• २०८१ बैशाख १४ शुक्रबार

बोधिचित्त, फलफूलखेती प्रवद्र्धनमा जोड

kharibot

फाइल तस्विर । 

काभ्रेपलाञ्चोक / तामाङ समुदाय तथा चीनमा सामाजिक सांस्कृतिक एवं धार्मिक महत्व बोकेको बोधिचित्त (बुद्धचित्त) माला उत्पादनलाई तेमाल गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेको छ ।

सुनभन्दा महँगो मानिने बोधिचित्त माला उत्पादन दक्षिण एशियामै काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रमा हुने गरेको अध्ययनले समेत देखाएको छ । तेमालको पहिचान तथा आर्थिक स्रोतको रुपमा बोधिचित्त माला उत्पादनलाई नयाँ आर्थिक वर्र्षको नीति तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष सलामसिंह तामाङले बताए ।

“अब गाउँपालिकाले बोधिचित्त मालाको व्यवस्थित रुपमा उत्पादन एवं बजारीकरणको व्यवस्थापन गर्नेछ”, उनले भने । तेमाललाई बोधिचित्तको उत्पादन हुने स्थानका रुपमा प्रचार गर्दै पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनाइने योजनामा उल्लेख गरिएको छ । अध्यक्ष तामाङले भने , “विशेषगरी देश विदेशमा बौद्ध धर्मावलम्बीले महत्वका दिने, उपयोग गर्ने मालाको उत्पादन क्षेत्रमा विदेशी पर्यटक भित्र्याउने लक्ष्य पनि राखेका छौँ ।”

नेपाली तथा चिनियाँ व्यापारी दाना लागेपछि बोटमै बोधिचित्त किन्ने गर्दछन् । तेमाल क्षेत्रको बोल्देफेदिचे, सस्र्यूखर्क, मेच्छे, ठूलोपर्सेल, पोखरी नारायणस्थान, कुरुबास चापाखोरी र सरथलीमा यसको व्यावसायिक खेती शुरु गरिएको छ । तेमाल क्षेत्रस्थित समुद्री सतहको ३०० देखि दुई हजार ५०० मिटर उचाईसम्मको हावापानीमा यसको खेती हुने गरेको पाइएको छ ।

तेमाल क्षेत्रमा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ । यस क्षेत्रका बासिन्दाले बोधिचित्तको व्यावसायिक खेतीबाट वर्षेनी लाखौँ आन्दानी गर्दै आएका छन् । १०८ वटा दानाबाट बनेको बोधिचित्त मालालाई बुद्धका अनुयायीले आध्यात्मिक चिन्तन तथा शान्तिका लागि बुद्धत्व प्राप्ति हुने मान्यताका साथ ‘ॐ मनि पेमा हुँ, ॐ मनि पद्मे हुँ’ जप्ने गर्दछन् । १०८ वटा साना दानाबाट बनेको बोधिचित्तको माला सुनभन्दा तेब्बर मूल्यमा बिक्री हुने गरेको ब्यवसायी बताउँछन् ।

तेमालमा बोधिचित्त मालाको राम्रो उत्पादन तथा व्यापार देखेका जिल्लाका अन्य स्थानका किसानले पनि व्यावसायिक रुपमा खेतीगर्न थालेपछि तेमाल गाउँपालिकाले आफ्नो योजनामा नीतिगत रुपमै प्रवद्र्धन गर्ने निर्णय गरेको हो । यसैगरी, भुम्लु गाउँपालिकाले नयाँ आर्थिक वर्षलाई फलफूल वर्षका रुपमा मनाउने भएको छ ।

आफ्नो नीति तथा कार्यक्रममा फलफूललाई उच्च प्राथमिकता दिई स्थानीय हावापानी सुहाउँदो फलफूल खेतीमा लगानी गर्न यस बर्ष गाउँपालिका इन्छुक भएको हो । “हामी यो वर्ष फलफूल वर्षका रुपमा मनाउँछौँ, पालिकाको हरेक घरमा फलफूलका बिरुवा पु¥याइनेछ”, अध्यक्ष गुमानध्वज कुँवरले भने ।

यससँगै पालिकाभित्रका हरेक घरमा माहुरी घार वितरण गरिने अध्यक्ष कुँवरले बताए । उनले भने , “स्वच्छ र हरियाली वातावरण बनाउन रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगमा जोड दिनेछौँ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै