• २०८१ बैशाख ६ बिहीबार

रियलको प्रशिक्षणमा ‘जापानिज मेसी मेनिया', पछुताउदै बार्सिलोना

kharibot

काठमाडौँ । ‘जापानिज मेसी’ उपनामले चर्चित युवा जापानिज मिडफिल्डर टेकेफुसा कुबो अहिले रियल म्याड्रिडको सिनियर टिमसँग अमेरिका टुरमा रहेका छन् । अमेरिका टुरको परी-सिजन प्रशिक्षणका क्रममा कुबोको निकै तारिफ भइरहेको छ ।

कुबोले प्रशिक्षणका क्रममा देखाएको फुटबल कलाले रियल म्याड्रिडको क्याम्प यति बेला निकै खुशी देखिएको छ । रियल म्याड्रिडले सार्वजनिक गरेको कुबोसहित टिमको प्रशिक्षणमा उनले रियलका गोलकिपर किलियन नाभासलाई पटक पटक झुक्याएर गोल गरेको भिडियो देख्न सकिन्छ । त्यो बाहेक कुबोको खेल्ने शैली प्रति हालै रियल पुगेका बेल्जियमका स्टार खेलाडी इडेन हजार्डसहितका खेलाडीहरु निकै प्रभावित भएको बताइएको छ । 

रियल म्याड्रिडले अघिल्लो महिना मात्र १८ बर्षिय कुबोलाई अनुबन्ध गरेको थियो । जापानको राष्ट्रिय टोलीबाट समेत डेभ्यु गरिसकेका युवा खेलाडी कुबो बारे अहिले स्पेनमा मात्र होइन विश्वभर नयाँ जेनेरेसनको ‘मेसी’ भनेर चर्चा भइरहेको छ । उनले आफ्नो क्षमता प्रमाणित गर्न बाँकी नै रहेपनि रियल म्याड्रिडले उनी माथि ठुलो लगानी गर्नुले उनी भविष्यमा ठुलो फुटबल स्टारको रुपमा अगाडी आउने देखिएको हो । 

कुबोले रियलसँग ‘बि’ टिमका लागि सम्झौता गरेको भएपनि अर्को सिजनमा सिनियर टिममा ल्याउने गरि रियलले सम्झौता गरेको छ । कुबोले रियलको ‘बि’ टिमबाट खेल्दै यस अघि बि  टिम खेलेर रियलको सिनियर टिममा पुगेका भिनिसियस जुनियर र रोड्रीगो जस्तै उनले पनि सिनियर टिममा ठाउ बनाउने विश्वास गरिएको छ । रियलले अर्को बर्ष सिनियर टिममा ठाउ नदिएमा उनी कुनै अर्को क्लबमा लोनमा जान सक्ने सम्झौता रहेको छ । 

कुबोले रियलकै पुर्ब खेलाडी राउल गोन्जालेजको प्रशिक्षणमा रहेको रियलको ‘बि’ टिमबाट खेल्ने छन् ।  

बार्सिलोनाको एकेडेमिक खेलाडी रहेका कुबोलाई रियल म्याड्रिडले भित्र्याएर ठुलो सफलता हासिल गरेको रुपमा अहिले ब्याख्या गरिएको छ । बार्सिलोनाले भने पछिल्ला बर्षहरुका ठुला गल्ति मध्ये एक गल्ति कुबोलाई क्लबमा राख्न नसक्नुलाई लिइएको छ । कुबोलाई रियलले ‘बि; टिमका लागि पनि बार्षिक एक मिलियन युरो भन्दा बढी रकम पारिश्रमिक दिएर लगेको र त्यो बार्सिलोनाको युथ सिस्टमको रकम भन्दा धेरै बढी भएको बताइएको छ । बार्सिलोनाले कुबोले मागेजति रकम दिन अश्विकार गरेर कुबोलाई रियल जान दिएको आरोप अहिले बार्सिलोनाका फ्यानले लगाइरहेका छन् ।

कुबोको बार्सिलोना कनेक्सन भने अहिले चर्चाको विषय बनेको छ । बार्सिलोना कै एकेडेमीमा खेलेका कुबोलाई रियलले लैजादा बार्सिलोना उनलाई र उनको प्रतिभालाई चिन्न असफल भएको विश्लेषण अहिले गरिएको छ ।

कुबोले २०११ देखि २०१५ सम्म बार्सिलोनाको जुनियर टिमबाट खेलेका थिए । बार्सिलोनाको अन्डर ११ का लागि त कुबोले ३० खेलमा ७४ गोल गरेका थिए । त्यस्तै २०१३-१४ को जुनियर टिमको सिजनमा उनी सिजनकै मोस्ट भ्यालुएबल खेलाडी बनेका थिए । उनले बार्सिलोनाको जुनियर टिम (अन्डर ११) लाई काटालुन्या कप समेत जिताएका थिए । सन् २०१४-१५ सिजनमा उनलाई अन्डर १४ टिममा प्रमोशन गरिएको थियो ।

तर फिफाको अन्तर्राष्ट्रिय खेलाडी ट्रान्सफर नियम अनुसार बार्सिलोनाले नियम उलंघन गरेर कुबोलाई भित्र्याएको पाइएपछि कुबो बार्सिलोनामा खेल्न पाएनन् र उनी जापान फर्किएका थिए । उनले सन् २०१६ मा एफसी टोकियोको यू-१८ टिममा खेलेका थिए । त्यसपछि उनी १५ बर्षकै उमेरमा एफसी टोकियोको सिनियर टिममा खेल्न पुगेका थिए ।

उनले जापानको जे लिगमा १५ बर्ष ५ महिना एक दिनमा डेभ्यु गर्दै रेकर्ड समेत बनाएका थिए । उनले जापानको लिगमा अहिलेसम्म ३६ खेल खेल्दै कुल ७ गोल गरेका छन् ।

कुबो बारेको विस्तृत भिडियो :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै