• २०८१ बैशाख ८ शनिबार

यस्तो रह्यो न्युजील्याण्डको विश्वकपमा फाइनलसम्मको यात्रा

kharibot

काठमाडौँ । न्युजील्याण्ड लगातार दोस्रो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब फाइनलमा न्युजील्याण्डले इङल्याण्डको सामना गर्ने छ । विश्वकपको फाइनल खेल आइतबार हुने छ ।

यस रिपोर्टमा हामीले न्युजील्याण्डको अहिलेसम्मको विश्वकप यात्रा र यस विश्वकपका आरोहअवरोहहरुलाई प्रस्तुत गर्ने प्रयास गरेका छौ ।

न्युजील्याण्डले अहिलेसम्मका १२ वटै विश्वकपमा आफ्नो सहभागिता जनाएको छ । अहिलेसम्म विश्वकपको उपाधि जित्न नसकेको न्युजील्याण्डको विश्वकपमा उत्कृष्ट प्रदर्शन २०१५ र यस पटकको विश्वकप हो । दुई पटक लगातार विश्वकपको फाइनलमा पुगेर न्युजील्याण्डले धेरैको मन जितेको छ । र यस पटक उपाधि जित्ने प्रयास गर्ने छ ।

न्युजील्याण्डको विश्वकपमा सहभागिताको कुरा गर्दा २ पटक सन् १९८३ र १९८७ मा समुह चरण बाटै बाहिरिएको थियो भने २००३ मा सुपर सिक्समा पुगेको थियो । त्यस्तै १९९६ मा क्वाटरफाइनलमा पुगेको थियो । त्यसैगरी १९७५, १९७९, १९९२, १९९९, २००७ र २०११ मा सेमिफाइनलसम्म पुगेर बाहिरिएको थियो । त्यस्तै सन् २०१५ मा फाइनलमा अस्ट्रेलियासँग पराजित भएको न्युजील्याण्ड फेरी यस पटक भारतलाई पराजित गर्दै फाइनल पुगेको छ ।

अहिलेसम्मको विश्वकपको न्युजील्याण्डको उपलब्धिको चर्चा पछि यस विश्वकपमा न्युजील्याण्डको यात्राबारे चर्चा गरौ । लिग चरणका कुल ९ खेल मध्ये ८ खेल खेलेको न्युजील्याण्डको एक खेल भारतविरुद्ध बर्षाले रद्ध भएको थियो ।

न्युजील्याण्डको यस विश्वकपको यात्रा :  

१)    पहिलो खेल : श्रीलंकामाथि १० विकेटको जित ।
२)    दोस्रो खेल : बंगलादेशमाथि २ विकेटको जित ।
३)    तेस्रो खेल : अफगानिस्तानमाथि ७ विकेटको जित ।
४)    चौथो खेल : भारतविरुद्धको खेल बर्षाले रद्ध ।
५)    पाँचौ खेल : दक्षिण अफ्रीकामाथि ४ विकेटको जित ।
६)    छैठौ खेल : वेस्टइन्डिजमाथि ५ रनको जित ।
७)    सातौ खेल : पाकिस्तानसँग ६ विकेटले पराजित ।
८)    आठौ खेल : अस्ट्रेलियासँग ८६ रनले पराजित ।
९)    नवौ खेल : इङल्याण्डसँग ११९ रनले पराजित । 
१०)    सेमिफाइनल खेल : भारतमाथि १८ रनको जित । 

एक विश्वकपमा खेलाडीको सर्वाधिक रन :

१)    केन विलियम्सन (२०१९) – ५४८ 
२)    मार्टिन गप्टिल (२०१५) – ५४७ 
३)    स्कट स्टारिस (२००७) – ४९९ 
४)    मार्टिन क्रोवे (१९९२) – ४५६ 
५)    स्टेफेन फ्लेमिंग (२००७)- ३५३ 
        
न्युजील्याण्डका खेलाडीको प्रदर्शन :

न्युजील्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक रन बनाएका छन् । विलियम्सनले ९ खेलका ८ इनिंगमा २ शतक र २ अर्धशतकसहित ९१.३३ को औसतले ५४८ रन बनाएका छन्, जसमा उनको उच्च रन वेस्टइन्डिजविरुद्ध १४८ रहेको छ ।
त्यस्तै रोज टेलरले ३३५ रन बनाएका छन् भने जिम्मी निशामले २१३ रन बनाएका छन् । त्यस्तै कोलिन डि  ग्रान्डहोमले १७४ र मार्टिन गप्टिलले १६७ रन बनाएका छन् ।

त्यसै गरीलुकी फर्कुसनले ८ खेलमा ४.८७ को इकोनोमीले बलिङ गर्दै कुल १८ विकेट लिएका छन् । त्यस्तै ट्रेन्ट बोल्टले ९ खेलमा ४.६२ को इकोनोमीले कुल १७ विकेट लिएका छन् । त्यस्तै माट हेनरीले १३ र जिम्मी निशामले १२ विकेट लिएका छन् ।
समग्रमा न्युजील्याण्डको अहिलेको टिम सन्तुलित देखिएको छ । सेमिफाइनलमा भारतविरुद्ध न्युजील्याण्डक बलरहरुले गरेको प्रदर्शन यस विश्वकप कै उत्कृष्ट प्रदर्शन भन्न सकिन्छ ।

यस विश्वकपमा न्युजील्याण्डको सबै भन्दा चिन्ताको विषय ओपनिंग जोडी हो । विष्फोटक ब्याट्सम्यानको छबि बनाएका मार्टिन गप्टिल यस विश्वकपमा श्रीलंकाविरुद्धको ७३ रन बाहेक राम्रो प्रदर्शन गर्न सकेका छैनन् । त्यस्तै पछिल्ला तीन खेलमा ओपनिंग गरेका हेनरी निकोल्सले ८, ० र २८ रन बनाएर निराशाजनक प्रदर्शन गरेका छन् । त्यसैले अहिलेसम्म नचलेको ओपनिंग जोडी फाइनलमा पनि नचालेमा न्युजील्याण्ड संकटमा पर्ने अनुमान गर्न सकिन्छ । अन्यथा मिडल अर्डरमा कप्तान विलियम्सन, रोज टेलर, निशाम र ग्रान्डहोमले सम्हालेकै देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै