• २०८१ बैशाख ७ शुक्रबार

लेखा अधिकृत भागेपछि बेनी नगरपालिकामा खैलाबैला

kharibot

गलेश्वर । आर्थिक वर्षको अन्त्यमा सयौँ योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ ।

एउटा विद्यालयका प्रधानाध्यापकसँगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मालाई साउन ५ गतेसम्मको बिदा लेखेर भागेपछि बेनी नगरपालिकाका विभिन्न क्षेत्रका सयौँ उपभोक्ता समितिले नगरपालिकाबाट पाउनुपर्ने भुक्तानी रोकिएको छ ।

नगरपालिकाको प्रशासन तथा लेखा शाखामा  भुक्तानी गर्नुपर्ने सयौँ योजनाका फाइलको चाङ लागेको छ । बेनी नगरपालिकाको स्वीकृत कार्यक्रमअनुसार विद्युतीय पुस्तकालय र विज्ञान प्रयोगशाला स्थापना गरी भुक्तानी लिन आएका बेनी नगरपालिका–२ भकुण्डेस्थित अर्जुन माविका प्रधानाध्यापक शिव खत्री र लेखा अधिकृत सुवेदीबीच बुधबार विवाद भएको थियो । लेखा अधिकृत सुवेदीले स्वीकृत कार्यक्रम र बजेट शीर्षकमा अन्य विद्यालयले नै भुक्तानी लगिसकेकाले थप भुक्तानी गर्न नसक्ने अडान लिएपछि विवाद शुरु भएको थियो ।

“आर्थिक वर्षको अन्तिममा लेखा अधिकृत हिँडेपछि नगरपालिका पूरै ठप्पै भएको छ । समस्या आएको भए सुल्झाउन सकिन्थ्यो तर बिल भुक्तानीको विषयमा लेखा अधिकृतलाई दुव्र्यवहार भएछ”, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले भने, “बिदा लेखेर जानु भएको छ, फर्काउने प्रयत्न जारी छ, सम्भव भइरहेको छैन ।”

लेखा अधिकृत सुवेदीले प्रमुख प्रशासकीय अधिकृतलाई ‘आफूमाथि दुव्र्यवहार’ भएको लिखित रुपमा साउन ५ गतेसम्मका लागि घर बिदा मागेर निस्केपछि आर्थिक वर्षको अन्तिममा विभिन्न योजना र कार्यक्रमका भुक्तानी फाइल रोकिएका छन् । नगरपालिकाले ६ लाख ५० हजारका दरले तीन वटा माविमा ई–पुस्तकालयका लागि बजेट विनियोजन गरेको थियो । तर नगरपालिकाका शिक्षा शाखा हेर्ने अधिकृतले ‘भूलवश’ तीन स्कुल हुनुपर्नेमा चार वटा स्कुललाई ई–पुस्तकालय कार्यक्रम परेको जानकारी गराउँदा समस्या भएको नगरपालिकाले जनाएको छ । 

अर्जुन माविका प्रधानाध्यापक खत्रीले आफ्नो कुनै गल्ती नभएको बताए । “योजना सम्पन्न भएपछि पूरै प्रमाणको फाइल बोकेर भुक्तानी लिन गएको थिएँ”, प्रअ खत्रीले भने, “प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत गरिसकेपछि फाइल लगेर लेखा अधिकृतकहाँ जाँदा उनले भुक्तानी दिन नमिल्ने भन्दै अपमानित गर्न खोजेपछि मैले ‘तपाइँलाई पनि कुनै शिक्षकले पढाएर नै यो ठाउँमा पुग्नुभएको हो, शिक्षकलाई अपमानित गरेर आफ्नो हैसियत नबिर्सनुहोस् भनेको हुँ’, प्रधानाध्यापक खत्रीले बताए ।

यस विषयमा प्रतिक्रिया माग्न लेखा अधिकृतसँग सञ्चारसम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै