• २०८१ बैशाख ७ शुक्रबार

कफी, आलु र वियर 

kharibot

काठमाडौँ । जलवायु परिवर्तन अहिलेको विश्वमा सबैका लागि चिन्ताको विषय बनेको छ । कम वर्षा अति बर्षा, सुख्खा, गर्मी, बढी चिसो जस्ता मौसमी घटनाक्रम अप्रत्यासित रुपमा बढ्नु जलवायु परिवर्तनको परिणामका रुपमा लिइएको छ ।

यसै क्रममा बिबिसी बिज्ञानका लागि निकोलय वोरोनिनले लेखेको एक रिपोर्ट सान्दर्भिक हुने ठानेर प्रस्तुत गरेका छौ ।

जलवायु परिवर्तनले मौसममा आएको अप्रत्याशित परिवर्तनको असर उत्पादनसँग सिधै पर्ने देखिएको छ ।

कफी र चिया :

यदि तपाइँ बिहान उठेर चिया या कफी पिउने सौखिन हुनुहुन्छ भने तपाइँका लागि खराब समाचार रहेको छ । ग्लोबल वार्मिङका कारण सन् २०५० सम्ममा विश्वमा कफीको उत्पादन आधा भन्दा कम हुने अनुमान गरिएको छ । त्यस्तै रिपोर्टमा सन् २०८० सम्ममा त कैयौ कफीका प्रकार लोप हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

उदाहरणको रुपमा तान्जानियालाई लिन सकिन्छ । विश्वमा कफी निर्यात गर्ने प्रमुख देश मध्ये एक रहेको तान्जानियामा कफीको उत्पादन पछिल्लो ५० बर्षमा आधा घटेको छ । त्यस्तै वैज्ञानिकहरुले ग्लोबल वार्मिङका कारण चियाको उत्पादन नघटेपनि यसको स्वादमा ह्रास आइरहेको दाबि गरेका छन् । ठुलो पानी पर्दा चियाको स्वादमा असर पुगिरहेको वैज्ञानिकहरुको दाबि छ ।

चकलेट :

चकलेटलाई पनि ग्लोबल वार्मिङबाट प्रभावित हुने बस्तुको सुचिमा राखिएको छ । कोकोलाई अत्यधिक गर्मी र स्थिर मौसम आवश्यक हुने गर्दछ । कफीको विरुवाको जस्तै कोकोको विरुवाको पनि विश्वमा उत्तिकै माग रहेको छ ।तर बढिरहेको तापमान, बर्षा, माटोमा आएको उत्पादनको ह्रास, हावाको गति आदि कारणले कोकोको उत्पादनमा ठुलो असर पुगेको छ । इन्डोनेशिया र अफ्रिकाका देशमा अहिले कोको उत्पादकहरुले यसलाई छोडेर रबर उत्पादन गर्न लागेका छन् । आउदो ४० बर्षमा घाना, आइभरी कोष्टको तापमान औसत २ डिग्री बढ्ने अनुमान गरिएको छ । जबकी यी देशहरु विश्वमा चकलेट बनाउन प्रयोग गरिने कोकोको दुई तिहाइ माग पुरा गर्ने गर्दछन । यसै कारणले भविष्यमा चकलेट महँगो हुने सम्भावना बढिरहेको छ ।

माछा र चिप्स :

माछाको आकार अहिले सानो हुदै गएको छ ।समुन्द्रको तापमान बढ्दै गएकाले पानीमा रहेको अक्सिजनको मात्रा घटिरहेको वैज्ञानिकहरुले बताएका छन् । अत्यधिक कार्बनडाइअक्साइड सोस्ने हुदा महासागरको पानि बढी अम्लीय हुदै गएको र खोलमा हुर्किने जीवका लागि मुश्किल हुदै गएको बताइएको छ । यसको सिधा असर विश्वको माछा बजारमा परेको छ । पछिल्लो विवरण अनुसार विश्वको माछा बजारमा माछाको संख्या ५ प्रतिशतले कमि आएको छ । एक रिपोर्टका अनुसार उत्तरी सागरमा अहिले पहिला भन्दा एक तिहाइ कम मात्र माछा निकाल्ने गरिएको छ ।

आलु :

आलु अहिले खानेकुरामा हरेक दिन प्रयोग हुने चीज मध्ये पर्दछ । जमिन मुनि उत्पादन हुने आलु पनि सुख्खाको चपेटामा आएको छ । विश्वमै आलु अहिले सानो फाल्न थालेको छ । ब्रिटिश मिडियाका अनुसार २०१८ मा मात्र आलुको उत्पादन एक चौथाईले घटेको थियो भने औसतमा आलु तीन सेन्टिमिटर सानो फलेको थियो ।

ब्रान्डी, ह्विस्की र वियर :

दक्षिण-पश्चिम फ्रान्समा ६ सय बर्ष पुरानो ब्रान्डी उद्योग संकटमा परेको छ । तापमानमा भएको वृद्धिका कारण अंगुर बढी गुलियो भएपछि ब्रान्डीको उत्पादनमा असर गरेको छ । यस कारणले अहिले उत्पादकहरुले अन्य विकल्पका बारेमा विचार गर्न थालेका छन् । यसका लागि अनुसन्धानमा लाखौ युरो खर्च गरेपनि खासै सफलता भने हासिल भएको छैन ।

यसैगरी उत्तरी स्कटल्याण्डको प्रसिद्ध ह्विस्की कम्पनी पनि यस्तै समस्यामा परेको छ । ग्लोबल वार्मिङका कारण सुख्खा बढ्दा उनीहरुलाई ह्विस्की बनाउन प्रयोग हुने ताजा पानीको अभाव हुन् थालेको छ । पछिल्लो बर्ष सुख्खा बढेका कारण कैयौ दिन ह्विस्की फ्याक्ट्री नै बन्द गर्नु परेको थियो । मौसमविदले मौसम लगातार कठिन हुदै गएको चेतावनी दिदै आएका छन् ।

उदाहरणको लागि ब्रिटेनको राष्ट्रिय मौसम सेवाका अनुसार यदि औद्योगिक युग भन्दा अगाडिको अवस्थालाई तुलना गर्दा ब्रिटिश आइल्शमा गर्मीमा बढी गर्मी र सुख्खा हुने अवस्था ३० गुणाले बढेको छ । एक अनुसन्धानका अनुसार ब्रिटेनमा हरेक ८ बर्षमा अत्याघिक गर्मी हुने अनुमान गरिएको छ । अन्य देशको अवस्था पनि यो भन्दा फरक नहुने नै देखिन्छ ।

त्यसैगरी वियर बनाउने कम्पनीहरु पनि सुख्खा र अत्यघिक तापमानमा वृद्धिक कारण समस्यामा रहेका छन् । छेक रिपब्लिक,अमेरिकी वियर कम्पनीहरुले पनि पानीको कमि सुख्खा र कम उत्पादनले प्रभावित भएका छन् ।

यी सबै घटनाक्रम विश्लेषण गर्दा के यो युरोप अमेरिका या अफ्रिकाको मात्र समस्या हो त ? अवश्य होइन । हाम्रो देशमा पनि अति बर्षा, अति गर्मी, हिउ, चीसो जस्ता समस्या देख्न थालिसकेका छौ । जसको कारण बर्षेनी सयौले ज्यान गुमाउने सम्मको अवस्था भोगिरहेका छौ ।

विश्वभर आएको बदलावले हजारौ लाखौको अगाडी रोजी रोटीको संकट पर्ने अनुमान गर्न थालिएको छ । उत्पादनमा कमि हुदै जाने र महंगी बढ्दै जाने हो भने खानाकै संकटले विश्वभर ठुलो मानवीय संकट नै नपर्ला भन्न सकिन्न । त्यसैले ग्लोबल वार्मिङको असर अब हाम्रो चिया कफी र बियरसँग मात्रै जोडिएको छैन त्यो भन्दा धेरै ठुलो समस्या आउने देखिन्छ । 
    
            
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै