमा जानकारी पाएँ । त्यसबाट अत्यन्त दुःखी छु ।”

प्रधानमन्त्री ओलीले गत शनिबार नेकपाको संसदीय दलको बैठकमा बोल्दै भनेका थिए, 'भारतबाट पत्र आयो ! खोई कसलाई पत्र आयो ? मैले थाहा पाइनँ । कसले पढ्यो त्यो पत्र ? मैले बुझेको छैन ।'

यो प्रसंग विस्तारै सेलाउदै छ । सरकार दबाबमा परेर विषादी परीक्षण गरेको भन्ने आम जनताको बुझाईलाई सरकारका प्रधानमन्त्री र मन्त्रीहरुका अभिव्यक्तिले प्रष्ट भैसकेको छ । एक मन्त्री सबै ठाउमा विषादी परीक्षण गर्ने केन्द्र छन् भन्ने दाबि संसदमै गरिरहेका छन् भने अर्का मन्त्री परीक्षण गर्न सक्ने क्षमता नै रैनछ भन्दै सचिवले झुक्याएको भन्दै हिडिरहेका छन् ।

अब प्रधानमन्त्री ओलीले झन् भारतीय पत्र बारे शनिबार सम्म आफु अनबिज्ञ नै रहेको बताएर साचो त बोलेकै होलान तर यति ठुलो चर्चा पाएको यस विषयमा सार्वजनिक रुपमा भारतीय राजदुताबासको पत्र बारे चर्चा भइरहदा यो के हो भनेर सोध्नेसम्म पनि नगरी कसरी बोलिदै छ या सरकार कसरी चलाइदै छ भन्ने सजिलै बुझ्न सकिन्छ । 

यो मात्र होइन यस अघि पनि प्रधानमन्त्री पटक पटक यसरी नै गुमराहमा परेका छन् । गुठी बिधेयक, मिडिया काउन्सिल विधेयक, वाइडबडी प्रकरण हरेक विषयमा प्रधानमन्त्रीको टिप्पणी र यथार्थ फरक नै परेको देखिन्छ ।

यस प्रकरणमा प्रधानमन्त्रीले आफ्नो गल्ति स्वीकार गरेको त राम्रै हो तर उनले नै नेतृत्व गरेको, देशको शक्तिशाली कार्यकारी प्रधानमन्त्री आफ्नै कर्मचारी र मन्त्रीज्युहरुको गोल चक्करमा कसरी परिरहेका रहेछन् भन्ने ताजा उदाहरण पनि हो यो ।

आम तहमा प्रधानमन्त्रीले गर्ने भनेका काममा सायद कसैले प्रश्न उठाएका छैनन् तर प्रश्न त काम कसरी भइरहेको छ ? किन भइरहेको छैन ? के हाम्रा प्रधानमन्त्रीलाई सबै कुरा थाहा छ ? कि यत्तिकै टिप्पणी मात्र गरिरहेका छन् ? भन्ने प्रश्न भने अहिले उठेको देखिन्छ ।            
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै