• २०८१ बैशाख ४ मंगलबार

साँखु मालपोत कार्यालय नमूना घोषणा

kharibot

काठमाडौँ । सरकारले काठमाडौँमा अर्को मालपोत कार्यालयलाई नमूना कार्यालय घोषणा गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज एक समारोहबीच साँखुस्थित मालपोत कार्यालयलाई नमूना कार्यालय घोषणा गरेकी हुन् । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कलङ्किस्थित मालपोत कार्यालयलाई नमूना कार्यालय घोषणा गरेका थिए । मन्त्री अर्यालले कार्यालय साच्चिकै नमूना बन्न सक्नुपर्ने भन्दै नमूना कार्यालयबाट सेवाग्राहीले छिटो चुस्तदुरुस्त सेवा पाउने बताईन । 

उनले मन्त्रालयले थालेको कामलाई सफल बनाउन सबै कर्मचारीलाई आग्रह गरीन । सोही क्रममा कार्यालयको अनुगमनसमेत गरीन । उनले अहिले समग्र भूमि प्रशासनलाई व्यवस्थित गर्न लागिरहेकाले मन्त्रालयको गतिलाई कर्मचारी तथा समग्र सेवाग्राहीले साथ दिनुपर्ने बताईन । 

मन्त्री आर्यालले नयाँ प्रविधियुक्तमार्फत जग्गा प्रशासनलाई  व्यवस्थित गराउन आफू लागिरहेको धारणा राखिन् । भूमि सम्बन्धीको आठौं संशोधनका लागि अहिले छलफल भइरहेको उल्लेख गर्दै उनले अब सबै मोहीलाई अधिकार दिएर कोही पनि मोही नरहनेगरी सरकार जान खोजेको बताईन । 

कार्यक्रममा सांसद सरिता न्यौपानेले सरकारले गरेका सेवालाई चुस्तदुरुस्त बनाउन प्रविधिसँगै सीप पनि दिनुपर्ने बताईन । प्रदेश नं ३ का प्रदेशसभा सदस्य मणिराम फुँयालले नीतिगत, विधिगत तरिकाले काम गर्नुपर्ने भन्दै उनले हुने काममा नरोकेर काम गरेर पठाउन कर्मचारीलाई आग्रह गरे । मन्त्रालयका सचिव गोपिनाथ मैनालीले विस्तारै सबै कार्यालयलाई आधुनिक र सुविधा सम्पन्न बनाउँदै लैजाने अभियानमा मन्त्रालय लागेको बताए ।

शङ्करापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले डिजिटल प्रणालीले सेवाग्राहीले छिटोछरितो सेवा पाउने बताए । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले देशभरका मालपोत कार्यालयमध्ये ७६ कार्यालयमा अनलाइन सेवा सञ्चालन गरिएकाले विस्तारै सबै कार्यालयलाई सूचनामैत्री गर्दै लैजाने बताए । यसैगरी सो कार्यालयमा स्तनपान केन्द्रकोसमेत व्यवस्था गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै