• २०८१ बैशाख ८ शनिबार

अवरुद्ध विद्युत् प्रणाली बुधबारसम्म पूर्ववत् अवस्थामा आउने 

kharibot

काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध भएका विद्युत् प्रसारण प्रणालीको मर्मत बुधबारसम्म सम्पन्न भइसक्ने जनाएको छ । 

यही असार २६ गतेदेखि देशव्यापी रुपमा परेको अविरल वर्षाका कारण विशेष गरी प्रदेश नं १ र २ का विभिन्न स्थानमा विद्युत् प्रसारण अवरुद्ध भएको थियो ।

विद्युतीय दुर्घटना निम्तने भन्दै नेपाल विद्युत् प्राधिकरणले प्रभावित जिल्लामा विद्युत् प्रवाह रोकेको थियो । जसबाट दूरसञ्चार सेवासमेत अवरुद्ध हुन पुगेको थियो । विशेष गरी रौतहट, सर्लाही, सुनसरीलगायतका जिल्लामा विद्युत् प्रवाहमा समस्या देखिएको थियो । 

विपद्का समयमा मुलुकभर विद्युत् माग घटेर करीब ६०० मेगावाटमा सीमित भएको थियो । जसका कारण बढी भएको विद्युत् भारत निर्यात गरिएको थियो । पहिरोका कारण काबेली करिडोरको ८२ नं टावरमा समस्या आएपछि तत्कालै मर्मत गरिएको प्राधिकरणले जनाएको छ । सो करिडोरको स्थानीय लोहेन्द्रा र धन्सार खोलाले कटान गर्दा उक्त टावरमा समस्या देखिएको थियो । 

जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि मकवानपुरमा अवस्थित इन्द्रसरोवरमा जलसतह वृद्धि हुँदा कुलेखानी जलविद्युत् आयोजना २४ सै घन्टा सञ्चालनमा ल्याइएको छ । सामान्यतयाः असोज १५ मा मात्र भरिने उक्त जलाशय यसपटक भने असारमै भरिएको थियो । कूल एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता भए पनि ‘गोरखा भूकम्प’पछि एक हजार ५२६ मिटरसम्म मात्र पानी जमाउने गरिएको छ । 

आयोजना पूर्ण क्षमतामा चलाउँदा प्रतिघन्टा तीन सेन्टिमिटर मात्रै पानी घट्ने तर जलाधार क्षेत्रबाट ६० सेन्टिमिटरका हाराहारीमा पानी जम्मा भएपछि व्यवस्थापन गर्न चुनौतिपूर्ण बनेको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै