• २०८१ बैशाख ७ शुक्रबार

लेलेमा चिस्यान भण्डारण केन्द्र बन्दै

kharibot

ललितपुर / गोदावरी नगरपालिका–५ लेले भञ्ज्याङमा चिस्यान भण्डारण केन्द्र निर्माण हँुदैछ । रु डेढ करोड लागतमा निर्माण हँुदै गरेको सो चिस्यान केन्द्र दक्षिण ललितपुरको मुख्य केन्द्रविन्दु लेलेमा निर्माण गरी ललितपुरका किसानलाई सुविधा दिन लागिएको हो ।

ललितपुरका तीन गाउँपालिकाबाट दैनिक उत्पादन भएर आउने पाँचदेखि आठ गाडी तरकारी आपत्कालीन अवस्थमा भण्डारण गर्न सहयोग मिलोस् भनी सो केन्द्र निर्माण गर्न लागिएको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । “यस चिस्यान केन्द्रमा मौसमी तथा बेमौसमी तरकारी भण्डारण गर्न कृषकलाई सहयोग पुग्नेछ”, महर्जनले भने “गोदावरीमा हालसम्म व्यवस्थित चिस्यान केन्द्रको अभाव रहँदा यहाँ उत्पादन हुने कयौँ तरकारी, फलफूल र बीउ बिजन कुहिएर खेर जाने गर्थे ।”

सो केन्द्र दुईतलाको निर्माण गरिने बताइएको छ । गोदावरी–४ बडिखेल, वडा ५ र ६ लेलेलगायत दक्षिण ललितपुरका ५० प्रतिशत मानिस कृषिमा आधारित छन् । यी गाउँपालिका र वडामा खेतीपाती गर्नका लागि अन्य वडामा भन्दा बढी नै जग्गा रहेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए ।

“लेलेबाट मात्र दिनको तीनदेखि चार गाडी तरकारी बिक्री वितरणका लागि लगनखेल बजार पुग्ने गर्छन्”, सिलवालले भने , “बाढीपहिरो, असिनापानी परी सडक अवरुद्ध भएको समय तरकारी भण्डारण गर्न सो केन्द्रले किसानलाई धेरै नै सहयोग पु¥याउनेछ ।” गोदावरी हरियो खुसार्नी, रायो, मुला, काउली, बन्दा, गोडभेँडा, काँक्रो, फर्सी र लप्सी बढी उत्पादन हुने क्षेत्र हो ।

नगपालिका उमप्रमुख मुना अधिकारीले कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुलाई खेर जान नदिन, स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्न गोदावरीभित्र नमूना चिस्यान केन्द्र निर्माण गरिँदै गरेको बताए । चिस्यान केन्द्रमा आवश्यक उपकरण खरीदका लागि थप एकदेखि डेढ करोड खर्च लाग्ने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै