• २०८१ बैशाख ७ शुक्रबार

मन्त्रीहरुको टोली बाढी पिडितलाई नभेटी फर्कियो, हेलिकप्टरबाट अनुगमन !   

kharibot

तस्बीर : रासस

काठमाडौं  । अविरल वर्षापछि आएको बाढीलाई भारतीयपक्षले बाँध थुनेर छेकिदिँदा डुबानमा परेको रौतहतको अवस्था बुझ्न सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चारजना मन्त्रीसहित बुधबार गृहजिल्ला पुगेका छन् ।

हेलिकोप्टर लिएर नेपालसँगै रौतहट र प्रदेश २ मा बाढीले गराएको क्षतिको अनुगमन र निरीक्षणका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालसँगै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृह मन्त्री रामबहादुर थापा, ऊर्जा तथा सिँचाइ मन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ बुधबार गौर पुगेर फर्किएका छन् ।

उनीहरुले बुधबार पीडितलाई नभेटी राजधानी फर्किएको छ । उनीहरू हेलिकप्टरबाट आएर गौरको पुरेनवास्थित सेनाको गणमा स्थानीय प्रशासनसँग क्षति र बाढीको अवस्था बुझेर फर्किए ।

राजधानीबाट सेनाको हेलिकप्टर लिई आएको टोली पुरेनवास्थित इन्द्र बक्स गणमा ओर्लिएको थियो । त्यही सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुखलाई बोलाएर बाढी र डुबानबाट भएको क्षतिको जानकारी र विवरण लिएर फर्किएका हुन् ।

टोलीलाई जिल्लाको वस्तुस्थितिबारे जानकारी गराइएपछि फर्कनेक्रममा मन्त्री थापाले वर्षाबाट हुने क्षति र डुबानको पूर्व तयारीमा केही कमी भएको बताए । उनले अब पुनर्निर्माण र राहतमा सरकार केन्द्रित हुने जानकारी दिए ।

टोली सुरुमा ईशनाथ नगरपालिकास्थित बाढीबाट डुबानमा परेका बन्जाराहा गाउँ जाने योजना भएपनि सुरक्षा निकायले डुंगाबाट जानुपर्ने र जोखिम हुने भएपछि गएनन् । गौर, पिप्राभलोहिय र बडहर्वामा रहेका विस्थापितहरुलाई भेट्नसमेत मन्त्री गएनन् ।

हेलिकप्टरबाट एक चक्कर लगाएर फर्किए । डुबान र बाढीबाट प्रभावित क्षेत्र निरीक्षण गर्न आएका मन्त्रीको जम्बो टोली पीडितको समस्या नसुनी फर्कियो ।

गत शुक्रबारदेखिको वर्षाका कारण शनिबारबाट डुबानमा परेको प्रदेश २ मा पुग्न संघीय सरकारका मन्त्रीहरुलाई ६ दिन लागेको हो । प्रदेश २ मा बाढीबाट ३२ जनाको मृत्यु भएको छ ।

डुबानबाट रौतहटमा मात्रै ज्यान गुमाउनेको संख्या १० भन्दा धेरै छ। महोत्तरीमा ६ जनाको मृत्यु भएको छ । सिरहा र धनुषामा ५-५ जना, पर्सामा ३, बारामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको छ ।

डुबानको अवलोकनमा पुगेको सरकारी टोलीमा संसदको विकास समिति सभापति कल्याणी खडका र नेकपा सांसद प्रभु साह पनि छन् । 

त्यससँगै सीमामा भारतीय पक्षले समयमा बाँध नखोलिदिँदा नेपालको ठूलो क्षेत्र डुबेको हो । भारतले बैरगनियास्थित बाँधको ढोका नखोलेपछि सदरमुकाम गौर अझै जलमग्न छ ।

आषाढ २६ गतेदेखि परेको अविरल बर्षका कारण देशभरमा ८३ जनाको मृत्यु भैसकेको छ भने करिब ३ दर्जन अझै बेपत्ता रहेका छन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै