• २०८१ बैशाख ८ शनिबार

हराएका नवजात शिशुका बुवालाई रोजगार र परिवारलाई निःशुल्क उपचार

kharibot

पाल्पा । लुम्बिनी मेडिकल कलेज पाल्पाबाट हराएका नवजात शिशुको बुवालाई रोजगार र उनका परिवारलाई निःशुल्क उपचार दिइने भएको छ ।

गएको शुक्रबार मेडिकल कलेजमा जन्मिएको केही समयमा नै हराएका नवजात शिशुका वुबालाई रोजगार र परिवारलाई निःशुल्क उपचार दिने भएको सो कलेज जनाएको हो ।

हराएको शिशु सकुशल भेटिएपछि कलेज प्रशासन र पीडित पक्षबीच भएको छलफलपछि रोजगार र निःशुल्क उपचार गर्ने लिखित सहमति भएको अस्पतालका अध्यक्ष गोपालप्रसाद पोखरेल र तानसेन नगरपालिका– ९ का वडाअध्यक्ष हरिसुमर रेग्मीद्वारा हस्ताक्षरित प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाले शुक्रबार विहान ११ः५६ मा छोरालाई जन्म दिएकी थिइन् । जन्मदिएको केही समयमा नै नवजात शिशु हराएको थियो ।

जमुनाको रेखदेखमा उनकी आमा खटिएकी थिइन् । झोलिलो खानेकुरा लिन काखमै शिशु च्यापेर होटलमा गएकी आमा समक्ष एक जना अपरिचित महिलाले सहयोग गर्ने बाहना गर्दै शिशु समात्न पुगेकी थिइन् । झोलिलो पदार्थ लिएर जमुनाकी आमालाई अस्पताल कक्षमा पठाएको र शिशु आफूले ल्याइदिने निहुँ पारी त्यसैबखत शिशु लिएर महिला बेपत्ता भएकी थिइन् । हराएको शिशुसहित चोरी गर्ने महिला शनिवार बिहान ८ बजे स्याङ्जाको र्मिमीमा भेटिएको थियो ।

शिशु चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले सार्वजनिक गरेको छ । शुक्रवार दिउँसो करिव ३ बजेतिर नवजात शिशु चोरी गरी फरार रहेकी स्याङ्जा गल्याङ नगरपालिका–५ डुम्रीचौरका ४५ वर्षीय विमकला पाण्डेलाई पक्राउ गरी प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

योजनाबद्ध तरिकाले महिलाले बच्चा चोर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) दिपेन्द्र जिसीले बताए । उनका अनुसार विदेशमा भएको श्रीमान्लाई आफू गर्भवती भएको र बच्चा समेत जन्माएको प्रमाण देखाउन महिलाले अस्पतालबाट शिशु चोरेर फरार भएकी थिइन् ।

चोरी गरेर लगेको शिशुको स्वास्थ्य अवस्था समेत सामान्य छ भने शिशु परिवारलाई बुझाइएको छ । पक्राउ परेका महिलालाई म्याद थप गरी थप अनुसन्धान थालिने प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए । पत्रकार र स्थानीयहरुको सहयोगमा शनिबार महिलाई स्याङ्जाको मिर्मीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै