• २०८१ बैशाख ७ शुक्रबार

वायुमण्डल भएको एकमात्र उपग्रह टाइटान, जहाँ चल्छ धूलोको आँधी

kharibot

काठमाडौं । वैज्ञानिकहरुले नासाको क्यासिनी अन्तरिक्ष यानबाट प्राप्त तथ्यांकको उपयोग गरी शनिको उपग्रह टाइटनमा धूलोको ठूलो आँधी आएने गरेको पत्ता लगाएका छन् । टाइटान शनिको सबैभन्दा ठूलो उपग्रह हो ।

नासाको एक विज्ञप्तिमा यो खोजले पृथ्वी र मंगलपछि अब टाइटान धूलोले भरिएको आँधी आउने सौर्यमण्डलको तेस्रो ग्रह अथवा उपग्रह भएको उल्लेख छ ।

नेचर जियोसाइन्स नामक पत्रिकामा प्रकाशित अध्ययन प्रतिवेदनमा टाइटान धेरै तरिकामा पृथ्वीसँग मिल्दोजुल्दो रहेको उल्लेख छ । फ्रान्सको पेरिस डेडरोट विश्वविद्यालयका खगोलविद् सेबस्टियन रोड्रिग्स भन्छन्, ‘पृथ्वी र मंगलसँग टाइटानलाई यस अर्थमा पनि समान मानिएको छ कि, यी तीनैमा धूलोको आँधी आउँछ ।’

टाइटानको भूमध्यरेखाको नजिकै बालुवाको पहाडबाट धूलोले युक्त आँधी चल्ने गरेको छ ।

अचम्मको कुरा सौर्यमण्डलमा टाइटान एकमात्र यस्तो उपग्रह हो जहाँ वायुमण्डल छ । फरक के छ भने, पृथ्वीको सतहमा रहेका नदी, तालतलैया, महासागर पानीले भरिएका छन् भने टाइटानमा प्राथमिक रुपमा मिथेन र इथेनजस्ता तरल पदार्थको भण्डार छ जसबाट वायु प्रवाहित हुन्छ ।

टाइटानमा वायुको यो अनौठो चक्रमा हाइड्रोकार्बन अणु वाष्पीकृत हुन्छ र बादलमा परिणत हुन्छ । त्यसपछि सतहमा वर्षा पनि हुन्छ ।

वैज्ञानिकहरुले क्यासिनीाबट लिएको इन्फ्रारेड तस्वीरको माध्यमले तीन असाधारण चम्किलो वस्तुको पहिचान गरेका थिए । यो मिथेनको बादल भएको उनीहरुको अनुमान थियो । तर, अब यो अनुसन्धानपछि त्यो नितान्त फरक पदार्थ भएको प्रमाणित भइसकेको छ ।

प्राकृतिक धूलो तबमात्र बन्छ, जब सूर्यको किरण र मिथेन सम्पर्कमा आएर बन्ने प्राकृतिक अणु सतहमा झरेर ठूलो आकारको बन्दछन् । टाइटानमा धूलोले युक्त आँधी उत्पन्न गर्ने प्रबल पदार्थ अस्तित्वमा हुनुले टाइटानको भूमध्य रेखीय क्षेत्रलाई ढाकेर रहेको बालुवाका थुम्काहरु अहिले पनि सक्रिय रहेको संकेत गर्छ । यसमा अझै परिवर्तन आइरहेको पनि यसले बुझाउँछ । क्यासिनी अन्तरिक्षयान गत सेप्टेम्बरमा हटाइयो र यसको १९ वर्षको अन्तरिक्ष यात्रा हाल समाप्त भएको छ ।

एजेन्सीको सहयोगमा  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै