• २०८१ बैशाख ८ शनिबार

तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार वितरण, कसले कुन अवार्ड जिते ?

kharibot

काठमाडौँ । राष्ट्रपतिबाट प्रदान गरिने ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ शुक्रबार साँझ राष्ट्रपति निवासमा एक भव्य कार्यक्रमका बीच गएको तीन वर्ष (०७३, ०७४ र ०७५) देखिको अवार्ड तथा सम्मान एकसाथ प्रदान गरिएको छ ।

चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवको ११ दिनपछि आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा वर्ष २०७३ को सर्वोत्कृष्ट फिल्म मिनबहादुर भाम निर्देशित फिल्म 'कालो पोथी' घोषित भएको छ ।

उक्त फिल्मका निर्देशक तथा निर्माता भामलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट फिल्मको राष्ट्रिय पुरस्कार प्रदान गरिन् । उत्कृष्ट निर्देशकको अवार्ड भने फिल्म 'सेतो सूर्य' बाट निर्देशक दीपक रौनियार उचालेका छन् । त्यस्तै, फिल्म 'डाइङ क्यान्डल' बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार श्रृजना सुब्बाले प्राप्त गर्दा अभिनेतातर्फ फिल्म ‘जात्रा’ बाट विपिन कार्कीले अवार्ड जिते ।

फिल्म 'छक्का पञ्जा' वर्ष २०७३ को पपुलर फिल्म घोषित हुँदा 'जात्रा' बाट मित्र डि. गुरुङ्गले सम्पादन विधामा अवार्ड चुम्न सफल भए । छायांकन तर्फ 'लभ शाशा' बाट शिवराम श्रेष्ठ र लेखनमा 'कालो पोथी' बाट अभिनाश बिक्रम शाहले अवार्ड हत्याए । आदिवासी फिल्मतर्फ भने ‘क्यू प्ह्रो छे’ ले अवार्ड जित्यो । अवार्ड विजेतालाई राष्ट्रपति भण्डारीले २५ हजार नगदसहित ट्रफी प्रदान गरेकी थिइन् ।

चलचित्र विकास बोर्डले पहिलो पटक अवार्ड विजेतालाई नगदसहित पुरस्कृत गरेको हो । त्यस्तै, 'दीर्घ साधना सम्मान-२०७३' ३ लाख ५१ हजार १११ रुपैयाँसहित बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीलाई प्रदान गरिएको छ । तीन वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ वितरण गरिएको कार्यक्रममा नेपाली फिल्मका परिचित अनुहारहरुले राष्ट्रपति समक्ष १२ मिनेटको नृत्य पनि प्रस्तुत गरेका थिए, जुन राष्ट्रिय अवार्डको इतिहासमा पहिलो पटक भएको हो ।

वर्ष ०७४ र ०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा फिल्म 'ब्लाइन्ड रक्स' र फिल्म 'गोपी' उत्कृष्ट घोषित भएका छन् । राष्ट्रपति भण्डारीले दुबै फिल्मका निर्देशक/निर्मातालाई नगद र टर्फी प्रदान गर्दै बधाई दिइन् । त्यस्तै, ०७४ को उत्कृष्ट निर्देशकको अवार्ड फिल्म 'ब्लाइन्ड रक्स' बाटै मिलन चाम्सले पाउँदा सोही फिल्मबाट अभिनेत्रीतर्फ बेनिशा हमालले अवार्ड चुमिन् ।

अभिनेताको अवार्ड भने फिल्म 'मंगलम' बाट पुष्प खड्का हात पारे । उनले अवार्डमा नृत्य पनि गरेका थिए ।

२०७४ को 'राष्ट्रिय चलचित्र पुरस्कार' मा फिल्म 'मंगलम' बाट सम्पादक मित्र डि. गुरुङ्गले अवार्ड उचाल्दा 'कृ' बाट छायाँकार पुरुषोत्तम प्रधान र 'धनपति' बाट लेखक तथा पटकथाकार खगेन्द्र लामिछानेले अवार्ड प्राप्त गरे । उल्लेखनीय अभिनय (महिला) तर्फ 'मंगलम' बाट मिथिला शर्मा र पुरुषतर्फ ‘शत्रुगते’ बाट रमेश रञ्जन झाले अवार्ड पाए । आदिवासी फिल्मतर्फ भने ‘टिन्छेन फामा’ ले अवार्ड जित्यो । कार्यक्रममा राष्ट्रपति भण्डारीले बरिष्ठ निर्देशक किशोर रानालाई २०७४ को 'दीर्घ साधना सम्मान' प्रदान गरिन् ।

त्यस्तै, ०७५ को 'राष्ट्रिय चलचित्र पुरस्कार' मा फिल्म 'प्रसाद' बाट विपिन कार्की र फिल्म 'बुलबुल' बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् ।

उत्कृष्ट निर्देशकको अवार्ड पनि 'बुलबुल' बाटै विनोद पौडेलले हात पारे । पटकथा र लेखनमा फिल्म 'गोपी' बाट सामिप्यराज तिमल्सेना र दिपेन्द्र लामाले अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए । भने, उत्कृष्ट छायाँकारको अवार्ड फिल्म 'समर लभ' बाट सञ्जय लामाले उचाले । 

सम्पादन विधामा फिल्म 'साइँली' बाट निमेश श्रेष्ठले अवार्ड आफ्नो पक्षमा पार्दा लगातार उत्कृष्ट फिल्मको सिरिज निर्माण गरेको भन्दै 'छक्का पञ्जा' लाई पुरस्कृत गरिएको छ । आदिवासी फिल्मतर्फ भने ‘रिजे नासाँ’ ले अवार्ड प्राप्त गर्योा ।

त्यस्तै, फिल्म 'भोर' मा उत्कृष्ट अभिनय गरेको भन्दै पूजा कर्ण पुरस्कृत हुँदा ३ लाख ५१ हजार १११ नगदसहित 'दीर्घ साधना सम्मान' बाट बरिष्ठ निर्देशक तुलसी घिमिरेलाई सम्मानित गरिएको छ । 'राष्ट्रिय चलचित्र पुरस्कार' समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटा पनि उपस्थिति थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै