• २०८१ बैशाख ७ शुक्रबार

विद्युतीय बसमा सरकारको लगानी : सार्वजनिक यातायात सुध्रिने आशा

kharibot

काठमाडौँ । सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई रु तीन अर्ब निकासा गरेको छ ।  

विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले यहि आषाढ २९ गते निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो । बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताएका छन् ।

संस्थाले प्रदेश ३, काठमाडौँ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरीद गर्दैछ । गत महीना मात्रै प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले रु १० करोड, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैँले साढे दुई करोड गरेर रु ४५ करोडमा बस खरीद गर्ने सम्झौता भएको थियो । 

बुधबार मात्रै संस्थाको रु तीन अर्बको शेयर सरकारले खरीद गरेपछि विद्युतीय बस सञ्चालनका लागि बाटो खुलेको हो । 

तीन सय बस खरीद गरेर काठमाडौँ उपत्यकासहित देशभर बस सञ्चालन गर्ने योजना रहेको भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका छन् । 

मन्त्रालयले विद्युतीय बसका लागि मापदण्ड बनाएको मन्त्री महासेठले जानकारी दिए । उनका अनुसार मन्त्रालयले संस्थालाई मापदण्ड पनि दिइसकेको छ । दुई सरकारबीच सम्झौता (जिटुजी) अनुसार वा खुला प्रतिस्पर्धाअनुसार सार्वजनिक खरीद प्रक्रियाबाट किन्ने उनले बताए । उनले भने, “अरु कुनै पनि खालको बाधा नआएमा असोजमै बस सञ्चालन शुरु गर्न सकिनेछ ।”

अहिले सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय सरकार विद्युतीय बस सञ्चालनमा इच्छुक भएको उनले बताए । काठमाडौँ उपत्यका र बाहिर कस्ता बस सञ्चालन गर्ने भन्ने मापदण्डमा तोकिएको छ । बस बालबालिका, ज्येष्ठ नागरिकमैत्री बस हुनुपर्ने तथा उभिने र बस्ने कति ठाउँ हुने भन्ने मापदण्डमा स्पष्ट पारिएको छ । मन्त्रालयले रकमसँगै मापदण्ड पनि साझालाई दिएको उनले बताए । “काठमाडौँ र उपत्यका बाहिर एकनासको बस नहुन सक्छ”, उनले भने ।

साझा सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले संस्थाले पारदर्शी भएर मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार साझा यातायात सरकारको ९९ प्रतिशभन्दा बढी शेयर भएको संस्था हो । सरकारको लगानी भएको संस्थाले नाफा मात्रै हेर्नेभन्दा पनि जनतालाई सुविधा दिने कुरामा ध्यान दिने उनको भनाइ थियो । 

साझाले नेपालमा यातायात क्षेत्रमा नयाँ शुरुआत गरेको र सबै वर्गलाई समेट्ने कुरामा ध्यान दिएको उनले बताए । संस्थाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा गराउने तथा विद्यार्थी र अपाङ्गता भएका व्यक्तिलाई रु १० मात्रै भाडा लिने गरेको छ । उनले भने, “अहिले अरु धेरै कम्पनीले पनि संस्थाकै जस्तो ठूला बस सञ्चालन शुरु गरेका छन्, यसले गर्दा यात्रुलाई सुविधा भएको छ ।”

मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले हरित ऊर्जाको प्रयोगबाट जनस्वास्थ्य तथा वातावरण क्षेत्र संरक्षणमा सकारात्मक प्रभाव पर्ने भएकाले विद्युतीय बस खरीद गर्न लागिएको बताए । 

उद्घाटनमा मात्र चलेका बिजुली बस जस्तो नहोस् :

लुम्बिनी क्षेत्रमा पर्यटकको सवारीका लागि ८ महिनाअघि भित्र्याइएका विद्युतीय बस अझै सञ्चालनमा आउन सकेका छैनन् । सरकार र विद्युतीय बस बिक्रेता चिनियाँ बीवाईडी अटो इन्ड्रस्टी कम्पनीबीचको विवादका कारण विद्युतीय बस सञ्चालन हुन सकेको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार खरिद सम्झौता अनुरूपका बस नभएकाले सञ्चालनमा रोक लगाइएको छ ।

लुम्बिनी लैजानुअघि साझा यातायातले २ वटा बस काठमाडौं उपत्यकामा सञ्चालन गर्न सरकारले स्वीकृति दिएको थियो । कपिलवस्तु(तिलौराकोट)–लुम्बिनी–देवदह–रामग्राम बुद्धिस्ट सर्किटमा सञ्चालन गर्न ल्याइएका ५ वटा बस प्रधानमन्त्री केपी ओलीले गत कर्तिकमै ठुलो तामझामका साथ उद्घाटन गरेका थिए। ओली ती बस चढेर विद्युतीय बसको सेवा सुरु गर्दै नेपाल विद्युतीय सवारीसाधनको युगमा प्रवेश गरेको समेत उद्घोष गरेका थिए ।

खरिद सम्झौताविपरीत भित्रिएको सूचनाका आधारमा मन्त्रालयले अध्ययन समिति बनाएर छानबिन गरेको थियो । समितिले खरिद सम्झौताअनुरूप १७ वटा कमजोरी देखाएको थियो ।

एसियाली विकास बैंक (एडीबी) को १२ करोड अनुदानका ५ वटा विद्युतीय बस र ११ भ्यान खरिद प्रक्रिया लुम्बिनी विकास कोषले अघि बढाएको थियो । ५ विद्युतीय बसको मूल्य प्रतिगोटा १ करोड ७४ लाख रुपैयाँ परेको थियो । प्राविधिक अध्ययन प्रतिवेदनमा खरिद सम्झौतामा सी–६ विद्युतीय मिनीबस भन्ने उल्लेख भए पनि भारतीय बजारमा परीक्षणका लागि उत्पादन भएका के–६ विद्युतीय बस नेपाल ल्याइएको प्रतिवेदनमा उल्लेख छ ।

ति गाडीको बत्ती, सिट बेल्ट, सूची बोर्डसमेत मापदण्डभन्दा बाहिर रहेको प्राविधिकले समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । विद्युतीय बसको फिनिसिङ पनि सम्झौताअनुसार नरहेको, गाडीमा प्रयोग गरिएका सिसा पनि मापदण्डविपरीत छ । बसको ढोकासमेत राम्रोसँग खुल्ने अवस्थामा नरहेको रिपोर्टमा उल्लेख छ ।

सार्वजनिक यातायतमा सुधार आवश्यक :

अहिले काठमाडौँ उपत्यकासहित देश भरनै सार्वजनिक यातायातको अवस्था राम्रो छैन । तुलनात्मक रुपमा निजि क्षेत्रले लामो दुरीका सार्वजनिक यातायातमा सुधार ल्याएको भएपनि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको अवस्था विकराल रहेको छ । समयमा साधन नपाइने पात्र होइन सिट भन्दा बढी क्षमतामा यात्रु राख्ने, महिला हिंसाका घटना हुने तथा सार्वजनिक यातायातमा कोचिएर हिड्नु पर्ने अवस्थाले खासगरी सार्वजनिक यातायतको अवस्था नाजुक रहेको छ । यसको सुधारकालागि धेरैले धेरै पटक भाषण र चुनाव जिते पनि खासै सुधार गर्न सकेको छैन ।

अहिले सरकारले ढिलो भएपनि साझामार्फत बिजुली बसमा लगानी गर्ने निर्णयले यसमा सुधार आउने अपेक्षा गर्न सकिन्छ । तर यस अघि निकै तामझामका साथ उद्घाटन भएको जस्तो विजुली बसको अवस्था नहोस भन्ने तर्फ स्वयं सरकार सचेत हुन् जरुरी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै