• २०८१ बैशाख १३ बिहीबार

बाढी, पहिरो, डुबानको विपद्मा सहयोग गर्न सभामुख महराको आग्रह

kharibot

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गरेका छन् ।

सभामुख महराले आज जारी गर्नुभएको प्रेस वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु ।”

प्रेस वक्तव्यमा उनले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक सङ्घसंस्था÷अभियन्ता, राजनीतिक दल तथा सर्वसाधारण सबैमा अनुरोध गरेका छन् ।

 ‘यस्ता प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवं राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाई व्यावहारिकरुपमै लागू गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु”, प्रेस वक्तव्यमा भनिएको छ ।

प्राकृतिक विपद्मा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको उपचारमा कुनै कमी हुन नदिन सभामुखले सरकारसँग विशेष अनुरोध गर्दै विनाशकारी प्रकोपमा परी हराइरहेकाको खोजी, प्रभावितको उद्धार र पीडितलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन सरकार र सरोकारवाला निकायसँग हार्दिक अपिल गरेका छन् । बर्खायाममा हुन सक्ने सम्भावित विपत्तिबाट जोगिनका लागि सतर्क रहन सभामुख महराले अपिल गरेका छन् ।

केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिको घटनाले आफूलाई निकै मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै सभामुख महराले विज्ञप्तिमा दुःखद प्राकृतिक विपद्का कारण निधन हुनुभएकाप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै