• २०८१ बैशाख ७ शुक्रबार

जिप दुर्घटनाको खोजी भएन, मनपरी तवरले गाडी गुडाइँदै

kharibot

फाइल तस्बीर

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा छोटो दूरीका सडकमा ‘रुट परमिट’बिना सवारीसाधन सञ्चालन हुँदै आएका छन् । राष्ट्रिय गौरवको कर्णाली करिडोरको हुम्लाअन्तर्गत तीन खण्डमा सवारीसाधन सञ्चालन भए पनि जिल्लामा रुट परमिटबिना सञ्चालन हुँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाका तीन खण्डमा गुडिरहेका सवारीसाधनमाथि कडा निगरानी गर्ने भएको छ । 

जिल्लाभित्रै छोटो दूरीमा सञ्चालन हुँदै आएका सवारीसाधन सञ्चालनका लागि सडक विभागले कुनै पनि खण्डमा नदिएको रुट परमिट बताउँदै आएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले अबका दिनमा सर्केगाडदेखि सलीसल्लासम्मको ११ किलोमिटर, सिमकोटदेखि खार्पुनाथसम्मको १२ किलोमिटर र चीनको हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाँणकेर्मीसम्मको ७४ किलोमिटरमा सवारीसाधन सञ्चालन हुँदै आएका दुई दर्जनभन्दा बढी सवारीसाधनमाथि कडा निगरानी गर्ने जनाएको छ ।

जिल्लामा सञ्चालन हुँदै आएका सवारीसाधनको दुर्घटना बिमा, चालकको मापसे जाँच, लाइसेन्समा जिल्ला प्रशासन हुम्लाले कडा निगरानी गर्ने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिए । प्रजिअ भट्टराईले भने, “रुट परमिटबिना सवारीसाधन गुडाइनु, मापसे गरी लापारवाहीका काराण सवारी चलाउँदा दुर्घटनाको जोखिम बढी हुन्छ ।” 

गएको असार ३ गते खार्पुनाथ गाउँपालिकाको याङचुबगरको बेडुबिसौनामा जिप दुर्घटनामा परी ११ को मृत्यु हुँदाको विषयमा जिल्ला प्रशासन कार्यालय हुम्ला अन्योलमा रहेको छ । जिप दुर्घटना भएको एक महीना बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय हुम्ला, स्थानीय सरकार, जिल्लास्थित राजनीतिक दलहरुले जिप दुर्घटनाको विषयमा चासो नदेखाएको पाइएको छ ।

के कति कारणले जिप दुर्घटना भएको हो भनेर खोजीनिती गर्न जिल्ला प्रशासन कार्यालय पछि सरेको छ । मृतकका आफन्तले क्षतिपूर्ति पाएका छैनन् नै, मृतकको खोजी कार्य पनि भएको छैन र शव पनि भेटिएको छैन । जिल्ला प्रशासन हुम्लाले जिप दुर्घटनाको विषयमा चुप लागेर बस्दा पिडीत राहत पाउनबाट वञ्चित भएका छन् ।

असार ३ गते खार्पुनाथ गाउँपालिका उपाध्यक्षसहित ११ जनाको जिप दुर्घटनामा परी मृत्यु भएको थियो । मृतक ११ मध्ये दुई जनाको मात्र शव फेला परेको थियो ।

प्रजिअ भट्टराईले आफू जिल्लामा नयाँ आएको र सबै गतिविधि बुझेर प्रक्रिया अगाडि बढाउने बताए । कर्णाली करिडोरको हिल्सादेखि कालिकोट खुलालुसम्म २८०.५६ किलोमिटर रहेको सडक आयोजनाले जानकारी दिएको छ । भर्खरै सञ्चालन भएको सर्केगाड–सलिसल्लासहित तीन खण्डको ९६ किलोमिटर सडकमा सवारीसाधन सञ्चालन भएको छ । हिल्सादेखि सिमकोटसम्म ९५ किमीमध्ये ९४ किमी ट्र्याक खुलेको छ  भने च्याछडा भिर फुटाउन ढिलाइ भएकाले एक किमी ट्र्याक खोल्न बाँकी छ । खार्पुनाथदेखि छारेसम्मको १५ किलोमिटरमध्ये आठ किलोमिटर ट्र्याक खुलेको छ । यसैगरी छारेदेखि सलीसल्लासम्मको २३ किलोमिटरमध्ये १० किलोमिटर ट्र्याक खोलिएको र अन्य बाँकी काम सञ्चालन हुँदै गरेको सडक आयोजनाले जानकारी दिएको छ ।

अहिले यो सडकमा चीनको तिब्बतबाट ल्याइएका सवारीसाधन सञ्चालन भएका छन्  । सवारी सञ्चालनका लागि ‘रुट परमिट’ दिइएको छैन । यो क्षेत्रमा सबै सवारीसाधन अवैधानिकरूपमा सञ्चालन भइरहेकोले जिल्ला प्रशासन हुम्लाले बुझेर छलफल गर्ने प्रजिअ भट्टराईले जानकारी दिए । त्यस्तै, सिमकोटदेखि खार्पुनाथसम्मको १२ किलोमिटर सडकमा पनि नियमित सवारीसाधन सञ्चालन भइरहेका छन् ।

विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रमले ट्र्याक खोलेको यो सडकमा पनि जिप र ट्र्याक्टर गरी एक दर्जनभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । यो सडकमा सवारीसाधन सञ्चालनका लागि अनुमति नदिइएको पाइएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै