• २०८१ बैशाख ८ शनिबार

विप्लवसँग वार्ता : ठोस पहल आवश्यक

kharibot

काठमाडौँ । केहि दिनदेखि सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ताको पहल गरेको विषय चर्चामा रहेको छ । हुन त अहिले सानो विषयपनि मिडियामा यसरी प्रोपोगान्डा बनेर आउछ कि मानौ त्यो भइनै सक्यो । विप्लवसँगको वार्ताको विषयपनि कुरा मिलिसकेको जस्तो गरी आउनेक्रम शुरु भएको छ । 

तर चार महिनाअघि सरकारले विप्लव समूहको पार्टीमाथि प्रतिबन्ध लगाएपछि अहिले आएर वार्ताको कुरा गरेर पहल गर्नुलाई भने सकारात्मक रुपमा लिइएको छ ।

सरकारले औनौपचारिक टिम बनाएर वार्ताको पहल गरेको देखिएको छ । जसको जिम्मा पुर्व वार्ता टोलीका संयोजक नेकपाका नेता सोमप्रसाद पाण्डे तथा नेकपाका महासचिव विष्णु पौडेल र अर्का प्रभावशाली नेता जनार्द्धन शर्मालाई विप्लव समुहसँग वार्ताको पहल गर्ने कार्यादेश दिइएको सरकारी स्रोतले बताएका छन् ।

यता गत आइतबारदेखि यस्तो पहल शुरु भएको भनिए पनि विप्लव समुहले आधिकारिक रुपमा यस बारेमा कुनै प्रतिक्रिया जनाएका छैनन् । सरकारले औपचारिक रुपमा पत्र नलेखेको र सार्वजनिक रुपमा समेत वार्ता टोली बनाएको घोषणा नगरेको कारण विप्लव समुह अझै सरकारसँग औपचारिक रुपमा वार्ता गर्न तयार नभएको देखिन्छ ।

पाण्डे नेतृत्वको सरकारी टोलीले पहिलोपटक यसै हप्ताको आइतबार विप्लव समुहका केहि केन्द्रीय स्तरका नेताहरुलाई भेटेर औपचारिक छलफल शुरु गरेको हो । यसलाई निकै प्रारम्भिक छलफल भनिएको छ । खासै उपलब्धि मुलक नभएपनि औपचारिक वार्ताको माहोल बनाउन यस्तो भेटलाई महत्वपूर्ण मानिएको छ । पाण्डेले काभ्रे, भक्तपुर, बुटवल, नेपालगंजलगायतका ठाउमा विप्लव समुहका दोस्रो र तेस्रो तहका केहि नेताहरुलाई अनौपचारिक रुपमा भेटेका छन् ।

यस भेटमा वार्ताको वातावरण बनाउन पाण्डेले पहल गरेको देखिन्छ । यस्ता भेटले विप्लवसँग सरकार वार्ताका लागि तयार रहेको संदेश दिन खोजेको सरकारको रणनीति देखिन्छ । तर हिजोसँगै काम गरेका विप्लवसँग वार्ता गर्न सिधै प्रस्ताव नगरेर सरकार किन दोस्रो तेस्रो दर्जाका नेतासँग भेटेर वार्ताको कुरा गर्नुले सरकारी रणनिति अस्पष्ट देखिन्छ ।

केहि कार्यकर्तासँग कुरा भएको छ – पाण्डे 

मंगलवार बुटवल पुगेका पुर्व वार्ता टोलीका संयोजक पाण्डेले विप्लवका केही नेता कार्यकर्तासँग कुराकानी भएको बताएका छन् ।

‘बुटवलमा खास वार्ता नै भएको छैन, केही नेताहरुसँग भेट गरेका छौँ,’ उनले भने । बुटवलमा कुराकानी गरेका भनिएका नेताहरु समेत केन्द्रीय स्तरका भने नभएको बताइएको छ ।
सांसद पाण्डेले विप्लव नेतृत्वको जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेसहित केही स्थानीय तहका नेतासँग छलफल गरेका हुन् ।

विप्लवका कार्यकर्तासँग वार्ताका लागि सांसद पाण्डे सोमवार नेपालगञ्ज पुगेका थिए । त्यहाँ केहि नेताहरुसँग कुराकानी भएको बताइएको छ । त्यसलगत्तै उनी मंगलबार बुटवल हुँदै काठमाडौं फर्किएका हुन् । प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरेर बुधवार नै उनी बुटवल फर्किने बताइएको छ ।

वार्ताको सकारात्मक पहल आवश्यक 

सरकारले वार्ता गरेको बताएपनि यसमा ठोस पहल आवश्यक देखिएको छ । लामो समयको द्वन्दले देशलाई कति पछाडी लग्यो भन्ने सबैको अगाडी स्पष्ट रहेकाले अब देशलाई थप द्वन्दमा जान नदिन विप्लव समुहलाई वार्ताद्वारा मुलधारको राजनीतिमा ल्याउन आवश्यक छ । देश संघियतामा गएर राजनीतिक रुपमा स्थिर हुन लागेका बेला फेरी हुने कुनैपनि किसिमका अस्थिरताले समग्र राजनीति र राजनीतिक प्रणालीलाई नै असर पार्ने हुनाले सरकारले विलम्ब नगरी वार्ताको औपचारिक आव्हान गरेर तत्काल वार्ता गर्नु उपयुक्त देखिन्छ ।

चार महिना अघि विप्लव समुहलाई प्रतिबन्ध लगाएर आलोचित बनेको सरकारले प्रतिबन्ध फुकुवा गरेर राजनीतिकरुपमा ठोस कदम चाल्न र देशलाई थप द्वन्दमा जानबाट बचाउन यथाशिघ्र कदम चाल्नु पर्ने देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै