• २०८१ बैशाख ७ शुक्रबार

वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलीङ सेवालाई थप स्तरीय बनाउँदै

kharibot

काठमाडौँ । अन्तरराष्ट्रियस्तरको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलीङ) प्रदान गर्दै आइरहेको नेपाल वायुसेवा निगमले आफ्नो सेवालाई थपस्तरीय बनाइएको जनाएको छ । 

निगमले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भूमिस्थ सेवालाई थप गुणस्तरीय र सुरक्षित बनाउन विभिन्न उपकरण खरीदका साथै उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरिने जनाएको हो ।

निगमले भनेको छ, ‘निगमसँग भएका स्रोतसाधनलाई उच्चतम प्रयोग गर्ने र अपुग स्रोत साधन खरीद गरी आफ्नो सेवालाई सदा झैँ गुणस्तरीय र सुरक्षित बनाउने उद्देश्यसाथ आक्रामक ढङ्गले भूमिस्थ सेवाका लागि विभिन्न उपकरण खरीद गर्ने प्रक्रिया अगाडि बढाइएको छ । पहिलो चरणमा यात्रु तथा चालक दलका सदस्य बोक्ने चार वटा ‘र्याम्प’ बस खरीदको प्रक्रिया अगाडि बढाइएको छ ।’

ती बस आएपछि ‘बिजनेस क्लास’ र चालक दलका सदस्यले छुट्टै बसको सुविधा पाउने तथा अरु यात्रुलाई पनि थप सुविधा मिल्नेछ । साथै यही हप्ताभित्र विशिष्ट तथा अति विशिष्ट व्यक्तिका लागि नयाँ र्याम्प कोच सञ्चालनमा ल्याइने निगमले जनाएको छ ।

निगमले अन्तरराष्ट्रिय वायुसेवा प्रदायक कम्पनीलाई प्रदान गर्दै आएको भूमिस्थ सेवालाई सुरक्षित र गुणस्तरीय छ भनी इन्टरनेशनल एअर ट्रान्सपोर्ट एशोसियसन (आयटा )ले प्रमाणपत्रसमेत प्रदान गरिसकेको छ । 

भूमिस्थ सेवामा प्रयोग भएका तर अहिले पुराना भई उपयोगमा आउन नसक्ने उपकरणलाई लिलाम प्रक्रियाद्वारा विस्थापन गरिएको र त्यसबापत निगमलाई ३२ लाख ६४ हजार ४४४ रुपैयाँ आम्दानी भएको छ । पुरानालाई विस्थापित गर्दै नयाँ प्रविधियुक्त थप उपकरण जस्तै टोबार लेस ट्रयाक्टर, कन्टेनर डली, प्यालेट डली, इलेक्ट्रिक फकलिफ्ट, ग्राउण्ड पावर युनिट आदि खरीद प्रक्रिया अघि बढिसकेको निगमले उल्लेख गरेको छ ।

सम्पूर्ण उपकरण आएका मापदण्ड पूरा गरेका हुनाले सेवा पनि चुस्त र दुरुस्त हुने निगमको विश्वास छ । सीता लोड कन्ट्रोल सिस्टमअन्तर्गत यात्रुको व्यागेज ट्रयाकिङ प्रणालीको स्तरोन्नति गरिएको छ । यसबाट निगमको उडानमा यात्रा गर्ने यात्रुको व्यागेज थप व्यवस्थित किसिमले ह्याण्डलिङ गर्न मद्दत पुगेको छ ।

निगमले आन्तरिक उडानका यात्रुको  सुविधालाई मध्यनजर गर्दै आन्तरिकतर्फ अन्तरराष्ट्रिय विमानस्थलमा समेत टिकट बिक्री कक्ष खोलेको छ । यसबाट आन्तरिक उडानमा यात्रा गर्ने यात्रुलाई टिकट खरीद गर्न तथा कार्गो बुक गर्न सहज भएको र यसले निगमको आम्दानी बढेको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै