• २०८१ बैशाख १४ शुक्रबार

नगरपालिकाले दियो भानुजयन्तीमा सार्वजनिक बिदा

kharibot

दमौली । तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरकार्यपालिकाको बैठकले नगरपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको भानु नगरपालिकाका वरिष्ठ अधिकृत एवं सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए ।

भानुभक्तको सम्मानस्वरुप नगरपालिकाभित्र सार्वजनिक बिदा दिइएको नगरप्रमुख उदयराज गौलीले बताए । उनले भने, “भारतमा भानुभक्त आचार्यको ठूलो सम्मान छ तर हाम्रै ठाउँमा हामीले भानुको सम्मान गर्न सकेका छैनौँ ।” प्रत्येक वर्षको भानुजयन्तीमा बिदा दिने नगरपालिकाले जनाएको छ । 

विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् ।

मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।

भानुजयन्तीमा विविध कार्यक्रम

दुईसय छ औँ भानुजयन्तीका अवसरमा नगरपालिकाले आइतबार विविध कार्यक्रम आयोजना गर्ने भएको छ । जयन्तीका अवसरमा भानु जन्मस्थल विकास समितिको कार्यालयमा प्रभातफेरी, सांस्कृतिक तथा साहित्यिक कार्यक्रम, रामायण वाचन, कविता प्रतियोगितालगायत कार्यक्रमको आयोजना गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै