• २०८१ बैशाख १३ बिहीबार

अबिरल वर्षाका कारण बारा जिल्ला जलमग्न

kharibot

बारा । चार दिन अघि देखिको वर्षाले बाराका अधिकाँश भूभाग डुवानमा परेको छ । जिल्लाका फेंटा , विश्रामपुर , देवताल , जीतपुरसिमरा लगायतका क्षेत्र डुवानमा परेका हुँन् । 
डुवानमा परेका करिव पन्ध्र सय घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय , बाराले जनाएको छ ।

पिडित परिवारलाई उच्च स्थान , नजिकको विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयबाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक रंजित सिंह राठोरले जानकारी दिए । 
फेंटाको वडा नं.१ त्रिवेणी , विश्रामपुर गाउँपालिकाको २ , ३ , ४ वडा पुर्ण रुपमा डुवानमा परेको छ । यसैगरी देवताल गाउँपालिकाको ६ र ७ पुर्ण रुपमा डुवानमा परेको प्रहरीले जनाएको छ । 

डुवानमा परेकाहरुको उद्दारमा नेपाली सेना , नेपाल प्रहरी स्थानीय जनप्रतिनिधिहरु खटेका छन् । 

यस्तै बाराको हावाहुरी पिडितको घर निर्माणका लागि खटिएका नेपाली सेनाका टेण्टहरु डुवानमा परेका छन् । भने उनीहरुले समयमा खाना खान समेत पाएका छैनन् । उनीहरुका लागि गण , वाहिनीबाट खाना पकाएर ट्रक मार्फत खाना पुर्याईएको छ । 

हावाहुरी पिडितहरु सुरक्षित स्थानमा गए पनि सेनाले सामान लगायत हात  हतियारको सुरक्षाका लागि अस्थाई शिविर छोड्न सकेका छैनन् । 

अविरल वर्षाको कारण निजगढ स्थित लालबकैया नदीमा आएको बाढीले ड्याम भत्काउँदा नदि बस्ती तर्फ पस्ने खतरा बढेको छ । गत असार २५ गते राति देखिको निरन्तर वर्षाका कारण नदीमा आएको बाढीले ड्याम भत्काएको हो । ड्याम भत्किन शुरु भएसँगै वडा नम्बर ९ जोखिममा परेको छ ।

निरन्तरको वर्षाका कारण सडक विस्तारसँगै गाडिएका विजुलीका पोलहरु समेत ढलेका कारण विगत चार दिन देखि जिल्लाका विभिन्न स्थानमा विद्युत सेवा समेत अवरुद्ध रहेको छ । निरन्तर पानी परिरहेका कारण विद्युतको काम अघि बढाउँन नसकिएको नेपाल विद्युत प्राधिकरण सिमरा शाखाले जनाएको छ ।

बाराका दुधौरा , बाणगंगा र पसाहा खोलामा पानीको वहाव उच्च रहेकाले जिल्ल्लाका विभिन्न स्थानहरु डुवानमा परेको हो । 

जिल्ल्लामा निर्माणधिन हुलाकी राजमार्गका कारण राजमार्गको आसपासका क्षेत्रभाग बढि डुवानमा परेको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिले हाल डुवान भएका स्थानहरुको पहिचान गरी उद्दार कार्यमा लागिरहेको जिल्ला प्रहरी कार्यालय , बाराले जनाएको छ ।  

जिल्लामा हाल सम्म कुँनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ । अपरान्ह ५ बजे देखि मौसममा सुधार आएकाले हाल वर्षा रोकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै