• २०८१ बैशाख १४ शुक्रबार

संसदीय टोली प्रदेश २ को बाढी प्रभावित क्षेत्रमा

kharibot

धनुषा । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिले प्रदेश नं २ को बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण शुरु गरेको छ । 

टोलीले पहिलो दिन शनिबार जनकपुरधाम उप–महानगरपालिका–१ को मुसहरी र ७ का बाढी पीडितलाई भेटेर अवस्था बुझेको छ । 

बाढी पीडितलाई टोलीले राज्यका तर्फबाट राहत सामग्री समेत वितरण गरेको छ ।

समितिले सांसदहरुको दुई वटा टोली बनाएर प्रदेश नं २ को आठै जिल्लाको बाढीबाट भएको क्षतिको विषयमा स्थलगत निरीक्षण गर्न लागेको हो ।  

एउटा टोलीले धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा ,पर्साको निरीक्षण शुरु गरेको छ भने अर्को टोलीले सिरहा र सप्तरीको जिल्लाको निरीक्षण गर्दैछ । 

टोलीमा राजेन्द्र महतो, रामसहाय प्रसाद यादव, देवेन्द्र प्रसाद कँडेल, लक्ष्मी चौधरी, दिलेन्द्रप्रसाद बडु, डिला संग्रौला, छक्कबहादुर लामा, बृजेशकुमार गुप्ता रहेका छन् ।    

समितिले प्रदेश दुईको आठ वटै जिल्लाको स्थलगत निरीक्षण गरी सरकारलाई प्रतिवेदन बुझाउने छ ।

बाढीले बगाएर र डुबेर प्रदेशका आठै जिल्लामा हालसम्म मृत्यु भएका ३७ जनामध्ये २३ जना बालबालिका छन् ।

प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार बाढी तथा डुबानमा परी प्रदेशमा १३ हजार ४४ घरपरिवार विस्थापित भएका छन् भने छ लाख ७९ हजार ३१५ व्यक्ति प्रभावित भएका छन् ।

यसैगरी तीन हजार ५ सय ७४ घर पूर्णरुपमा क्षति भएको छ भने एक लाख १८ हजार १ सय ४ जना प्रभावित मानिस विस्थापित भई सुरक्षित ठाउँमा गएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै