• २०८१ बैशाख १३ बिहीबार

विकासका लागि सहकार्यमा मुख्यमन्त्री पौडेलको जोड

kharibot

फाइल तस्विर । 

चितवन / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताएका छन  । सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको बुधबार शुभारम्भ गर्दै उनले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि विकासको सूत्र बनाउन आवश्यक रहेको विचार व्यक्त गरे ।

विकासलाई समृद्धिसँग जोड्नुपर्नेमा उनले जोड दिए । समाज परिवर्तन गराउनका लागि सरसफाइ तथा हरियाली प्रवद्र्धन पनि एउटा बाटो भएको उनको भनाइ थियो । फरक प्रसङ्गमा मुख्यमन्त्री पौडेलले काँग्रेसलाई पनि विकासमा साझेदारी गर्न आग्रह गरे  । उनले भने, “विकास सबैका लागि हो ।

विचार फरक हुन सक्छ तर विकास फरक हुँदैन ।” विकासप्रतिको अवधारणा स्पष्ट नहुँदा विकास निर्माणले तीव्रता पाउन नसकेको उनको भनाइ छ । कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले चितवनको क्षेत्र नं २ को (ख)मा मात्रै गत आर्थिक वर्षमा ६५ हजार फलफूलका बिरुवा रोपिएको जानकारी दिए ।

हरियाली कार्यक्रमलाई प्रदेश सरकारले ५० लाख विनियोजन गरेको पनि उनले जानकारी दिए । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, वडाध्यक्ष राजेन्द्रमणि काफ्ले लगायतले बोलेका थिए । कार्यक्रमको शुभारम्भ अघि मुख्यमन्त्री पौडेलले वृक्षरोपण, शहरी बायोग्यास प्लाण्ट उद्घाटन, पानी शुद्धीकरण, फोहर व्यवस्थापन लगायतको उद्घाटन गरेका थिए । यस कार्यक्रमअन्तर्गत भरतपुर एक बगैँचा, सफा भरतपुर र हरियाली भरतपुर नाम दिएर फोहर व्यवस्थापन, सरसफाइ, वृक्षरोपण, पानीको शुद्धीकरण, शहरी बायोग्यास प्लाण्ट जस्ता कार्यक्रमहरु सञ्चालन गरिने सरसफाइ तथा हरियाली कार्यक्रम सञ्चालन समितिका अध्यक्ष केशव रेग्मीले जानकारी दिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै