लोप हुँदै घुमाउने घरहरु

खरीबोट

फाइल तस्विर । 

पर्वत / पर्वतमा परम्परागतरूपमा बाबुबाजे बसोबास गर्दै आएका खरले छाएका घुमाउने घर लोप हुँदै गएका छन् । ग्रामीण भेगमा आजभन्दा १०० वर्ष पहिले बनाइएका घुमाउने घर विस्तारै लोप हुँदै गएका हुन् ।

गाउँले आधुनिक घर सर्वसुलभ घरप्रति आकर्षित भएपछि पुराना घरमा बसोबास गर्न छाडेका हुन् । घुमाउने घरभित्र अँध्यारो, धेरै कोठा नहुने र छानो छाउनका लागि वर्षैपिच्छे झन्झट हुनाले पनि स्थानीय बासिन्दाले घुमाउने घर छाड्दै गएका हुन् । केही वर्षअघिसम्म पर्वतका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एक÷दुई मात्रै देख्न सकिन्छ ।

हरेक गाउँका बासिन्दा शहरबजारतर्फ आकर्षित हुन थालेपछि र गाउँगाउँमा यातायात सुविधा पुगेपछि अहिले घर आधुनिक बन्न थालेका छन् । घुमाउने घर छाउने खरसमेत प्रशस्त पाइन छाडेकाले तथा सबै ठाउँमा जस्तापाताको पहुँच राम्रो भएकाले पनि यी घर अब इतिहासमा मात्र सीमित हुने भएका छन् ।

केही वर्षअघिसम्म गाउँमा अधिकांशका घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन् । घुमाउने घर बस्नका लागि न्यानो र स्वास्थ्यका दृष्टिले समेत लाभदायक हुने भए पनि पछिल्लो समय धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएको कुश्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीका बासिन्दा हेमराज सापकोटाले बताए ।

“एक सय वर्षभन्दा पहिले बनेका घर अहिले लोप भइसकेका छन्”, सापकोटाले भने , “भएका केही घर पनि उपयोगमा छैनन्, जीर्ण भइसकेका छन् ।” तर यस्ता घर जुनसुकै मौसम र जुनसुकै स्थानमा पनि बस्नका लागि भने उपयुक्त हुने उनको बुझाइ छ । खर उत्पादन हुने खरबारीमा अहिले रुखबिरुवा भरिएकाले खरको अभाव हुँदा मानिस उज्याला, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेपछि घुमाउने घर लोप हुँदै गएको स्थानीयवासी रामकृष्ण सापकोटाले बताए ।

जस्तापाताको व्यापक प्रयोग, सुलभरूपमा पाइने र एकपटक छाएपछि बीसौँ वर्षका लागि काम गर्ने हुनाले घुमाउने घर निर्माण गर्न तथा निर्माण गरिएका समेत उपयोगविहीन हुन थालेको उनले बताए । “विगत डेढ दशक अघिसम्म पर्वतका विभिन्न ठाउँमा सयौँ घुमाउने घर थिए, अहिले औँलामा गन्न सकिने छन्”, स्थानीयवासी वृद्ध चिन्तामणि सुवेदीले भने ।

अहिले खरले छाएका भन्दा ढुङ्गा र जस्ताले छाएका घर गाउँभरि बनेको उनले बताए । पछिल्लो समयमा भने गाउँगाउँमा पक्की घर निर्माण हुन थालेका छन् । सबै क्षेत्रमा यातायातको सुविधा पुगेपछि र सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँलेहरुमा पक्की घर निर्माण गर्ने प्रचलन बढेको हो । 

सम्बन्धित समाचार

जोखिम बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने

पर्वत / पर्वत जिल्लामा बाढी र पहिरोको उच्च जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति पर्वतको बैठकले जोखिममा रहेका व्यक्ति र बस्तीहरुलाई स्थानीय

कालीगण्डकीमा स्टिमर सेवा स्थगित

पर्वत  / कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि

पर्वतका विकट गाउँका टोलटोलमा सौर्यबत्ती

पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीका विभिन्न स्थानमा सौर्यबत्ती जडान गरिएको छ । रातिको समयमा स्थानीयवासीलाई हिँड्डुल गर्न, चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्न सौर्यबत्ती जडान गरिएको हो ।

सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’

पर्वत  / पर्वत  महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको छ । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढङ्गबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न


z