• २०८१ बैशाख ७ शुक्रबार

इलामका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढ्यो

kharibot

इलाम ।  बर्खायाम सकिएर मौसम खुलेसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । 

जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, चियाको हरियाली कन्याम, सानो पाथीभरा, माईपोखरी, सूर्याेदयको दृश्यावलोकनको उत्कृष्ट गन्तव्य अन्तु र सीमावर्ती पर्यटकीयस्थलमा भारतीय, पश्चिमा मुलुक र आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको छ । 

यसपटक छिट्टै मौसम खुलेकाले सन्दकपुरमा पर्यटक आवागमन बढेको स्थानीयवासी मनोज भट्टराईले बताउनुभयो । चाडबाडको समय तथा खुला मौसम भएकाले यहाँका होटल अगाडी नै बुक भइसकेका छन् । सन्दकपुरबाट कञ्चनजंघा, सगरमाथा, कुम्भकर्णलगायत हिमशृङ्खलासँगै सूर्योदय दृष्यावलोकन तथा नेपाल र भारतका थुप्रै स्थान देख्न सकिन्छ । 

पूर्वको हरियाली कन्याममा पनि बनभोज खाने र घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । यहाँ दैनिक एक हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको स्थानीयवासी काजीमान कागते बताउनुहुन्छ । झापा, मोरङ, काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट पर्यटक आएका छन् । यहाँबाट श्रीअन्तु, समालबुङ र कन्याम क्षेत्रको सुन्दर हरियाली देख्न सकिन्छ । 

सिमसार क्षेत्र माईपोखरी घुम्न आउनेको संख्या पनि उल्लेख्य छ । बरबोटे हुँदै १३ किमी सडक पार गरेर पुगिने माईपोखरीमा दैनिक ३०० भन्दा बढी पर्यटक आउने स्थानीयवासी कमल मुखियाले बताउनुभयो । यहाँ विश्वमै लोपोन्मुख गलैँचे झ्याउ, अनौठा खालका चरा, ठकठकेलगायतका पक्षी तथा वनस्पति पाइन्छन् । विभिन्न प्रकारका लालीगुराँस र लोपोन्मुख रेडपाण्डा, काँडेभ्याकुरजस्ता पशुपक्षी सन्दकपुर क्षेत्रमा पाइन्छन् । कन्काई माईको उद्गमस्थल तीन हजार ६३६ मिटरको उचाइमा रहेको छ । 

भारतको दार्जिलिङबाट सीमावर्ती मानेभञ्ज्याङ हुँदै धेरै पर्यटक सन्दकपुर पुग्छन् । मानेभञ्ज्याङदेखि ३१ किमीमा रहेको सन्दकपुरबीचका मेघ्मा, तुम्लिङ, जौवारी, गैरीवास, कैयाकट्टा र कालपोखरीमा समेत पर्यटक रोकिने गर्छन । नेपालकै बाटो भएर पनि सन्दकपुर पुग्ने पर्यटकको संख्या उल्लेख्य छ । सदरमुकामबाट बिब्ल्याँटे हुँदै सन्दकपुर गाउँपालिकाको मावुबाट सन्दकपुरसम्म सडक जोडिएको छ । माईपोखरी हुँदै माइमझुवा भएर पनि सन्दकपुर पुग्न सकिन्छ । 

“पर्यटक आउन थालेपछि बर्खाभरि बन्द रहेका होटल खुलेका छन्”, माइमझुवाका पेम्वाछिरिङ भोटियाले भन्नुभयोे । मुख्य पर्यटकीय मौसममा दैनिक सयौँ पर्यटक आउने गरेका छन् । पर्यटक आगमनले यहाँको पर्यटन व्यवसाय फस्टाएको छ । 

पर्यटकीयस्थलमा पर्यटक आवागमन बढेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली बताउनुहुन्छ । पर्यटकीयस्थलको प्रवद्र्धन गर्न समितिले पूर्वाधार निर्माणमा लाखौँ रकम खर्च गरेको छ । यहाँ पूर्वाधारकै कारण पर्यटकलाई आकर्षित गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै