• २०८१ बैशाख ७ शुक्रबार

चितवन राष्ट्रिय निकुञ्जमा अहिलेसम्मकै बढी पर्यटक 

kharibot

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा हालसम्मकै बढी पर्यटक घुम्न आएका छन् ।

निकुञ्जको तथ्याङ्कअनुसार आव २०७५-०७६ मा एक लाख ८७ हजार १०९ जना पर्यटकले निकुञ्ज घुमेका छन् । 

आव २०७१-०७२ मा निकुञ्ज प्रवेश गरेका एक लाख ७८ हजार २५७ जना पर्यटक नै यसअघिको सबैभन्दा बढी पर्यटक रहेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पर्यटकको सङ्ख्या बढिरहेको समयमा विसं २०७२ वैशाख १२ गते भूकम्प गएसँगै पर्यटकको सङ्ख्या घटेको थियो । 

निकुञ्जको तथ्याङ्कअनुसार आव २०६८-०६९ मा एक लाख ७० हजार ११२, ०६९-०७० मा एक लाख ५३ हजार ७४९, आव २०७०-०७१ मा एक लाख ७३ हजार ४२५ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । भूकम्प गएको दोस्रो वर्ष २०७२-०७३ मा पर्यटकको सङ्ख्या घटेर ८७ हजार ३९१ मा झरेको थियो । आर्थिक वर्ष २०७३-०७४ मा एक लाख ३९ हजार ९७८ र २०७४-०७५ मा एक लाख ५२ हजार ६७१ पर्यटक निकुञ्ज प्रवेश थिए । 

ढकालले निकुञ्जभित्र हालसम्मकै बढी पर्यटक प्रवेश गरेको जानकारी दिनुभयो । भूकम्पपछि मधेश आन्दोलन र नाकाबन्दीका कारण इन्धनको अभावले पर्यटकको सङ्ख्यामा कमी आएको थियो । यससँगै नारायणगढ मुग्लिन सडकखण्डको विस्तारका कारण पहिरो र जामले पर्यटक घटाएको थियो ।

देशमा स्थिर सरकार, नारायणगढ मुग्लिन सडकको स्तरोन्नति, निकुञ्जका बाहिरी क्षेत्रमा नयाँ पर्यटकीय होटलको विकासलगायतका कारण पर्यटक बढेको अनुमान गरिएको छ ।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले पर्यटकको सङ्ख्या सकारात्मक भए पनि अपेक्षाकृत नभएको बताए । यो सङ्ख्या दोब्बर बनाउनुपर्ने भन्दै उनले निकुञ्ज आसपासमा पर्यटक बस्ने क्षमता धेरै भएकाले अब पर्यटक बढाउनुपर्ने बताए । 

निकुञ्ज आसपासका क्षेत्रमा दैनिक छ हजार ५०० पर्यटक बस्नसक्ने क्षमताका होटल छन् । सौराहामा मात्र पाँच हजार ५०० पर्यटक अट्न सक्छन् । निकुञ्ज प्रवेशका लागि १० वटा प्रवेशद्वार रहेका छन् । यध्यपि अधिकांश सौराहाबाट निकुञ्ज प्रवेश गर्ने गरेको तथ्याङ्कले देखाएको छ । निकुञ्जमा सफारी नगर्ने तर होटलमा आउने पर्यटकको सङ्ख्या थप ३० प्रतिशत हाराहारी रहेको घिमिरेले जानकारी दिए । 

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीलगायतका लागि चर्चित छ । विसं २०३० मा यो निकुञ्ज स्थापना भएको हो । निकुञ्ज स्थापना पूर्व र पछिका निकुञ्जभित्रका सात वटा होटल बन्द भएपछि धेरै रकम खर्च गर्न सक्ने पर्यटक आउन छाडेका छन् । 

निकुञ्जमा पर्यटक बढेसँगै राजस्व पनि बढेको छ । गत आर्थिक वर्षमा रु २९ करोड १० लाख ९७ हजार, ८२३ राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा रु २४ करोड ८१ लाख ९९ हजार ९९८ सङ्कलन भएको थियो । पर्यटक बढेसँगै राजस्व सङ्कलन पनि अहिलेसम्मकै बढी भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै