काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठनमा महत्त्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छ्न् ।
बालुवाटारमा बिहीबार राति बसेको नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई संगठन विभागको नेतृत्व दिने सहमति गरेको हो । विभागको नेतृत्वसम्बन्धी सहमति आइतबार बस्ने सचिवालय बैठकमा पेस हुनेछ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई पुनः आफ्नै समूहमा ल्याउन रोजेकै विभाग दिन लागेका हुन् । ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेका हुन् । विगतमा आफूसँग गरिएका प्रतिबद्धता पालना नगरेको भन्दै गौतम ओलीसँग रुष्ट थिए ।
केही दिनअघि ओलीले गौतमलाई बोलाएर लामो छलफल गरेका थिए । छलफलमा ओलीले मिलेर जाने प्रस्ताव राखेका थिए ।
यसअघि ओलीले संगठन विभागमा रामबहादुर थापालाई लैजाने तयारी गरेका थिए । पूर्वएमालेको सन्तुलन नबिगार्नका लागि गौतमलाई नेतृत्व दिने निर्णयमा ओली पुगेका हुन् ।
विदेश विभागको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिने सहमति भएको छ । नेपालले यो विभागको नेतृत्व पहिले पनि सम्हालिसकेका छन् ।
अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिन लागिएको छ ।
पूर्वएमालेको भागमा परेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलाई दिने समझदारी भएको छ ।
पूर्वमाओवादी पक्षले यो विभागको नेतृत्व आफैंले पाउनुपर्ने बताउँदै आएको छ ।