• २०८१ बैशाख ८ शनिबार

शिल्पा र छविबीच सहमति

kharibot

काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच सहमति भएको छ ।

गएको चार दिन अगाडि अभिनेत्री शिल्पाले श्रीमान् ओझाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुमा आफ्नो शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी थिइन् । बिहीबार प्रहरी परिसरले दुबैलाई बोलाएर अब झगडा नगर्ने गरि सहमति पत्रमा हस्ताक्षर गराएको छ । दुईलाई बुधबार बोलाइएको भए पनि छविराज विरामी हुँदा छलफल हुन सकेको थिएन । 

प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले दुईबीच अब कहिल्यै झगडा नगर्ने सहमति भएको बताएका छन् । उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने- 'केही दिन अगाडि शिल्पा पोखरेलले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिनुभएको थियो । बिहीबार हामीले दुबै पक्षलाई राखेर सहमति गराएका छौं । अब कहिल्यै झगडा नगर्ने भनेर उहाँहरुले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।' 

गएको तीन वर्ष अगाडि छविराजले चौथो श्रीमातीको रुपमा अभिनेत्री शिल्पालाई घर भित्राएका थिए । गएको ६ महिना अगाडि मात्र दुईको विवाह दर्ता भएको थियो । तर, विवाह भएको लामो समयसम्म यो कुरा दुबैले गोप्य राखेका थिए । गत वर्ष छवि स्वयंले आफूहरु बैबाहिक जीवनमा बाँधिएको र सँगै बस्दै आएको खुलाएका थिए ।

बुधबार मात्र शिल्पाले छविविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको कुरा मिडियाबाट बाहिरिएको थियो । छविले आफूलाई हातपात गरेको र कानको जालीसमेत फुटेको दाबी शिल्पाको छ । तर छविले सामान्य घरायसी विषयमा झगडा भएको बताएका छन् । 

अभिनेत्री रेखा थापासँग बैबाहिक सम्बन्ध टुंग्याएपछि छविले शिल्पासँग विवाह गरेका थिए । सुपरहिट फिल्म बनाउने निर्माता छविले शिल्पालाई फिल्म 'लज्जा' बाट नेपाली फिल्ममा डेब्यू गराएका थिए । त्यसअघि शिल्पा म्यूजिक भिडियोमा व्यस्त थिइन् । डेब्यू फिल्मपछि उनी छविराज प्रोडक्सनको ब्यानरबाट निर्माण हुने कुनै फिल्ममा छुटेकी छैनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै