• २०८१ बैशाख ८ शनिबार

टर्कीलाई अमेरिकाले लडाकू बिमान नबेच्ने

kharibot

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकू बिमान एफ–३५ बिक्री नगरिने बताएका छन् ।

टर्कीले रुसबाट अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामीले लडाकू बिमान नबेच्ने जानकारी टर्कीलाई दिइसकेका छौं । हामी टर्कीलाई एफ–३५ लडाकू बिमान बेच्दैनौं ।”

उनले टर्कीलाई अमेरिकी प्याट्रियोट क्षेप्यास्त्र प्रणाली बेच्न ओबामा प्रशासनले अस्वीकार गरेका कारण पनि टर्कीले रुसी हतियार खरिद गरेको दोषारोपण गरे ।

यसअघि अमेरिकी रक्षा मन्त्रालयले टर्कीले रुसी हवाई प्रतिरक्षा प्रणाली खरिद गर्नुमा ओबामा प्रशासन दोषी रहेको कहिल्यै बताएको थिएन ।

अमेरिकी रक्षा सहायक मन्त्री क्याटी ह्वीलबार्गरले गत साता जारी गर्नुभएको विज्ञप्तिमा अमेरिकाले टर्कीलाई प्याट्रियोट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन सहमत भएको उल्लेख छ । तर टर्कीले अमेरिकी प्रस्तावलाई स्वीकार नगरेको पनि क्याटीले बताए ।

अमेरिकी प्रस्तावित रक्षा मन्त्री मार्क एस्परले टर्कीले एस–४०० अथवा एफ–३५ मध्ये एक रोज्नुको विकल्प छैन भन्दै दुबै साधन टर्कीले प्राप्त गर्न सक्दैन भने । उनले नेटोको सदस्य रहेको टर्कीले रुसी हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने चाहना राख्नु निकै दुःखद कुरा हो भने ।

सन् २०१७ डिसेम्बरमा टर्की र मस्कोबीच २ अर्ब ५० करोड डलर मूल्यमा एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता भएको थियो । एस–४०० रुसको हालसम्मकै अत्याधुनिक लामो दूरीको बिमानभेदी क्षेप्यास्त्र प्रणाली हो । रुसी हतियार खरिद गर्ने टर्की नेटोको पहिलो सदस्य राष्ट्र हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै