• २०८१ बैशाख ७ शुक्रबार

बोरिस जोन्सन : पत्रकारदेखि प्रधानमन्त्रीसम्म

kharibot

काठमाडौं । बोरिस जोन्सन बेलायतका नयाँ प्रधानमन्त्री बनेका छन् । बुधबारदेखि प्रधानमन्त्रीको पदभार ग्रहण गरेका बोरिस अहिले दुनियाँभर आफ्नो ध्यान केन्द्रित गर्न सफल भएका छन् । 

ब्रेक्जिटका लागि तयार पारिएको सम्झौता संसद्बाट पारित गराउन नसकेसँगै थेरेसा मेले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेकी छन् । यससँगै बेलायतको सत्ताधारी कन्जर्भेटिभ पार्टीको नेताको लागि भएको चुनावमा बोरिस जोन्सन विजयी भएपछि उनी बेलायतको प्रधानमन्त्री हुने बाटो खुलेको थियो । 

जोन्सनको विवादस्पद छवि, लन्डनको मेयर हुँदाको लोकप्रियता र पछिल्लो पटक ब्रेक्जिट हुनुपर्छ भनेर नेतृत्व गरेपछि अहिले प्रधानमन्त्री हुँदासम्मको घटनाक्रमलाई यस रिपोर्टमा प्रस्तुत गरेका छौं ।    

परम्परागत राजनीतिलाई चुनौती

जोन्सन आफ्नो अनौठो स्वभाव तथा अभिव्यक्तिका कारण बारम्बार विवादको घेरामा आइरहन्छन् । थेरेसा मेको कार्यकालमा उनी विदेशमन्त्री थिए । पछि, ब्रेक्जिटको विषयमा चित्त नबुझेपछि उनले राजीनामा दिए र उनको स्थानमा जेरेमी हन्ट विदेशमन्त्री भएका हुन् । जोन्सनले परम्परागत राजनीतिलाई चुनौती दिँदै अघि बढेका छन् । पत्रकार, सांसद, मेयरदेखि विदेशमन्त्री हुँदै उनले हाल प्रधानमन्त्रीसम्मको यात्रा तय गरेका हुन् । 

समर्थक के भन्छन् ? 

उनका समर्थकहरुका अनुसार उनी मानिसहरुसँग घुलमिल हुन धेरै रुचाउँछन् । त्यस्तै, उनी निकै चतुर हुनुका साथै मेहनती पनि भएकाले नै उनी आकर्षणको केन्द्रविन्दु भइरहने उनका समर्थकहरुको भनाइ छ । उनी जुझारु स्वभावको रहेको र उनलाई नाइ भन्ने सुन्न पटक्कै मन नपर्ने पनि समर्थकहरु बताउँछन् । तर, ५५ वर्षीय जोन्सनको निजी तथा राजनीतिक जीवन निकै उतारचढावबीच व्यतीत भएको छ । आफ्नो अफेयर लुकाएकै कारण उनले सांसद पदसमेत छोड्नुपरेको थियो । जोन्सन जस्तै परिस्थितिलाई पनि आफ्नो पक्षमा ढाल्न सक्ने कन्जर्भेटिभ पार्टीका कतिपय सदस्यको मान्यता छ । ब्रेक्जिट क्याम्पेनको बेला पनि उनको सभामा निकै भीड जम्मा हुन्थ्यो । 

प्रेमिकाकी छोरीको पितृत्व ग्रहण

हालैका वर्षमा बोरिस जोन्सन ब्रेक्जिटका साथै निजी जीवनका कारण पनि मिडियामा छाइरहे । गतवर्ष मात्रै उनी आफ्ना पत्नीसँग छुट्टिएका थिए । बोरिसको व्यक्तिगत जीवन निकै विवादास्पद छ । उनी अफेयरका कारण पनि बेलाबेला विवादमा आइरहन्छन् । उनका दुई पत्नीबाट जम्मा ४ सन्तान भएका छन् । 

सन् २००९ ताका मेयरको पदमा रहँदा जोन्सनको हेलेन म्याकिन्टायर नामकी प्रोपर्टी डेभलपरकी पत्नीसँग अफेयर रहेको बताइन्छ । त्यसको करीब एक वर्षपछि हेलेनले स्टिफनी नामकी छोरीलाई जन्म दिएकी थिइन् । हेलेनले उनीहरुको सन्तानलाई गोप्य राख्न चाहेकी थिइन् । त्यस्तै, उनीहरुबारे छापिने समाचार रोक्न उनले कानूनको समेत सहायता लिन प्रयास गरेकी थिइन् । तथापि, न्यायाधीशले बोरिसकी छोरीबारे थाहा पाउनु नागरिकको अधिकार रहेको निर्णय दिएका थिए । 

त्यस्तै, त्योभन्दा अघि पनि उनी पेट्रोनेल्ला वाटसँग करीब ४ वर्ष अफेयरमा रहेको र उनी दुईपटक गर्भवती भएको विभिन्न सञ्चारमाध्यमले समाचार छापेका छन् । त्यस बेला जोन्सन द स्पेक्टरका सम्पादक थिए । दुवैपटक नै गर्भपतन गरिएको थियो । सन् २००४ मा मिचेल होवार्डको संसद्लाई अफेयरबारे लुकाएको भनी जोन्सनलाई पार्टीबाटै निष्कासन समेत गरिएको थियो । त्यसैगरी, उनी पत्रकार एन्ना फजाक्कर्लेसँग पनि अफेयरमा रहेको बताइन्छ ।

पत्रकारितामा विवाद 

बोरिस जोन्सनको पत्रकारिता जीवन पनि निकै विवादित देखिन्छ । एकपटक त उनले आफैले बनाएको भनाइ अरुको भनी झूट बोलेकैले द टाइम्सको रिपोर्टर पदबाट निष्कासित समेत हुनुपरेको थियो । 

इराकमा बन्धक बनाइएका बेलायती नागरिक केन बिगलेको हत्याको विषयमा लिभरपुलका जनताले दिएको प्रतिक्रियाको उनले कडा आलोचना गरेका थिए । जसका कारण उनले लिभरपुलका नागरिकसँग माफीसमेत माग्नुपरेको थियो ।

उनले सन् १९८३ मा एटन कलेजमा विद्यालयस्तरको शिक्षा प्राप्त गरी अक्सफोर्ड बालिओल कलेजबाट चार वर्षपछि स्नातक पास गरेका थिए । सन् १९८७ देखि करिब दुई वर्ष द टाइम्स पत्रिकामा काम गरेका थिए ।

जोन्सनले सन् १९८९ देखि १९९४ सम्म टेलिग्राफको युरोपेली संघको सम्वाददाताका रूपमा काम गरेका थिए । उनले सन् १९९९ देखि २००५ सम्म द स्पेक्टेटर नामक खबर पत्रिकामा काम गरे तर सन् २००१ मा नै उहाँ लण्डन नजिकैको हेन्ली क्षेत्रबाट संसद सदस्य बनेका थिए । उनी सन् २००५ मा उक्त क्षेत्रबाट पुनः निर्वाचित भए ।

महिलाविरोधी

उनलाई महिलाविरोधी नेता पनि भनिन्छ । एकपटक उनले बुर्का लगाएको महिला लेटरबक्स जस्तो लाग्छ भनी धारणा व्यक्त गरेका थिए ।

ट्रम्पका मित्र 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत भ्रमणका क्रममा जुन पहिलो सातामा नै जोन्सनलाई आफ्नो मित्रको संज्ञा दिँदै प्रधानमन्त्रीमा उनले राम्रो काम गर्ने बताएका थिए । त्यस्तै, बेलायत युरोपबाट बाहिरिए अमेरिका र बेलायतबीचको सम्बन्ध अझै प्रगाढ बनाउने पनि ट्रम्पले बताएका छन् । 

यता जोन्सन भने कुनै पनि हालतमा ब्रेक्जिट गर्ने पक्षमा छन् । त्यसैले पनि दुई भिन्न देशका दुई प्रमुख नेता ट्रम्प र जोन्सनको विचार तथा अनुदारवादी नीति तथा स्वभाव निकै मिल्ने धेरैको आकलन छ । दुवैलाई लैंगिक तथा जातीय विभेद गरेको भनेर पनि बेलाबेला आरोप लाग्ने गरेको छ । विवादास्पद अभिव्यक्तिदेखि हेयरस्टाइलसम्म दुईबीच निकै समानता छ । दुवै जना सार्वजनिक स्थलमा पनि नमिलाइएको पहेंलो कपालमा नै पुग्ने गर्दछन् ।

व्यंग्यात्मक भाषण

त्यस्तै बोरिस आफ्नो व्यंग्यात्मक भाषणका लागि पनि चर्चित छन् । उनले युरोपबाट छुट्टिने विषयमा बेलायतको प्रतिनिधित्व पनि गरेका छन् । सन् २००४ मा उनी पत्रकार रहेको बेला आफ्नो लेखका लागि उनले लिभरपुलका जनतासँग माफी पनि माग्नुपरेको थियो । उनी राम्रा कवि पनि हुन् । उनले सन् २०१८ मा कविता प्रतियोगितामा विजयी भएर उनले १००० पाउन्ड पनि कमाएका थिए । 

यातायातमा रक्सी प्रतिबन्ध र बोरिस बाइक्स

उनी दुईपटक लन्डनका मेयर भइसकेका छन् । सन् २००८ मा उनी पहिलोपटक मेयर बनेका थिए । उनले मेयर बनेपछि सार्वजनिक यातायातमा मादक पदार्थ लैजान प्रतिबन्ध लगाएका थिए । बोरिस साइकल चलाउन निकै सौखिन छन् । उनले बेलायतमा साइकल भाडामा दिने योजना ल्याए, जुन निकै प्रसिद्ध भयो । यसरी भाडामा दिइने साइकललाई त्यहाँको  स्थानीय भाषामा बोरिस बाइक्स भन्न थालियो ।

उनी सन् २००८ मा विपक्षी नेता केन लिभिङ्सटनलाई पराजित गर्दै लण्डनको नगर प्रमुख (मेयर) बनेका थिए भने सन् २०१२ मा पनि लण्डनको मेयरका रूपमा पुन: निर्वाचित भएका थिए । 

लागूऔषध 

उनले किशोरावस्थामा कोकिन लगायत लागूऔषधको प्रयोग गर्ने गरेका थिए । पछि पनि उनले लागूपदार्थ सेवन गर्ने गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

जोन्सनलाई ब्रेक्जिटको विवादमा फसेको बेलायतलाई अघि बढाउन भने निकै कठिन हुने देखिएको छ । किनकि, मेको क्याबिनेटमा अर्थमन्त्री रहेका फिलिप ह्यामन्ड, विदेशमन्त्री एलन डंकन तथा न्यायमन्त्री डेभिड गुइकेले जोन्सन प्रधानमन्त्री बने राजीनामा दिने घोषणा गरिसकेका छन् । यस्तोमा सबैलाई साथ लिएर ब्रेक्जिट सम्पन्न गर्नु र ब्रेक्जिटपछिको बेलायतलाई आर्थिक भारबाट माथि उठाउनु उनका लागि फलामको चिउरा चपाउनुसहर कठिन हुने स्पष्ट छ ।

एजेन्सीहरुको सहयोगमा
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै