• २०८१ बैशाख ७ शुक्रबार

मनसुनी गतिविधि कमजोर हुँदै

kharibot

काठमाडौँ । गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर हुँदै गएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समिर श्रेष्ठले बताए । 

“न्यून चापीय रेखा (वर्षा गराउने वायु) विस्तारै दक्षिण सर्दै छ त्यसैले अबको केही दिन वर्षा कम हुनेछ”, मौसमविद् श्रेष्ठले भने । यद्यपि आज देशका मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ रहेको छ ।

मनसुन सेम्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर यो क्रम निरन्तर भइरहने बताइएको छ । 

तत्कालका लागि अति भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै रहेकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम दृश्यस्थितिका कारण सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ । 

राति देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही तराई भू–भागका केही स्थानमा र पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै