• २०८१ बैशाख १३ बिहीबार

दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता आजदेखि काठमाडौंमा

kharibot

काठमाडौं : बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ (एनबीबीएफए) तथा फिटनेस महासंघ (एसएबीबीएफ) को आयोजनामा नेपालमा तेस्रो पटक प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । तीनदिने प्रतियोगिता कमलादीस्थित प्रज्ञा भवनमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, अफगानिस्तान, भुटान, माल्दिभ्स, श्रीलंका, पाकिस्तान र आयोजक नेपालका गरी एक सय ३० जनाको सहभागिता रहनेछ । प्रतियोगितामा नेपालबाट १८ पुरुष र पाँच महिला गरी २३ जनाको सहभागिता रहने एनबीबीएफएका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा शारीरिक सुगठन प्रतियोगिता, जुनियर शारीरिक सुगठन प्रतियोगिता, पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोर्ट्स फिजिक्स, महिला एथलेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स गरी १८ स्पर्धा समावेश गरिएको छ । यसअघिका प्रतियोगितामा शारीरिक सुगठन खेल मात्र समावेश भएकोमा नेपालले पहिलो पटक पुरुष तथा महिला विधाको प्रतिस्पर्धा पनि सुरु गरेको हो ।

प्रतियोगिताको अनुमानित बजेट एक करोड ३९ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका लागि दक्षिण एसियाली बडिबिल्डिङ एन्ड फिटनेस फेडरेसनका अध्यक्ष प्रशान्त आप्तेले एनबीबीएफएका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई सात लाख भारु प्रदान गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै