• २०८१ बैशाख ७ शुक्रबार

हिलोमाथि रातो कार्पेट : हाम्रो अवस्थाको सहि प्रतिबिम्ब

kharibot

काठमाडौँ । पछिल्लो समय देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविधालय निकै खबरमा रहेको छ । शिक्षाको स्तर खसेको, उपकुलपति विवाद हुदै पछिल्लो समय त्रिवि अंक थपेर गोल मेडल दिने तथा प्रधानमन्त्रीलाई हिलो माथि रातो कार्पेट बिछाएको सम्म आएको छ ।

शिक्षा कुनै पनि देशको विकासको प्रमुख मापदण्ड हो । चेतनशील प्राणी भएकाले अहिले शिक्षा क्षेत्रको विकास बिना कुनै खालको विकास असम्भव रहेको छ । तर राजनीतिक हस्तक्षेपले थिलो थिलो भएको त्रिवि साच्चै हिलोमा कार्पेट बिछाएको अवस्थामा छ भन्दा अन्यथा हुदैन । एक पछि अर्को अनियमतिता, अंक थपेरै गोल मेडल दिने सम्मको अपराधले त्रिवि यति बेला थला परेको अवस्थामा रहेको छ ।       

मुलुककै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समयमा एकपछि अर्को बदनामीका घटना सार्वजनिक भएपछि अब यसको पूनर्संरचना गर्नुपर्ने आवश्यकता देखिएको छ । त्रिवि सेवा आयोगको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गराइएको र परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखामा न्यून अङ्क ल्याएका विद्यार्थीलाई अङ्क थपेर उत्कृष्ट बनाइएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेपछि विश्वविद्यालयको दुरुहता थप प्रदर्शित भएको हो ।

“हार्डवेयरको पाटाको निर्माण बरु सजिलो हुँदोरहेछ तर सफ्टवेयरको पाटाको निर्माण भने अत्यन्त जटिल हुँदोरहेछ”, उपकुलपति प्रा डा तीर्थराज खनियाँ नेतृत्वको पदाधिकारीको कार्यकाल सकिन डेढ महीना बाँकी रहेको समयमा बुधबार सम्पन्न त्रिविको ६०औँ स्थापना दिवसका बैठकमा शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले व्यक्त गरेको यो अभिव्यक्तिमा विश्वविद्यालय आन्तरिकरुपमा कति ग्रस्त छ भन्ने दर्शाउँछ । हाल विभिन्न ११ विश्वविद्यालय सञ्चालनमा रहे पनि उच्चशिक्षाको ८० प्रतिशत विद्यार्थी हिस्सा त्रिविमा छ । हाल त्रिविका तीन लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विभिन्न तहमा वार्षिक ७० हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण हुन्छन् ।

विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा, भ्रष्टाचार, पदाधिकारीबीच बेमेल, तालाबन्दी, हेलमेट शिक्षक, विद्यार्थी राजनीति, शोधपत्र खरीब–बिक्री, शैक्षिक क्यालेण्डरको बेवास्तालगायत समस्या बर्षौदेखि गाँजिएर रहेका छन् । आगामी भदौको दोस्रो सातामा रिक्त हुने त्रिविलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीको नियुक्तिका लागि दौडधुप शुरु भएको छ । अहिले सरकारले अहिलेसम्म गरेका कामलाई हेर्ने हो भने राजनीति भन्दा माथि उठेर नियुक्ति गर्छ भन्ने कुरा अनुमान समेत नगरे हुन्छ । किनकी बर्षौ देखि यिनै राजनीतिक अनुहार सत्तामा छन् र उनीहरुनै यस्तो बेथितिका प्रमुख जिम्मेदार हुन् ।

कस्ता प्राज्ञिक व्यक्ति पदाधिकारीमा आएमा विश्वविद्यालयको गुमेको फिर्ता होला भन्ने विषय बहसमा रहेपनि राजनीतिक नेतृत्वको चाहना बिना यो सम्भव देखिदैन ।

राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य डा उषा झा भन्नुहुन्छ, “उपकुलपति हुने व्यक्तिले उसको कार्यालयमा गरिने स्पष्ट कार्ययोजना पेश गर्नुपर्छ । त्यसमध्ये उत्कृष्ट कार्ययोजना हुने योग्यतमलाई नियुक्ति गरिनुपर्छ ।”

विद्यमान कानूनअनुसार छनोट समितिको सिफारिसका आधारमा कुलपति एवं प्रधानमन्त्रीले उपकुलपतिहरुको नियुक्त हुन्छ । यस मापदण्डलाई सुधार र परिमार्जनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिव डा हरिप्रसाद लम्सालको संयोजकत्वमा गठन गरेको कार्यदलले दिएको सुझाव मन्त्रालयले अध्ययन गरिरहेको छ । मन्त्रालयका सचिव खगराज बरालका अनुसार राष्ट्रपति कुलपति हुने जस्ता सुझावहरु उपयुक्त नभए पनि अन्य पक्षहरु अध्ययन भइरहेको छ । कुलपतिले पनि यसबारे उचित निर्णय गर्नुहोला ।”

“आज हाम्रा अभिभावकका अगाडि छौँ । यहाँ कोही परचक्री छैन । यसैले आफ्नो घरभित्र मैले आफ्नो मुटु दुखेको कुरा लुकाइरहन सकिनँ”, भावुक हुँदै शिक्षाध्यक्ष डा त्रिपाठीले भनिन्, “विश्वविद्यालयको मुटु दुखिरहेको कुरा हाम्रा आदरणीय अभिभावकले थाहा पनि पाउनुपर्छ र मनन पनि गर्नुपर्छ । हाम्रा खेत खलियानमा बाढी पसिरहेछ । कान्लासुर्काहरूलाई पहिरोले ताछिरहेछ । हामी गुन्द्री-भकारी बोकेर गोठ सारिरहन बाध्य छौँ ।” 

उनले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई सम्बोधन गर्दै भनिन, “विश्वविद्यालयका हजुरबुबा भने पनि, बुबा भने पनि यहाँ नै हुनुहुन्छ । हामीलाई अभिभावकका तर्फबाट अभयदान चाहिएको छ ।”

अंक थपेर गोल मेडलको दाग 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका कर्मचारीसहित तीन जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुको परीक्षाको प्राप्ताङ्क फेरबदल गरी/गराई नतिजामा अनियमितता गरेको आरोपमा त्रिविको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत रहेका शिक्षक सुरेन्द्र प्रसाद कोईरालाले गोप्य शाखामा कार्यरत शाखा अधिकृत राम बहादुर कर्माचार्यलाई एक लाख ५० हजार दिएर एमए अर्थशास्त्रमा गोल मेडल ल्याउने उद्देश्यले सम्पूर्ण परीक्षार्थीको भन्दा बढी प्राप्ताङ्क हुने गरी अनुचित ढंगले अंक थपाई प्रथम श्रेणीमा प्रथम भई उत्तिर्ण गरेको, सन् २०१९ को दीक्षान्त हुँदा प्रथम श्रेणीमा प्रथम बनेर गोल्ड मेडलको हकदार बनेको, त्यस्तै राम बहादुर कर्माचार्यलाई नै प्राप्ताङ्क थप गर्न लगाई एमए रुरल डेभलपमेन्ट प्रथम श्रेणी हासिल गरेको तथा एमए सोसलोजीको परीक्षामा अनुपस्थित हुँदाहुदै पनि उत्तिर्ण भएको देखिएको छ ।

त्रिवि नियन्त्रण कार्यालय बल्खुमा गोप्य शाखामा कार्यरत कर्मचारी राम बहादुर कर्माचार्यले परीक्षाको परिणाम फेरबदल गर्न सुरेन्द्र प्रसाद कोईरालासँग मिलेमतो गरी कोईरालाले हासिल गरेका अर्थशास्त्र, रुरल डेभलपमेन्ट र सोसियोलोजीको एमएका १५ वटा पेपरमा ३ नम्बर देखी ५० नम्बर सम्म गरी कुल २२४ अंक थप गर्न सुरेन्द्र प्रसाद कोईरालाबाट एक लाख ५० हजार र केदार भट्टराईले हासिल गरेको एमए अर्थशास्त्रको ५ वटा पेपरमा १०/१० नम्बरका दरले ५० अंक थप गर्न सुरेन्द्र प्रसाद कोईराला मार्फत दिएको तीन लाख गरी जम्मा ४ लाख ५० हजार लिएको प्रमाणित भएको छ ।

यस प्रकरणले त्रिविमा ठुलो दाग लगाएको छ । देशकै ठुलो शैक्षिक जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयमा भएको यस्तो कुकृत्य प्रति सरोकारवाला निकाय कडा हुनुपर्ने आवश्यक त छदै छ, हाम्रा संरचनाहरुले कसरी काम गरिरहेका छन् भनेर पुनर्मूल्यांकन गर्नुपर्ने आवश्यकता यस प्रकरणले देखाएको छ ।

हिलोमाथि कार्पेट प्रकरणको अर्को दाग :

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी त्रिभुवन विश्वविद्यालयको कार्यक्रमस्थल पानी परेर हिलाम्मे स्थलमा रातो कार्पेट बिछ्याइएर स्वागत गरिएको विषय अहिले मिडिया देखि सामाजिक संजालमा निकै चर्चामा रहेको छ । हिलाम्मे बाटोमा कार्पेट बिछ्याएको विषयलाई धेरै जसोले देशको अवस्थासँग तुलना गरेका छन् ।

बुधबार प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवशको बैठकमा सहभागी हुने क्रममा सरस्वती मन्दिरको उद्घाटन स्थलमा जाने बाटोमा हिलो माथि प्लाइउड र त्यसमाथि रातो कार्पेट बिछाइएको थियो । यसका दुई पक्ष रहेको देखिन्छ । एउटा त लगातार मिडिया र सामाजिक संजालमा प्रधानमन्त्रीको नकारात्मक टिप्पणी भइरहेका बेला भएको अर्को टिप्पणी । अर्को सरकार लगातार विवादमा आइरहदा आयोजक, प्रधानमन्त्रीको सचिवालय र स्वयं प्रधानमन्त्री समेतले कुन ठाउमा जाँदा के के हुन्छ, कस्तो विषय मिडियामा आउन सक्छ भन्ने आंकलन गर्न नसक्नु ।

यस प्रकरणमा त्रिविले नवनिर्मित उपकुलपति कार्यालय भवन र सरस्वती मन्दिरको उद्घाटनका क्रममा हिलोमाथि रातो कार्पेट नभई प्लाइउड बिछ्याइएको बताएको छ ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट उद्घाटित सो भवनमा ‘हिलोमाथि रातो कार्पेट’ भनी समाचार सम्प्रेषण गरिएकामा विश्वविद्यालयले प्रेस विज्ञप्ति जारी गरी दुःख व्यक्त समेत गरेको छ ।

विज्ञप्तिमा “प्लाइउडलाई रातो कार्पेट मानी प्रकाशित समाचारले विश्वविद्यालयको गरिमालाई धमिल्याउने नियत भएको कार्यप्रति दुःख प्रकट गर्दै यस्ता हुँदै नभएका विषयलाई लिएर अतिरञ्जित गर्ने कुनै पनि कार्य नगर्न विश्वविद्यालय आग्रह गर्दछ ” भनिएको छ ।

त्रिविले जे भनेपनि मिडियामा आएका तस्बीरहरुमा हिलो, हिलो माथि प्लाइउड र त्यसमाथि कार्पेट बिछाएको प्रष्ट देखिन्छ । यो प्रकरणलाई हिलो र कार्पेट मात्र भन्दा पनि समग्र सोचको प्रतिबिम्बको रुपमा बुझ्दा अहिलेको देशको राजनीति, राजनीतिक नेतृत्वको सोच र हाम्रो समग्र अवस्थालाई यस प्रकरणले प्रतिबिम्बित गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै