• २०८१ बैशाख ११ मंगलबार

बाढी र पहिरोले अहिलेसम्म १६ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

kharibot

काठमाडौं । बिहीबार रातिदेखि भएको निरन्तर वर्षाको कारण मुलुकको विभिन्न स्थानमा आएको बाढीपहिरोमा परि एक दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् ।

अहिलेसम्मको रिपोर्ट अनुसार खोटाङमा पहिरोले ३ जना, काठमाडौँको मुलपानीमा पर्खाल भत्किदा ३ जना, काभ्रेमा घर भत्किदा २ जना, भोजपुरमा बाढीले बगाएर २ जना  मकवानपुरमा बाढीले बगाएर एक जना बालिका, सिन्धुलीमा पहिरोले बगाएर एक जना, ललितपुरमा पहिरोमा परेर एक बालकको, महोत्तरीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । त्यस्तै रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।

पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै धादिङमा एक जनाको मृत्यु भएको छ ।                      

खोटाङमा ३ जनाको मृत्यु 

खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला परेको छ । घरमाथिबाट आएको पहिराले घर बगाउँदा आज बिहान बेपत्ता रहेका २९ वर्षीया रेखा राई र उहाँका छोरा चार वर्षीय रमन र सात महीनाका रोजनको शव फेला परेको हो । 

पहिराले मृतकका श्रीमान् ३१ वर्षीय विष्णु राई गम्भीर घाइते हुनुभएको छ । उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि खोटाङ बजार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए । 

मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको प्रहरीले जनाएको छ । बिहान करीब ५ बजेतिर पहिराले घरमा सुतिरहेका चारैजनालाई बगाएको थियो । पहिरो आउनासाथ स्थानीयवासीले विष्णुलाई उद्धार गरेको प्रहरीले जनाएको छ । बेपत्ता बनेका दुई छोरा र आमालाई इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट उद्धारमा खटिएका प्रहरी टोली र स्थानीयवासीले अपराह्नपछि मृत फेला पारेका हुन् ।

काठमाडौँको मूलपानीमा पर्खाल भत्किदा ३ जनाको मृत्यु

काठमाडौँको मूलपानी बाबाचोकस्थित स्वास्थ्यचौकी भवन नजिकै पर्खाल भत्किँदा एकै परिवारका दुई जना र अर्को एक जनाको मृत्यु भएको छ । बारा देवताल गाउँपालिका–५ स्थायी घरभई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादवलाई उद्धार गरी अस्पताल पुर्याएपछि नेपाल मेडिकल कलेज अत्तरखेलले मृत घोषणा गरेको छ ।

उनका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीय नितु यादवको उद्धार गर्दै गर्दा मृत्यु भइसकेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा बस्दै आएका यादव परिवारलाई पुरेको हो ।

भोजपुरमा २ जनाको मृत्यु 

भोजपुरमा केही दिन देखिको अविरल वर्षाले भोजपुरमा दुईजनाको मृत्यु भएको छ । वर्षासँगै गएको पहिरोले चर्पी बगाउँदा चर्पीसँगै रहेका टेम्केमैयुम गाउँपालिका–ं ९ लेखर्क ओइराङका कुवेरमान विकका १४ वर्षीय छोरा जनक विकको ज्यान गएको छ भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलीसहितको गाह्रो भत्किएर पुरेकाले मृत्यु भएको हो ।

काभ्रेमा २ जनाको मृत्यु :

अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा काभ्रेको बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् ।

स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा र माटोले बनेको दुईतले घर बिहीबार राति ११ बजे पहिरो पुर्दा उनकी श्रीमती ६० वर्षीया गोमा र नातिनी सात वर्षीया सुहबीको मृत्यु भएको थियो भने बुहारी ३० वर्षीया सुशीला र  उनकी तीन महीनाकी छोरी अनुष्का घाइते भएका थिए । घरमा रहेका चारैजना घरभित्र पुरिएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयाज सापकोटाले जानकारी दिए । 

घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अविरल वर्षाका कारण चौँरीदेउराली–४ मजुवामा आज बिहान पहिरोले तीन घरमा क्षति पुर्याएको छ । 

अविरल वर्षाका कारण बनेपास्थित पुलबजारस्थित सडक आज बिहानदेखि डुबानमा पर्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ । ठूला सवारीसाधन मुस्किलले डुबान सडक पार गरिरहेका छन् भने हलुका तथा दुईपाङ्ग्रे सवारीसाधन बाटोमै रोकिएका छन् ।

ललितपुरमा पहिरोमा परेर बालकको मृत्यु

निरन्तरको वर्षाका कारण ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टामा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । पञ्चलाल जिम्माका घर पहिरोमा पुरिँदा घरभित्र रहेका दुई छोरामध्ये ११ वर्षीय सरोज जिम्माको मृत्यु भएको वाग्मती गाउँपालिकाले जनाएको छ ।

घर पुरिनासाथ स्थानीयवासीले तत्काल उद्धार गर्दा एक जना सकुशल भेटिएको र एक जनाको मृत्यु भइसकेको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनलाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत चापागाउँका प्रमुख रामकृष्ण सापकोटाले बताए ।

मकवानपुर बाढीले बगाएर बालिकाको मृत्यु

मकवानपुरको थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने क्रममा एक बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ । 

सोही वडाको दम्की खोलाले बगाउँदा १४ वर्षीया छात्रा सन्तमाया घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी अविरल परेको वर्षाले हेटौँडा नारायणगढ सडकखण्डको ज्यामिरेमा आज अपराह्न पहिरो आई सो सडकखण्डमा यातायात अवरुद्ध भएको छ । 

उक्त पहिरो हटाउन इलाका प्रहरी कार्यालय मनहरीले डोजर त्यसतर्फ पठाइसकेको र करीब दुई घण्टाभित्रै यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । अहिले पनि अविरल परेको वर्षात्को बाढीले त्रिभुव राजपथको बागझोरामा यातायात सञ्चालन गर्न अझै पनि कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।  

सिन्धुलीमा पहिराले गोठ बगाउँदा महिलाको मृत्यु

सिन्धुलीमा लगातारको अविरल वर्षाका कारण पहिराले गोठ बगाउँदा एक महिलाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–१ झुल्केमा पहिराले गोठसहित बगाउँदा महिलाको पुरिएर मृत्यु भएको हो ।

गोठमा गाईलाई खोले दिन गएकाबेला ३५ वर्षीया हेमकुमारी सुनुवारको पहिराले बगाउँदा मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिए । माथिबाट खसेको पहिराले गोठसहित बगाउँदा तीन गाई, दुई बाख्रासमेत मरेको उनले जानकारी दिए ।
महोत्तरीको रातो खोलाले वृद्धलाई बगायो

महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो ।

विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । घाँस काट्न वनमा गएको बैठाले खोला तर्न खोज्दा बाढीले बगाएर लगेको प्रहरीले जनाएको छ ।

अझै दुई दिन मनसुन सक्रिय हुने - मौसम विज्ञान विभाग

केहि दिन देखि सक्रिय रहेको मनसुन थप सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

विहिबार देखि सक्रिय भएको मनसुन थप सक्रिय भएको मौसम थप् सकिरी भएको र अझै २ दिन मौसम सक्रिय हुने जानकारी दिएको छ ।

विभागका अनुसार विहिबार देखि मध्य तराई क्षेत्रमा शसक्त न्यून छापिय प्रणाली समेत विकसित भएको कारणले मध्य तथा पूर्वी नेपालको पहादुई तथा तराईक्षेत्रहरुमा अविरल वर्षा भैरहेको र बागमती, कमला लगायतका नदीहरुमा बाढीको खतरा पार गरेको जनाएको छ ।

बिभागले मौसम तथा बढीको अवस्था आगामी २ दिनसम्म रहने भएको भन्दै सर्वसाधारणलाई उच्च सतर्कतामा रहन अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै