• २०८१ बैशाख ७ शुक्रबार

रोल्पाका कैदीबन्दी स्वरोजगार बन्दै

kharibot

रोल्पा / रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् ।

उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा एकमहीने मुढा बनाउने तालीम दिएको थियो । त्यसअघि टोपी बुन्ने तालीमसमेत लिइसकेका उनीहरुका लागि ढाका टोपी बुन्ने र मुढा बनाउनका लागि मेशिन औजारसमेत हस्तान्तरण गरिएको थियो ।

सामग्री पाएका उनीहरुमध्ये अधिकांशले आफ्नो कामलाई निरन्तरता दिइरहका छन् भने कतिपय कैदीबन्दीहरु काम नगरी त्यतिकै बसेका छन् । कारागारभित्र सिकेको सीपले कैद भुक्तानपछि पनि जीविकोपार्जनमा मद्दत गर्ने भएकाले आफूले कामलाई निरन्तरता दिएका कैदीबन्दी तुलाधर घर्ती मगरको भनाइ छ ।

मिहिनेत र परिश्रम गरी कारागारभित्र उत्पादन गरेका मुढालगायत विभिन्न सामाग्रीले सोचेजस्तो बजार नपाउँदा कहिलेकाहीँ नैराश्यता बढ्ने गरेको कैदीबन्दी ईश्वर महराले बताए । “आफूहरुले उत्पादन गरेको सामग्रीको प्रचारप्रसार हुन नसक्दा बजारीकरणको समस्या भएको हुन सक्छ”, महराले भने ।

कारागार बसाइलाई सहज बनाउन पनि यस्ता सीपमूलक क्रियाकलापले सहयोग गर्ने प्रजिअ लक्ष्मण ढकालको भनाइ छ । “कारागारलाई सुधारगृहका रुपमा विकास गर्न यस्ता सीपमूलक तालीमले सहयोग गर्न सक्छन्”, प्रजिअ ढकालले भने । सीपलाई सदुपयोग गरी आयआर्जन लाग्नुपर्ने प्रजिअ ढकालको सुझाव छ ।

जिल्ला कारागार रोल्पामा हाल ६ महिला र ७४ पुरुष गरी ८० जना कैदीबन्दी रहेको इञ्चार्ज ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । बजारको व्यवस्थापन हुन नसक्दा कैदीबन्दीले बनाएका यी विभिन्न सामग्रीहरुले उचित मूल्य पाउन सकेका छैनन् ।

कारागार आसपास वा बजारको अन्य क्षेत्रमा समेत बिक्री वितरण कक्षको व्यवस्था गर्न सके जेलजीवन बिताइरहेका कैदीहरुको मनोबल बढ्नाका साथै उनीहरुको श्रमले मूल्य पाउने थियो । यसतर्फ ध्यान जान जरुरी रहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै