• २०८१ बैशाख ११ मंगलबार

गण्डकी प्रदेशको पुँजीगत खर्च ५५ प्रतिशत मात्र 

kharibot

पोखरा । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५÷०७६ मा ५८.१० प्रतिशत रकम खर्च भएको छ ।

प्रदेशमा सो आवमा ८० प्रतिशतको हाराहारीमा खर्च गर्ने लक्ष्य गरिए पनि कूल बजेटको जम्मा ५८.१० प्रतिशत मात्र खर्च भएको हो । सो आवमा कुल पूँजीगत खर्च ५४.८३ प्रतिशत भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुदीप गौतमले जानकारी दिए ।

विनियोजित कूल रु २४ अर्ब दुई करोड ३३ लाख ४८ हजारमध्ये पूँजीगततर्फ रु १५ अर्ब ९० करोड ७८ लाख ३३ हजार विनियोजन भएको थियो भने रु आठ अर्ब ११ करोड ५५ लाख १५ हजार चालूतर्फ विनियोजन गरिएको थियो ।

पूँजीगतभन्दा चालू खर्च बढी भएको जानकारी दिँदै लेखा अधिकृत गौतमले चालूतर्फको बजेटमध्ये ६४.५१ प्रतिशत खर्च भएको बताए । जुन कूल बजेटको रु पाँच अर्ब २३ करोड ५० लाख हो ।

पूँजीगततर्फ भने प्रदेश सरकारले रु आठ अर्ब ७२ करोड २३ लाख मात्र खर्च गरेको छ । यो कूल पूँजीगत बजेटको ५४.८३ प्रतिशत हो । आर्थिक वर्षको असारमा विगतमा जस्तै धेरै खर्च भएको छ । असारमा मात्रै पूँजीगत रु पाँच अर्ब छ करोड २० लाख ५३ हजार खर्च भएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिएको तथ्याङ्कअनुसार असारका पछिल्ला पाँच दिन चालूतर्फ रु ६० करोड १९ लाख २२ हजार खर्च भएको छ । पूँजीगततर्फ रु दुई अर्ब ७७ करोड ५५ लाख ७७ हजार खर्च भएको छ । पूँजीगततर्फ खर्च भएको उक्त रकम १८ प्रतिशत हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै