• २०८१ बैशाख १३ बिहीबार

एक खोज जसले बचायो लाखौं समुद्री जहाज

kharibot

‘म रोमनको क्याथोलिक भएको भए सायद यो अवसरमा मैले सन्तको लागि कुनै प्रार्थनागृह बनाउने संकल्प गर्नुपथ्र्यो । तर, म रोमनको क्याथोलिक होइन, त्यसैले यदि मैले कुनै संकल्प लिएँ भने त्यो लाइटहाउस बनाउने संकल्प हुनेछ ।’ – बेन्जामिन फ्रान्कलिन, जुलाई १७५७ 

लाइटहाउसले सयौं वर्षदेखि जहाजलाई बन्दरगाहसम्म पुग्ने बाटो देखाइरहेको छ । पहिले पहाडको माथि आगो बालेर समुद्री जहाजलाई किनार नजिक आउन लागेको संकेत गरिन्थो । पछि कोइला र तेलको बत्तीले त्यसको स्थान लियो । बत्तीको प्रकाश बढाउन ऐना लगाउने गरिन्थ्यो जुन टाढा समुद्रबाट पनि देख्न सकिन्थ्यो । तर, अँध्यारो र आँधी आएको रातमा भने बत्तीले काम गर्दैनथ्यो । बिहान डुंगा र जहाजका टुक्रिएका पार्टपुर्जामात्र किनारमा भेटिन्थ्यो । यसरी यहाँ धेरै जहाजको दुर्घटना हुने गरेको थियो ।

सन् १८२० को दशकमा यस्तो अवस्थामा परिवर्तन आयो । फ्रान्सेली भौतिक वैज्ञानिक अगस्टिन फ्रेस्नेलले एक विशेष लेन्सको आविष्कार गरेका थिए । उनले क्रिस्टलबाट बनेको प्रिज्मको रिङलाई गुम्बज आकारमा व्यवस्थित गरे जसले अपरावर्तित प्रकाशलाई पनि परावर्तित गर्न सक्थ्यो । फ्रेस्नेलले यो लेन्स फ्रान्सको कोर्डोवान लाइटहाउसमा लगाए । यो लाइटहाउस बोडेक्सदेखि करीब १०० किलोमिटर उत्तरमा गिरोन्डे नदी र एटलान्टिक समुद्रको संगममा बनाइएको छ । 

फ्रेस्नेलले लेन्स लगाएपछि लाइटहाउसको बत्ती कयौं माइल टाढाबाट पनि नाविकहरुले बाटो देख्न थाले । फ्रान्सको सबैभन्दा पुरानो र अहिलेसम्म चालू रहेको यो लाइटहाउस खुला समुद्रमा बनेको विश्वकै पहिलो लाइटहाउस हो । विश्वकै पहिलो लाइटहाउस भने इजिप्टको अलेक्जेन्ड्रिया लाइटहाउसलाई मानिन्छ जसको निर्माण ईशापूर्व २८० मा सुरु भएर ईशाको १४औं शताब्दीमा ध्वस्त भएको थियो । 

पुनर्जागरण कालको अद्भुत संरचना

सेतो ढुंगाले बनेको यो भवन पुनर्जागरण कालको अद्भुत संरचना हो । यसमा क्याथेड्रल (मुख्य गिर्जाघर), किला र शाही निवास पनि छ । 

फ्रान्सको संस्कृति मन्त्रालयले सन् १८६२ मा यसलाई ऐतिहासिक स्मारक घोषित गरेको थियो । त्यही वर्ष पेरिसको नोत्रे दामलाई पनि स्मारक घोषित गरिएको थियो । 

कोर्डोवान लाइटहाउससम्म केवल डुंगाबाट पुग्न सकिन्छ । भित्रको सिँढी चढेर त्यसको माथिसम्म पुग्न सकिन्छ । त्यहाँबाट पर्यटकले फ्रान्सको विरासतको बारेमा अद्भुत जानकारी प्राप्त गर्दछन् । 
मेडक अटलान्टिक दक्षिणपश्चिमी फ्रान्सको समृद्ध क्षेत्र हो जुन अंगुरको बगैंचा, वाइन तथा महिलाको लागि प्रसिद्ध छ । 

बोर्डेक्सको उत्तरमा रहेको सेन्ट प्यालेस–सुर–मेर शहरमा जति पर्यटक पुग्छन् । दिनभर शहरभित्र नै घुम्छन्, किनारको मजा लिन्छन्, त्यहाँको स्थानीय परिकारको स्वाद लिन्छन् । नजिकैको जंगलमा घुम्छन् । जब साँझ पर्न थाल्छ, त्यसपछि लाइटहाउस देखिन थाल्छ । त्यसपछि बल्ल त्यस लाइटहाउसको सुन्दर छटा देखिन थाल्छ । त्यहाँ जाने जोकोही त्यो लाइटहाउस त्यसरी समुद्रको बीचमा किन बनाइएको होला भनी छक्क पर्दछन् । 

वास्तवमा कोर्डोवानको लाइटहाउस फ्रान्सको वास्तुशिल्पको एक लामो उतारचढावले भरिएको इतिहासको परिणाम हो । 

नवौं शताब्दीमा त्यहाँ एक सानो बत्तीको व्यवस्था रहेको बताइन्छ । चाल्र्स महान् शारलेमेनले उक्त बत्तीका लागि आदेश दिएका थिए । ब्ल्याक प्रिन्स (एडवर्ड अफ वेल्स) ले सन् १३६० मा यहाँ टावर बनाएका थिए । त्यसको दुई वर्षपछि राजा हेनरी तृतीयले गिरोन्डे नदीको मुखमा सुन्दर टावर बनाउन चाहन्थे जसले भग्नावशेष पूर्व टावरको स्थान लिन सकोस् । 

उनले पेरिसका प्रसिद्ध वास्तुकार लुई डी फ्वाँलाई लाइटहाउसका साथै घर, रक्षकहरुको वासस्थान, एक ठूलो बत्ती र गिर्जाघर बनाउने आदेश दिए । 

धार्मिक लडाइँ र कतिपय वित्तीय तथा प्राविधिक समस्याका कारण निर्माण गति सुस्त रह्यो । तर, लुई डी फ्वाँले काम गरिरहे । हेनरी तृतीयको निधनपछि पनि काम चलि नै रह्यो । सन् १६११ मा एटलान्टिक र गिरोन्डको संगमतर्फ जाने नाविकहरुले पहिलोपटक ६७.५ मिटर अग्लो सुन्दर लाइटहाउस देखे । 

सायद जहाजका कप्तानले यहाँको माथिल्लो ग्यालरी डेकमा चढ्नुभन्दा पहिला च्यापल नोत्रे दाम दि कोर्डोवानमा आफ्नो सुरक्षित यात्राको लागि प्रार्थना गर्दा हुन् । 

लाइटहाउसलाई सन् १६११ मा बत्ती बालिएको थियो । यसको लागि दाउरा र इन्धनको प्रयोग गरिएको थियो । सन् १६४० को दशकमा आँधीका कारण यहाँको प्रकाश व्यवस्था ध्वस्त भएकाले ह्वेलको बोसोको तेलबाट बालिने लालटिनको प्रयोग गर्न थालियो । तर, यसबाट कम प्रकाश आउँथ्यो । १८औं शताब्दीमा तुलको ठाउँमा कोइलाको प्रयोग सुरु भयो । त्यस्तै, पछि तेलको लालटिन तथा तामाको परावर्तक लगाइयो । १८ शताब्दीको अन्त्यतिर घडी प्रणालीको प्रयोग गर्दै घुम्ने लाइट बनाइयो । यसरी विश्वको पहिलो घुम्ने लाइटहाउस बन्यो । 

शान्त मौसममा त तेलले बल्ने बत्तीले नाविकहरुलाई धेरै सहायता गथ्र्यो । तर, आँधी आएको अँध्यारो रातमा भने यसले नाविकलाई त्यति सहयोग गर्न सक्दैनथ्यो । 

राजशाहीको प्रतीक 

सन् १७८९ को फ्रान्सेली क्रान्तिपछि फ्रान्सको पुरानो सामन्ती व्यवस्थाको हरेक प्रतीकलाई नष्ट गर्ने प्रयास भयो । कोर्डोवानको भित्र बनेको शाही मूर्ति र राजशाहीलाई समर्पित शिलालेखलाई पनि हटाइयो । शिल्पकार लुई डी फ्वाँको मूर्ति पनि तोडियो । यो ठूलो मूर्ति आज पनि प्रवेशद्वारको नजिक देख्न सकिन्छ । 

पुरानो प्रतीकलाई मेटाएपछि यो लाइटहाउसको उपयोगिता सुधार्न तथा प्रकाश टाढासम्म पुर्याउन धेरै प्रयास भए । १९औं शताब्दीमा प्रकाशको क्षेत्रमा धेरे काम भए । डच भौतिक वैज्ञानिक क्रिश्चियन हाइगेन्सले प्रकाशको सिद्धान्त प्रतिपादन गरेका थिए । जसअनुसार प्रकाश तरंगको रुपमा चल्दछ ।

यस सिद्धान्तलाई अगस्टिन फ्रेस्नेलले राम्ररी प्रयोग गरे । उनले कन्भेक्स प्रिज्मलाई मखिबुट्टे आकारमा जोडेर प्रकाशको तेर्सो किरणलाई सही दिशामा मोड्न समर्थ भए । 

फ्रेस्नेलको यो व्यवस्था ज्यामितीय प्रकाशको एक मुख्य सिद्धान्तमा आधारित थियो । यसअनुसार प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा त्यसको दिशा परिवर्तन हुन्छ । 

फ्रेस्नेलले बनाएको लेन्सको व्यवस्था र क्रिश्चियन हाइगेन्सको दिशा परिवर्तनको सिद्धान्तले लाइटहाउसको प्रकाश त्यसको स्रोतभन्दापनि तीव्र बनाइदियो । त्यसको प्रकाशलाई हाल धेरै टाढाबाट पनि देख्न सकिन्छ । फ्रेस्नेलको यो योगदान फ्रान्सको लागि निकै महत्त्वपूर्ण मानिन्छ । 

कोर्डोवान क्षेत्र नाविकलाई धोका दिने चट्टानले युक्त किनारको रुपमा परिचित छ । 

सन् १८६० पछि साना बन्दरगाहदेखि ठूला लाइटहाउससम्म हजारौं स्थानमा फ्रेस्नेलको लेन्स लगाइएको छ । 

कोर्डोवान लाइटहाउसका सुरक्षाकर्मी मिकेल नेबु भन्छन्, ‘हरेक लाइटहाउसको आफ्नै विशेषता हुन्छ, यो लाइटहाउसको बत्ती पनि १२ सेकेन्डमा ३ पटक बल्ने गर्दछ ।’ 

लाइटहाउसको लेन्स घुमेसँगै दक्षिणपट्टि रातो प्रकाश छरिन्छ भने पश्चिममा हरियो अथवा सेतो प्रकाश फैलिन्छ । प्रकाशको रङले जहाजको आकारअनुसार त्यसलाई नियन्त्रित गर्दछ । हरियो रङले संगमको मुख्य बाटोको संकेत गर्छ जहाँ ठूला व्यावसायिक जहाज चल्दछन् । कोर्डोवान फ्रान्सको अन्तिम लाइटहाउस हो जहाँ सुरक्षाकर्मी रहन्छन् । अप्रिलदेखि नोभेम्बरको बीचमा यहाँ सर्वसाधारण पनि जान सक्छन् । 

सन् २००२ मा युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।  

बीबीसी ट्राभलबाट भावानुवाद 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै