• २०८१ बैशाख १३ बिहीबार

विदेशिएका युवा पशुपालनमा आकर्षितः दूधको मूल्यवृद्धि नहुँदा निरुत्साहित

kharibot

वैदेशिक रोजगारबाट फर्केपछि माथागढी गाउँपालिका–२ रुप्सेका कृष्णप्रसाद भट्टराईले गाउँमै बसेर पशुपालन व्यवसाय शुरु गर्ने योजना बनाए । छिमेकीले दूध बिक्री गरी मनग्य आम्दानी गरेको देखेपछि उनले पनि वैदेशिक रोजगारी छाडेर २०७० सालमा उन्नत जातको एउटा गाईबाट व्यवसाय शुरु गरे ।

पछि विस्तारै क्रमिक रुपमा गाईको सङ्ख्या बढाउँदै जाए भए । गाईपालन व्यवसाय उहाँका लागि आम्दानीको भरपर्दो आधार बन्यो । राम्रै आम्दानी हुन थालेपछि भट्टराइको हौसला झन बढ्दै गयो । “दूधको मूल्य राम्रो पाएपछि महीनामा एक लाखसम्म कमाइ हुने गरेको छ”, भट्टराईले भने  ।

तर अहिले आएर दानाको मूल्य ह्वात्तै बढ्दा उनलाई यो व्यवसायप्रति नै निराशा छाउन थालेको छ । एकातिर दानाको मूल्यमा अत्यधिक वृद्धि भएको छ भने अर्कोतिर तीन वर्षअघि नै सरकारले तोकेको मूल्यमा दूध बिक्री गर्नुपर्दा कृषक मारमा परेको भट्टराईको गुनासो छ । “तीन वर्षकै मूल्यमा दूध बिक्री गर्नुपर्ने बाध्यता छ, हरेक सामान वर्षेनी दोब्बरले बढिरहँदा दूधको मूल्य बढ्न सकेन, अब पुनः फर्किएर वैदेशिक रोजगारीमै जाने अवस्था सिर्जना भएको छ”, उनने भने ।

गत वर्ष रु एक हजारमा पाइने दानाको मूल्य अहिले बढेर एक हजार ९५० पुगेको छ । दश वटा दुहुना गाईबाट दैनिक ८० लिटर सम्म दूध बिक्री गरी गत वर्ष मासिक रु एक लाख जति आम्दानी भएकामा सबै खर्च कटाएर ५० प्रतिशत नाफा लिन पाइन्थ्यो । तर अहिलेको अवस्थामा नाफा नै लिन मुश्किल परेको उनले बताए ।

त्यसैगरी तिनाउ गाउँपालिका–६ डुम्रेका गोपाल जिसी नाफा लिनै मुश्किल पर्ने अवस्था आएपछि व्यवसाय नै धरापमा पर्न थालेको बताए  । उनको फार्ममा २४ वटा उन्नत जातका गाई छन् । उनले दैनिक २०० लिटर दूध बिक्री गर्दै आएका छन  । यो व्यवसायबाट मासिक रु दुई लाख २५ हजार आम्दानी गर्ने जिसीले भन्नुभयो, “अहिले सबै आम्दानी दानामा नै खर्च हुने गरेको छ ।” “तीन वर्षदेखि लगातार एउटै मूल्यमा दूध बिक्री गर्नुपर्ने बाध्यता छ, व्यवसायतिर आकर्षित बनेका यहाँका कृषक दूधले मूल्य नपाएपछि छाड्ने क्रममा रहेका छन्”, उनले भने ।

यस क्षेत्रका कृषकले उत्पादन गर्ने गरेको दूध स्थानीय डुुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले गाउँगाउँमा पुगेर खरीद गर्दै आइरहेको छ । सहकारीले आफ्नै ढुवानी खर्चमा गुणस्तर हेरी गाईको दूध प्रतिलिटर रु ४५ देखि ५५ सम्म र भँैसीको दूध प्रतिलिटर रु ६० देखि ६५ सम्म खरीद गर्ने गरेको छ । कृषकबाट खरीद गरेको गाईको दूध रु ७० र भैँसीको दूध रु ८० सम्ममा सहकारीले बजारमा बिक्री गरिरहेको छ ।

दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन हुने गरेकामा एक हजार ८०० लिटर दूध पोखरा पठाउने गरेको सो सहकारीले जनाएको छ । सहकारीमा ४१ वटा आधिकारिक फार्म दर्ता भई सञ्चालनमा छन् भने दैनिक ५०० कृषकले दूध बिक्री गर्ने गर्छन् । सरकारले अन्य वस्तुको मूल्य वर्षेनी वृद्धि गरिरहेको छ । तर दूधको मूल्य भने तीन वर्ष अगाडिकै कायम छ । गाईपालक कृषकले लागतअनुसारको मूल्य नै नपाइएको रामपुरका अगुवा कृषक जीवनाथ ढुङ्गानाले बताए  ।

“व्यवसाय गर्न जाँगर नै हराउँदै गएको छ, दुःखसँग पालनपोषण ग¥यो तर अहिले लगानी उठाउनै मुश्किल पर्न थालेको छ, यसमा सम्बन्धित निकायको ध्यान जाओस्”, उनले भने । ढुङ्गानाको आम्दानीको मुख्य स्रोत नै गाईपालन व्यवसाय हो । सात माउ र तीन साना गाई पाल्नुभएको उन दैनिक ३५ लिटर दूध बिक्री गरी मासिक रु ५० हजार जति कमाइ गर्छन्  ।

यो कमाइबाट उनले आधाभन्दा बढी नाफा लिँदै आउनुभएकामा अहिले दाना चोकरमा नै खर्च गर्न ठिक्क हुने गरेको बताए । जिल्लामा दैनिक करीब सात हजार लिटर दूध उत्पादन हुने गरेकामा दुई हजार लिटर दूध पोखरा बजारमा बिक्री हँुदै आइरहेको भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र पाल्पाका प्रमुख डा.चन्द्रबहादुर रानाले बताए ।

कूल ८१ वटा दुग्ध व्यवसायी फार्म जिल्लामा दर्ता भई सञ्चालनमा छन् भने साना ठूला गरेर २०० भन्दा बढी फार्म रहेका छन् । जिल्लामा वार्षिक ५१ हजार १९९ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । “रोजगारीको खोजीमा विदेशिएका युवालाई पशुपालन व्यवसायमा आकर्षित गर्न सकेमा दिगो तथा समावेशी अर्थतन्त्रको विकास गर्न सकिन्छ”, डा रानाले भने , “पशुपालक कृषकको क्षमता अभिवृद्धि गरी आयआर्जन वृद्धि गर्न सक्नुपर्छ ।”

“पशुपालक कृषकको लागत घटाई उनीहरूको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनु हाम्रो चुनौती हो, त्यसलाई राज्यले सम्बोधन गर्न सक्नुपर्छ”, उनले भने । पाल्पा जिल्लालाई २०७०÷०७१ को तथ्याङ्कले दूध र मासुमा आत्मनिर्भर जिल्ला देखाउँछ । तर पनि औपचारिक घोषणा भने भएको छैन । जिल्लामा दुग्धजन्य विभिन्न पदार्थ उत्पादन हुने गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै