• २०८१ बैशाख ११ मंगलबार

खोटाङ–काठमाडौँ सडक सञ्चालन

kharibot

फाइल तस्विर । 

बाढीपहिराले अवरुद्ध मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनःसञ्चालन भएको छ । लगातारको वर्षापछि विभिन्न ठाउँमा आएको बाढीपहिराले क्षति गरेपछि अवरुद्ध बनेको सडक मर्मत गरेर शुक्रबारदेखि पुनःसञ्चालन गरिएको हो । अविरल वर्षासँगै आएको बाढीपहिराले उक्त सडक खण्डको सयौँ स्थानमा अवरोध पु¥याएको थियो ।

नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, स्थानीय सरकार तथा स्थानीयवासीले पहिरो हटाएपछि यातायात सञ्चालन गरिएको हो । पहिरो हटेसँगै आज बिहानदेखि खोटाङ र काठमाडौँबाट यातायातका सवारी साधन सञ्चालन भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताए ।

“जयरामघाट नजिकको डौँठेखोला र उदयपुरको घुर्मीको पहिरोलाई पूर्णरुपमा हटाउन सकिएको छैन”, उनले भने , “आजै बेलुकासम्म पूर्णरुपमा पहिरो हटाइसक्ने सडक मर्मतमा खटिएका व्यक्तिले बताएका छन् ।” आंशिकरुपमा सडक सञ्चालन भएसँगै दिक्तेलमा राजधानी काठमाडौँ तथा तराईका जिल्ला जाने र आउने यात्रुको चहलपहल शुरु भएको छ । अवरुद्ध सडक खुलेसँगै बीच सडक खण्डमा फसेर अलपत्र अवस्थामा बसेका यात्रु आज बिहानदेखि आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।

पहिराका कारण सडक अवरुद्ध भएसँगै जिल्लामा यातायातका सवारी साधन सञ्चालन नहुँदा काठमाडौँ तथा तराईका जिल्ला आवतजावत गर्न समस्या बनेको थियो । सडक अवरुद्ध भएपछि खोटाङ–काठमाडौँ दैनिक दुईपटकसम्म हेलिकप्टर चार्टर गरेर उपचार तथा व्यक्तिगत काममा लागि जानुपर्ने बाध्यता थियो । सडक अवरुद्ध भएपछि आकस्मिक कार्यका लागि यात्रुले रु दुई लाखदेखि रु दुई लाख २० हजार तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य बनेका थिए ।

सडक अवरुद्धका कारण भोलि शनिबारदेखि जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालन हुने लोकसेवा आयोगका परीक्षार्थीलाई सहभागी बन्न समस्या भएको थियो । हप्तादिनभन्दा बढी राजधानी काठमाडौँ तथा तराईसँगको सिधा यातायात अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तु समेत अभाव शुरु भएको थियो ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी–जयरामघाट हुँदै काठमाडौँ जोड्ने सडक खुले पनि जिल्लाका अन्य सडक अझै अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेपनि कहिलेसम्म अवरुद्ध सडक खुल्ने भन्ने टुङ्गो छैन । जिल्लाका अधिकांश सडक स्काभेटर प्रयोग गरेर निर्माण गरिएकाले वर्षाद्को पानीले पहिरो गएको जनाइएको छ ।

जिल्लाका सबै स्थानीय तहमा आर्थिक वर्षको अन्त्यमा सम्पन्न गर्ने लक्ष्यका साथ ग्रामीण सडक निर्माण गरिएको थियो । लामो समयसम्मको खडेरीपछि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिराले जिल्लामा तीन जनाको ज्यान गएको छ भने अर्बौंको क्षति भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै