• २०८१ बैशाख ८ शनिबार

मलेसियामाथि नेपालको रोमान्चक जित, ज्ञानेन्द्रको आक्रामक अर्धशतक

kharibot

काठमाडौँ । आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा मलेसियालाई पराजित गरेको छ ।

बर्षाले अवरोध हुदा ९-९ ओभरमा घटाइएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

मलेसियाविरुद्धको खेलमा कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेलेका थिए । 

ज्ञानेन्द्र २१ बलमा ५१ रन बनाएर आउट भएका थिए । नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेलमा यो छैठौ अर्धशतक हो । यस अघि पारस खड्काले २ अर्धशतक बनाएका छन् भने सुबास खकुरेल, सन्दीप जोरा र बिनोद भण्डारीले एक एक अर्धशतक बनाएका छन् ।      

त्यस्तै नेपालका लागि प्रदीप ऐरी १२ रन बनाए भने दिपेन्द्र सिंह ऐरी २, विनोद भण्डारी अविजित १३ र शरद भेस्वाकरले अविजित ३ रन बनाए ।

मलेसियाका बलर मुहमद स्याहदतले ३ विकेट लिएका थिए ।  

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको थियो । ९ ओभरमा ७ विकेट गुमाउदै मलेसियाले ८३ रन बनाएको हो ।

नेपालका लागि सोपमाल कामीले ३ विकेट लिएका थिए भने बसन्त रेग्मीले २ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिएका थिए ।

त्यस्तै मलेसियाका लागि सयेद अजिजले १५ बलमा ३० रन बनाएका थिए भने विरनदीप सिंहले २१ रन बनाएका थिए । मलेसियाका दुवै ओपनरलाई सोमपालले डक आउट गराएका थिए । त्यस्तै अमिनुद्दीन रामलीले ५, मुहमद श्याहदतले एक रन बनाएका थिए भने कप्तान अहमद फैजले ९ रन बनाएका थिए ।

चोटका कारण नेपाली कप्तान पारस खड्का आजको खेलमा खेलेका छैनन् । उनको ठाउमा ज्ञानेन्द्र मल्लले कप्तानी गरेका थिए ।        

पहिलो खेलमा कतारविरुद्ध घाइते भएका कप्तान पारस खड्काको चोट त्यति ठुलो नभएको बताइएको छ । ढाडको समस्या भएका कारण कतारविरुद्धको खेलको दोस्रो इनिंगको पुरै समय पारस मैदान बाहिर बसेका थिए भने उनको ठाउमा पवन सराफले फिल्डिङ गरेका थिए ।

जितसँगै नेपालले दुई महत्वपूर्ण अंक हासिल गरेको छ । नेपाल यस पछि शनिबार र आइतबार कुवेत र सिंगापुरसँग खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै