• २०८१ बैशाख १३ बिहीबार

वडाध्यक्षको कुटाइबाट बालक घाइते

kharibot

दाङ / दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेका छन । आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन् ।

हिजो बेलुका वडाध्यक्षको घर अगाडि खेलिरहेका केही बालबालिकामध्ये बालक घर्तीले फूल टिपेको आरोपमा अध्यक्ष सार्कीले कुटपिट गरी घाइते बनाएको बालकका आमा रैमता घर्तीले बताए  । कुटपिटबाट बायाँ कान र पेटमा चोट लागेको बालकले बताएका छन् ।

उनको बायाँ गालामा निलडामसमेत देखिएको छ । बालक घर्तीको घोराही नयाँबजारस्थित नयाँबजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टरमा भर्ना गरेर उपचार गरिएको छ । बालकको कानमा केही फोहरसमेत जम्मा भएका कारण जालीको अवस्था के छ भन्नेबारेमा एक सातापछि फोहर निकालेर मात्रै भन्न सकिने डाक्टर विक्रम बुढाथोकीले बताए ।

बालकको कानको अवस्था गम्भीर नभए पनि जालीमा समस्या छ छैन भन्नेबारेमा एक सातापछि मात्रै थाहा हुने उनको भनाइ छ । रातभर कान दुखेर बालक छट्पटाएपछि बिहान अस्पताल लिएर आएको आमा रैमता घर्तीले बताए ।

वडाध्यक्षले उपचार खर्च दिनुको साटो फूल टिपेको पाँच हजार मागेकोसमेत घर्तीले बताए  तर बालकले फूल नै नटिपेको बताए । उता वडाध्यक्ष सार्कीले बदमासी गरेका कारण सम्झाउँदै सामान्य एक थप्पड टाउकामा हानेको स्वीकार गरेका छन् । उनले उपचारका लागि खर्च दिनेसमेत बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै