कल्पना : असंरचित, असिमित र स्वतन्त्र

खरीबोट

भनिन्छ, कल्पना मस्तिष्कको जटिल प्रक्रियामा आधारीत दिमाग कै एक अंश हो अर्थात  ज्ञानेन्द्रीय,मस्तिष्क र मांसपेशीबाट हुने शारीरिक र ब्यवहारिक क्रिया हो । जसको सहायताले ब्यक्तिले मानसिक उडान भर्दै एक काल्पनिक तथा स्वप्निल जगतको निर्माण गर्दछ जुन वास्तविक जगतको तुलनामा आवश्यकताको सन्तुष्टिका लागि अधिक महत्वपूर्ण र सहज हुन्छ ।

यसको मद्दतले ब्यक्तिले शारीरिक या भौतिक असमर्थताको मानसिक कुप्रभावबाट आफुलाई रक्षा गर्न पनि सक्छ्न्।यस्तो प्रकारको अधिक र बारम्बारको कल्पनाले मानसिक रोग बिचित्रको भ्रम समेत निर्माण हुन् पुग्छ। तर सिर्जनात्मक कल्पना चाहिँ एउटा यस्तो काल्पनिक सुन्दर उडान हो जसको अभ्यासले अन्ततः साहित्यिक,कलात्मक, बैज्ञानिक ,रचानात्मक  प्रतिभायुक्त्त ब्यक्ती बन्न पुग्छन् । उनीहरुले सिर्जनात्मक कल्पनाको विश्लेषण गर्दै ब्यापक तयारीका साथ आन्तरिकिकरण गर्दै उपकल्पनाको मनन् गरेपछि प्रेरणाशक्ति प्राप्ति भै सिर्जना हुने कुरा बताएका छ्न् ।

कल्पनाले दिमागलाई सक्रिय र सिर्जनशिल बनाउछ।संसारमा जतिपनी उपलब्धि भएका छ्न मस्तिष्कको क्षमता र कल्पनाशीलताले गर्दा नै भएको छ । कल्पना नै सफलताको कडि हो । आविष्कारको पहिलो शक्ति हो । अहिलेका बिज्ञान र प्राविधिका जतिपनी उपलब्धि हरु कम्प्युटर, ईन्टरनेट, ल्यप्ट्प, मोबाइल, एआइहरु बिकसित छ्न यी सबै कल्पना शक्ति कै भरमा भएका हुन् । 'एरोप्लेन' ओर्बिल र विर्वल,'मिक्की माउस' लर्ड डिज्नी,'एन्ड्रोएड फोन' जब्स,'कम्पुटर' चार्ल ब्यावेज, 'इलेक्ट्रीसिटी' बेन्जामिन फ्रन्क्लिन,'अत्याधुनिक रकेट' एलेन मक्स,'समयको इतिहास' विलियम हकिङ्,क्वान्टम सिद्धान्त म्याक्स प्ल्याङ्क, सामान्य सापेक्षताबादको सिद्धान्त अल्वर्ट आइन्स्टाइसको कल्पनाका वास्तविक रुप र उपलब्धिहरु हुन् । कल्पनाका साथ विस्वास गरि त्यसलाई वास्तविक रुपमा ढाल्दा यी सफलताहरु प्राप्त भएका हुन् ।

भनिन्छ, प्रश्न गर्ने,माग गर्ने, विस्वास गर्ने, सकारात्मक सोच राख्ने हो भने आकर्षणको नियम आकर्षित भै उत्तर प्राप्त हुन्छ ।

श्री स्वस्थानी बर्तकथामा पार्वतीले महादेव पति पाऊँ भनी कल्पनाका साथ भिजुअलाइजिङ गर्दा गर्दा आकर्षणको नियमबाट महादेवलाई नै तानेर ल्याइ बिवाहा सम्भब भएको कथा छ । 

हावर्डका न्युरोसाइन्टिस्टहरुले दुईवटा समूह निर्माण गरि एउटा समूहलाई हरेक पाँच दिन दुई घन्टाको दरले पियानो बजाउन लगाए र अर्को समूहलाई त्यतिनै दिन र समय मनमा औंलाले पियानो वजाएको कल्पना गर्न लगाए । यहाँ मन र शरिरबाट मस्तिष्कमा पर्ने असर समान देखियो । कल्पनाको शक्तिबाट स्वस्थ हुनु र औषधिले स्वास्थ प्राप्त गर्नु उस्तै हुन्छ।शरीर र मनले वास्तविक र काल्पनिक छुट्याउदैन ।

जस्तो की कागतिको कल्पनाले मुखमा आएको र्‍याल र वास्तविक कागती देखेर आएको र्‍यालमा कुनै अन्तर हुदैन ।

चित्र हेर्ने कुरामा मात्र कल्पना सिमित छैन् । यो एउटा बिशाल सिर्जनाशक्ति हो । अल्वार्ट आइन्स्टाइनका अनुसार "कल्पना ज्ञानभन्दा शक्तिशाली हुन्छ । ज्ञान सिमीत छ । कल्पनाले पृथ्वीको फेरो लगाउछ ।" भनिन्छ ,उनी लगातार एक्काईस घन्टासम्म सिर्जनशिल कल्पनामा हराउथे । कल्पना एक मसुर संभावना हो।यसमा अनन्त शक्ति हुन्छ । 

जर्ज बर्नाड शाले कल्पनाको सिर्जनाशक्ती को बारे यसो भनेका छ्न्--"कल्पना सिर्जनाको शुरूवात हो । जे चाह्नन्छौं, त्यो कल्पना गर्छौ । जे कल्पना गर्छौ, त्यो इच्छा गर्छौँ र अन्त्यमा जे इच्छा गर्छौं त्यो सिर्जना गर्छौँ ।" हुनपनि कल्पना इच्छा र चाहनाको पुर्तिका लागि ब्रह्माण्ड नै लागि पर्छ भनिन्छ ।

भनिन्छ ,आत्मिक संसारको विशुद्ध कल्पनाले शारीरिक संसारको रचना गर्छ । बास्तवमा अबचेतन मनले हरेक कल्पनालाई सत्य बनाउछ । त्यसको लागि आन्तरिक शक्तिमा अनन्त शक्ति संग कनेक्सन बनाउने अभ्यास गर्नुपर्छ । चेतन मनबाट अबचेतन मनमा प्रवेश गर्ने अभ्यास गर्नुपर्छ । यो संसार हाम्रो कल्पनाको संसार हो।कल्पनाले हाम्रो वास्तविक जीवनलाई सफल बनाउने तागत राख्छ। महमद अलिले भनेकै छ्न् "जुन मान्छे सगं कल्पना छैन् पखेटा हुदैन् ।" हो त कल्पना नै नहुनेले हकिकतमा के पो गर्न सक्छ र ?  सफलता प्राप्त गर्न त गतिलो कल्पना हुनु जरुरी छ । तर कल्पना यो र यस्तै ढाँचाको हुन्छ भन्ने हुदैन् ।

यो त असंरचित, असिमीत र स्वतन्त्र हुन्छ ।

वाने डायरले भनेका छ्न "तिम्रो कल्पना शरीर जस्तै हो अभ्यासले वढ्दै जान्छ ।" हो, साच्चै कल्पनाको अभ्यासले त्यसमा परिपक्वता आउदै जान्छ।त्यसको सन्दर्भ,यथार्थको ढाँचा बन्दै जादा साक्ष्यातकार हुँदै जान्छ।कल्पनाले दुरस्थ बस्तुसंगको सम्बन्धको चिन्तन गर्न मद्धत गर्दछ।त्यस्तो सम्बन्धको परिणाम प्राप्त गर्न पनि कामयावि हुन् सक्छ । त्यति मात्र कहाँ हो र? कल्पना अहिलेसम्मकै सबैभन्दा स्वतन्त्र, प्रभाबकारी र आनन्दायी शक्तिको रुपमा रहेको छ ।

एउटा असल शिक्षकले बालकलाई आशा जगाउने, कल्पनालाई उत्तेजित गर्ने र सिकाइको प्रेमलाई मन भित्र पसाउने कार्य गर्नुपर्छ । बालकको कल्पनालाई वास्तविक बनाउन मद्धत गर्नुपर्छ । उसको अध्ययन कार्यमा कल्पनाशीलता मिलाउन सहयोग गर्नुपर्छ ।

गान्धिका अनुसार " निर्वल ऊ होइन जसलाई नेवल भनिन्छ तर त्यो निर्वल हो जसले आफुलाई निर्वल सम्झिन्छ । गान्धिले भने जस्तै शिक्षकले बालकलाई निर्वल छु बाट मुक्त गर्नुपर्छ । ज्ञान भन्दा ज्यादा महत्त्वपूर्ण कल्पना भएकाले त्यतै बिचरण गर्नुपर्छ । बास्तबमा कल्पना बालकको बिकासको एक महत्त्वपूर्ण पूर्वापेक्षा हो । त्यो बिना उसले आफ्नु सिर्जनाशक्तिको खुलेर प्रयोग गर्न सक्दैन् । कल्पनाले पहिला कहिल्यै नभएको पूर्ण अनुभवको निर्माणमा सघाँउछ । कल्पनाले प्रत्यक्षिकरण,स्मृति र चिन्तनसंग समानता राख्ने हुदा बालकलाई  यसको प्रशस्त अभ्यास गराउनु पर्छ ।

भनिन्छ,जे सोच्छौँ त्यही हुन्छ । जे चाहान्छौँ त्यही पाउछौं । जस्तो कल्पना गर्छौं, अबचेतन मनले त्यस्तै बनाइ दिन्छ । राम्रो कुराको कल्पना गर्दा राम्रै हुन्छ।धनी हुने कल्पनाले धनी नै होइन्छ । गरिव हुने कल्पनाले गरिव नै होइन्छ । अब्बल हुने कल्पना गर्दा अब्बल नै होइन्छ।खराव कुराको कल्पना गर्दा खराव नै हुन्छ । सुखको कल्पना गरे सुख मिल्छ,दुखको कल्पना गरे दुख मिल्छ । मनको सकारात्मक  कल्पना शक्ति अपनाएर हामी विलक्षण प्रतिभाको धनी हुन सक्छौँ ।

घटनाको मुख्य श्रोत भनेकै कल्पना हो । जब सम्म कल्पना गरिदैन घटना घट्दैन । जबसम्म घटना घट्दैन तवसम्म नयाँ नयाँ ज्ञान र आविष्कार हुदैनन् । तर्कबाट एक तोकिएको अवस्थाबाट अर्को तोकिएको अवस्थामा मात्र जान सकिन्छ तर कल्पना जहाँ पनि गर्न सकिन्छ । कल्पना समेत गर्न नसकिने कुराहरुको कल्पना हुँदै आज यथार्थ भएका छ्न् । 

सिर्जनशिल कल्पना, सकरात्मक सोच र मानसिक क्षमाता प्रयोगको बैज्ञानिक सफलताले गर्दा हामीले यति आरमदायी संसार पाएका छौँ । यति धेरै आविष्कार,ज्ञान र सिद्धान्त पाएका छौँ। आज हामी जुन कुरापनी देख्छौं यो सब मानव मस्तिष्कको परिणाम हो । यो जीवनको कुनै पनि लक्ष्यमा प्रयोग हुन्छ ।

नेपालमा लोडसेडिङ हटाउने कल्पना गरेका कुलमान घिसिङ  हुन या टेलिमेडिसन र राष्ट्रिय अनुसन्धान केन्द्रको परिकल्पना गरेका महाबिर पुन हुन् वा अन्धोपन हटाउने सड्ढल्प गरेका सन्दुक रुइत वा चेलीबेटी बेचबिखन र महिला हिंसा निर्मुल पार्ने परिकल्पना गरेकी अनुराधा कोइराला हुन् । सबैले आफ्नो कल्पना शक्तिलाई भरपुर र सहि उपयोग गरेर वास्तविक बनाइ सफलता हासिल गरेका छन् ।

आज तिमी जे छौ यो अघिल्लो बिचारको परिणाम हो । वैदिक दर्शन ,गीता, जीनशुत्र,योगशुत्रको र अहिलेको बिज्ञानको आकर्षणको नियमको एउटै कुरा छ त्यो हो -- मनमा बारम्बार कल्पना जे गरिन्छ त्यही फलित हुन्छ । जो ब्यक्तिलाई दुरानुभूती को ज्ञान हुन्छ कसैको मनको कुरा जान्दछ । टाडा घटेका घटनाहरुको समेत बर्णन गर्दछ । उसलाई परइन्द्रिय ज्ञानको जानकार मानिन्छ ।

महाभारतमा संजयले यहि क्षमताको प्रयोग गरेर टाढा भएको युद्धको वर्णन धृतराष्तलाई सुनाएको थियो । कल्पना बिस्तारै ध्यान र योगमा परिणत हुदा ब्यक्तिमा भबिश्यको आवास हुन् पुग्छ।मस्तिष्कको शक्ति असीमित हुन् पुग्छ । परिणामस्वरूप ब्यक्तिले जादूमय र चमत्कारिक कार्य गर्ने सक्छ । 

अहिले बैज्ञानिकहरु जीनको म्यापिङ र सम्पादन गरेर खराव चरित्रविनाका प्राणीको उत्पादन गरि अमर मानवको कल्पना र कार्यमा काम गरिरहेका छ्न् । के थाहा भोलि यो सफलता प्राप्त हुन् पनि सक्छ। अक्सफोर्ड बिश्वविध्यालयका इतिहासकार हरारीले आफ्नो पछिल्लो पुस्तक 'होमो डियुस'मा मानव शरीरलाई मेसिनको संज्ञा दिएका छ्न्।यसरी नै बैज्ञानिक जगतको प्रगति भए उनलेअवको एक सय ५० बर्षमा मानव अंगको सुलभ,सहज र प्रतिस्थापनले गर्दा मानव जीवन अमर रहने भबिस्यबाणी गरेका छ्न् । यदि मानिसले अहिले गरेको अमरत्वको कल्पना साकार भयो भने अनौठो हुने छैन् किनकि थुप्रै बैज्ञानिकहरुले अमरत्वको कल्पना शक्ति अनुसार अहिले काम गरिरहेका छ्न् । कैयन सफलताहरु प्राप्त छ्न् ।

हामीले तथाकथित समाज,धर्म,राजनीति र ज्ञानले तोकिदिएको मस्तिष्कको क्षमता र कल्पनाको सिमालाई नाघेर आफूमा ईश्वरीय गुण बिकास गर्दै जाँदा अन्ततः ईश्वर बन्न सक्छौँ भन्ने बिचार र बिश्वास लिएर कार्य गर्ने र त्यसको अभ्यास गर्दै जाँदा के थाहा हामी ईश्वर नै बन्न पनि त सक्छौँ ।

बास्तबमा कल्पना बिश्वास कार्य र अभ्यास  र सोही अनुसारको गतिविधि र व्यावहार गर्दै जादा असम्भव ठानिएका कुराहरु सम्भव भएको हाम्रो आँखा अगाडी ऎना जस्तै छर्लङ्ग छ । मानिसले कल्पना समेत गर्ने नसकेको ईश्वर भन्दै ढोग्दै आएको चन्द्रमामा यान लिएर निल आर्मष्ट्रङले पाइला टेकेर सकुशल पृथ्वीमा आए।यो प्रोजेक्ट अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको कल्पनाबाट शुरुवात भएको थियो । त्यसमा सड्ढल्प, अठोट, बिश्वास, हृदयको आवाज, लगन, संयुक्त प्रयास र अभ्यास त्यसपछी गरिएका थिए ।

अहिले यथार्थ, अतियथार्थ, परोक्ष, मायिक र रहस्यमय विश्व  अस्तित्वमा छन् । यथार्थ बाहेकका चारबटाको प्रमुख आधार भनेको कल्पना शक्ति र क्षमता नै हो।यी चारैबटा बिश्व वास्तविक संसारमा प्रवेश गर्ने सुन्दर शुरुआतहरु हुन् । तसर्थ काल्पनिक शक्तिको आधारमा अहिलेको सारा गतिविधि र कार्य संचालित छ्न् ।

अहिले कल्पनाको संसार यति धेरै फस्टाएको छ कि त्यसको जगमा खडा भएको ईन्टरनेटमा अवास्तविक जग्गा पल्टिङ गर्ने,घर बनाउने र बिक्री गर्ने गरेर ब्यापारीले करडौँ कमाएका छ्न् । इन्टरनेट बाट कम्प्युटरमा आउने सुन्दरी/सुन्दर संग मन मिल्ने रहर मिल्ने र इच्छा अनुसारको कार्य गर्न सकिने हुदा अवास्तविक नै भए पनि उनिहरुसगैँ बिवाहा गर्न बिकसित देशका युवा/युवती तयार भएका छन् । उनिहरु कल्पनाको स्वर्णिम संसार निर्माण गरि काल्पनिक संसारमा वास्तविक जीवन बाँच्न चाहान्छ्न् । यी कुराहरु ब्यवहारबाटै पुष्टि हुँदै वास्तविक हुँदै जादैछ्न् । 

आज कल्पना कै संसारको चर्चा हावी हुँदै जादैंछ । जुन आगामी एक सय बर्षमा अकल्पनीय ढंगले बिस्तार र प्रयोग हुनेछ । कतै त्यति बेला सम्म सिमोन वेलले भनेजस्तै " कल्पना र आख्यानले तीन चौथाई वास्तविक जीवन ओगटेको हुन्छ" भन्ने मात्र नभएर चार चौथाई नै ओगट्ने छ भन्न सकिन्न र ?

( लेखक पाण्डे सुनपकुवा माबि उर्लाबारी, मंगलवारे, मोरङका शिक्षक हुन् )
 

सम्बन्धित समाचार

कश्मीरबारे टिप्पणी गर्ने अकाउन्ट बन्द गरेकोमा फेसबुक र ट्वीटरलाई पाकिस्तानको प्रश्न 

पाकिस्तान । गत आइतवार सामाजिक सञ्जालमा कश्मीरको विषयलाई लिएर पोस्ट गर्ने अकाउन्ट स्थगित गरेकोमा पाकिस्तानी अधिकारीहरुले ट्वीटर र फेसबुकसँग सम्पर्क गरेका छन् ।  भारतीय अधिकारीहरुले नयाँ दिल्लीमा गत सोमवार सुरक्षा एजेन्सीहरुको

शिक्षा प्रणालीमा पूर्वीय दर्शनको प्रयोग ! 

पूर्विय दर्शनअन्तर्गत चीनियाँ, भारतीय, कोरियन, थाइल्यान्ड, म्यान्मारका दर्शनहरु पर्दछ्न् । यी मध्ये भारतीय  र चीनियाँ दर्शन श्रेष्ठ छन् । हाम्रो हावा पानी र आधार सुहाउँदो दर्शन पुर्वोय दर्शन नै हो

अस्तित्वको खोजीमा एसिया कै पहिलो 'सुरुङ्ग मार्ग'

बारा । देशको बिभिन्न ठाउमा सुरुङ्ग मार्ग बनाउने भनेर महत्वाकांक्षी प्रस्ताव अघि सारेर चर्चाको खेती गरे पनि १०१ वर्ष पहिले नैं एसियामा नैं पहिलो मानव निर्मित नेपालमा बनेको सुरुङ्ग मार्ग

जेनेभा महासन्धि पारित भएको ७० वर्ष

काठमाडौँ । विश्वको बदलिँदो भूराजनीतिक अवस्था र साइबर आक्रमणले जेनेभा महासन्धिको सान्दर्भिकता बढ्दै गएकामा जोड दिइएको छ । युद्धका बेला मानवीय पीडालाई न्यूनीकरण गर्न र युद्धलाई नियमन गर्न महासन्धिले महत्वपूर्ण


z