• २०८१ बैशाख ७ शुक्रबार

राप्रपा प्रदेश-१ को बिस्तारित बैठक : संगठन निर्माण बर्षको रुपमा काम गर्ने निर्णय

kharibot

पशुपतिनगर, इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश -१ को बिस्तारित बैठक विभिन्न नौ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।

इलामको पशुपतिनगरमा बसेको बिस्तारित बैठकमा पार्टी अध्यक्ष कमल थापाको प्रमुख उपस्थिति रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै थापाले नयाँ शिराबाट पार्टीलाई अगाडि बढाउनु जरुरी भएकोले सैद्धान्तिक बैचारिक निष्ठा,सांगठानिक कृयाशिलता, इमानदारीता र मेहनतको बलमा पार्टीलाई उठाउने गरि काम गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

चुनौती र असहजता छ भन्दै थापाले मनोबललाई उच्च राखि जिम्मेवारी बहन गर्न आग्रह गरे । आफुहरुले भोगेको पराजय र बेहोरेको असफलतालाई इखको रुपमा लिई काम गर्नुपर्नेमा जोड दिदै उनले राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने जिम्मेवारी बहन गर्नबाट कोहि पनि चुक्न नहुने बिचार ब्यक्त गरे ।

काँग्रेस कम्युनिस्टको असफलता,अदुरदर्शिता र अकर्मण्यताका कारण जनतामा निराशा छाएको र मुलुक संकटको भुमरीमा फस्दै गएको विश्लेषण सहित थापाले जनताको मन जित्दै बिश्वास आर्जन गर्ने काम नै राप्रपाको आगामी बाटो भएको तर्क गरेका थिए ।

कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले संगठन बिना पार्टीको उदेश्य प्राप्त नहुने हुँदा संगठनलाई केन्द्रमा राखेर गतिविधि गर्नुपर्नेमा जोड दिए । नयाँ पुस्ताको आकर्षण बिना पार्टी आशातित रूपमा अघि बढ्न नसक्ने भन्दै उनले पार्टीमा नयाँ पुस्तालाई उच्च प्राथमिकताका साथ जिम्मेवारी र भुमिका दिनुपर्ने आबश्यकता औल्याए ।

प्रदेश अध्यक्ष राम थापाको अध्यक्षतामा भएको बिस्तारित बैठकमा प्रदेश क्षेत्र भित्रका पार्टीका केन्द्रिय पदाधिकारी सदस्य, प्रदेश समिती, जिल्ला अध्यक्षहरु, जनबर्गिय संगठन प्रमुखहरुको उपस्थिति रहेको थियो । बैठकमा सह महामन्त्री अर्जुन राई, सहायक महामन्त्रीहरु लिला श्रेष्ठ , केदार कोइराला , बसन्तमान सिह अधिकारी , प्रदेश सांसद राई लगायतले बोलेका थिए ।

पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकले केहिदिन अघि देखि परेको अविरल बर्षाले पुर्याएको जनधनको क्षतीप्रती दुख प्रकट गर्दै मृतकहरुमा श्रद्धाञ्जली र परिवारजनमा समबेदना व्यक्त गरेको छ र राहत तथा उद्दारमा जुट्न सबैमा आग्रह गरेको छ । 

बिदेशबाट आयात हुने तरकारी र फलफूलमा बिषादी परिक्षणको तत्काल ब्यबस्था गर्न सरकार समक्ष जोडदार रुपमा माग गरेको छ ।

देशमा भईरहेको व्यापक अनियमितता र भ्रष्टाचारका ठुला- ठुला काण्डहरुको छानबिन गरि दोषीमाथी कडा भन्दा कडा कारबाही  गर्न, लोभ,लालच,प्रलोभनका आधारमा योजनाबद्ध रुपमा व्यापक धर्म परिबर्तन भईरहेको प्रती बैठकले आपत्ती जनाउदै तत्काल धर्म परिबर्तनलाई रोक र संलग्नहरुलाई कारवाहीको माग गरेको छ ।

यस बर्षलाई "संगठन निर्माण बर्ष"को रुपमा काम गर्ने , बाँकी रहेका जिल्लामा स्वाभिमान यात्राको तयारी गर्ने, सकृय सदस्यता अभियान चलाउने, स्थानीय तहको अधिबेशन तोकिएको समयसिमा भित्र गर्ने,जनबर्गिय संगठनको निर्माण र परिचालन गर्ने लगायतका निर्णय गरिएको सहायक महामन्त्री बर्तौलाले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै