• २०८१ बैशाख ७ शुक्रबार

चलचित्र विकास बोर्डले भन्यो - अभिनेता खनालको फोटो नियोजित रुपमा खिचियो 

kharibot

काठमाडौं । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण कार्यक्रमको फोटो विवादबारे चलचित्र विकास बोर्डले एक विज्ञप्ति निकाल्दै खण्डन गरेको छ ।

अभिनेता सरोज खनालले शौचालयको कमोडमाथि बसेको फोटो फेसबुकबाट सार्वजनिक गरेपछि सामाजिक संजालमा भाइरल भएको थियो ।

सोमबार चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गरी उक्त तस्वीर अभिनेता खनालले नियोजित रुपमा खिचेको दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्दछ ।’

फेसबुकमार्फत करिश्मा मानन्धरले राष्ट्रपतिको घरमा गएर नाच्न आफूलाई स्वीकार्य नभएको बताएकी थिइन् । करिश्माले भनिन्, 'एकादेशको कथा ,पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रग्या प्रथिस्ठान को हलमा कलाकारलाई हेर्न आउथे ! घर गएर नाच्न बिल्कुलै सुइकार्य छैन । बाहिर आउनुस तपाईं हाम्रो आमा हो । हामी तपाईंकोलागि ज्यान दिन्छौं ।'

यसै स्ट्याटसमा अभिनेता खनालले फोटोसहित कमेन्ट गर्दै शितलनिवासमा त्यो नै आफ्नो पहिलो र अन्तिम प्रस्तुति भएको बताएका थिए ।

उनले अगाडि भनेका थिए, ‘सम्मानित हुने र सम्मान गर्ने सोफामा विराजमान थिए तर, हामी पर्फमर करिब ३५ जनालाई ८/१० को कोठामा कोचेर राखियो । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर पालो पर्खी बसेँ ।’

विज्ञप्तिमा पुरस्कार वितरणको कार्यक्रम बोर्डले आयोजना गरेको र शितल निवासले कार्यक्रम हल एवं समय मात्र उपलब्ध गराएको दाबी गर्र्दै राष्ट्रपति कार्यालयको कार्यक्रममा अन्य कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ ।

सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारलाई कुनै कमीकमजोरी भएको भए बोर्डले क्षमा माग्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै