• २०८१ बैशाख ७ शुक्रबार

बेलायतमा हाइक फर नेपाल सम्पन्न 

kharibot

लन्डन । ‘नेपाल भ्रमण वर्ष’ २०२० प्रर्वद्धन हेतु बेलायतको वेल्समा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ ।

‘हाइक फर नेपाल’ भनिएको कार्यक्रमले संयुक्त अधिराज्यको उक्त ठाउँलाई करिब चारघण्टा नेपालमय बनायो । वी विल राइज फाउन्डेसन र पोखरेली मञ्च युकेको संयुक्त प्रयासमा आयोजित ९ किलोमिटर पैदलयात्रामा करिब तीन सय जनाको सहभागिता थियो ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रर्वद्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरुको पनि रहेको उल्लेख गर्दै हाइकिङ कार्यक्रमका प्रमुख संयोजक खुशीमान गुरुङले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिइने बताएका छन् । आयोजना स्थलमा भूकम्पले ढलेको आकर्षक धरहराको निर्माण गरी दीप प्रज्जवलन समेत गरिएको थियो । 

भूकम्पमा ज्यान गुमाउनेहरुको स्मृति सँगै नेपालकै पहिचान बनेको उक्त धरहरा यथासक्य छिटो निर्माण सम्पन्न गरियोस भन्ने सन्देश स्वरुप यस्तो प्रतिमूर्ति बनाइएको हो ।

बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुबेदीले यस्ता कार्यक्रमले निरन्तरता पाइरहनु पर्ने उल्लेख गर्दै माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएकाले पनि  दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए ।

आयोजक पोखरेली मञ्चका अध्यक्ष मनप्रसाद गुरुङले यस्ता कार्यक्रमले नेपालीहरु बीच सद्भाव, भातृत्व र सौर्हदता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने जनाए । कार्यक्रममा त्यहाँस्थित स्थानीय नेताहरुको समेत बाक्लो सहभागिता थियो । आयोजनास्थल सुन्दर सहर ब्रेकन र धम्पुस बीच हालै मात्र मितेरी साईनो गाँसिएको छ ।

‘नेपालका लागि सँगसँगै पाईला चालौं’ भन्ने नाराका साथ भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतु वि विल राइजको पहलमा हङकङबाट सुरु भएको हाइकिङ ‘हाइक फर नेपाल’ तेस्रोपटक बेलायतको वेल्समा आयोजना गरिएको हो । यस्ता प्रकृतिका कार्यक्रम संसारभर आयोजना गर्न सकिने जनाउँदै फाउण्डेसनका संस्थापक तुलसी गुरुङले सबैलाई आआफ्नो मुलुकबाट पहलका लागि अनुरोध गरे ।

फोटो : मिलन तमु गुरुङ र सुधा गुरुङ
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै