• २०८१ बैशाख ८ शनिबार

अवरुद्ध पहाडी सडक खुल्न नसक्दा जनजीवन कष्टकर

kharibot

उदयपुर । असारको अन्तिम हप्तामा आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध बनेको उदयपुर जिल्लाको पहाडी क्षेत्रको सडक अझै पनि सञ्चालन गराउन नसक्दा पहाडी क्षेत्रका बासिन्दाको  जीवन यापनमा समस्या भएको छ ।

सदरमुकाम गाईघाट हुँदै सञ्चालन हुने गाईघाट– फोक्सिङटार, गाईघाट–साउने खाँबु, रौता र रानीबास, गाईघाट– मुर्कुची, पुवाँरे डिल्लीबर, माझखर्क र लिम्चुङबुङ, गाईघाट– उदयपुरगढी तथा कटारी–घुर्मी, कटारी–बाहुनीटार, ओख्ले रुपाटार र ताप्ली खण्डका अवरुद्ध सडक अझै पनि खुल्न नसक्दा त्यहाँको जनजीवन कष्टकर बन्दै गएको हो ।

खाद्यन्न सङ्कट रहेको जिल्लाको ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा तत्काल हेलिकप्टरबाट १०० क्वीन्टल खाद्यन्न ढुवानी गरेर वितरण गरिए पनि सो खाद्यन्न अपुग भएकाले धरैले भोकभोकै बस्नुपर्ने अवस्था आएको लिम्चुङबुङ–५ बलाम्ताका शुक्रध्वज राईले बताए ।

उनले भने, “खडेरीले यसपटकको मकै फलेन, अरु अन्न गाउँघरमा छैन, खाद्यन्न ढुवानी गर्ने बाटो सबै अवरुद्ध छ, गाउँमा खाने चामल र अन्नको अभाव छ, जिल्लाको सदरमुकाम गाईघाटसम्म पुग्न दुई–तीन दिन लाग्छ, दुई चारकिलो चामल पैदल बोकेर ल्याएर खानुपर्ने बाध्यता यहाँका बासिन्दाको छ ।”

लिम्चुङबुङ जातेका तीर्थराज बुढाथोकीले भन्नुभयो, “हेलिकप्टरबाट ढुवानी भएको सीमित चामल गाउँका केही जनताले मात्र पाए, बाटो बन्द छ, अन्यत्रबाट चामल किनेर ल्याएर खाने अवस्था छैन, गाउँमा मकै फलेन, आफूहरु माझखर्कको आलु किनेर खाँदै बाँचिरहेका छौँ, अन्य अन्न गाउँमा छैन् ।”

पहाडी गाउँपालिका ताप्ली र लिम्चुङबुङ गाउँपालिकालाई प्रदेश सरकारले ७०० क्वीन्टल चामल सहयोग गरेकामा  १०० क्वीन्टल चामल  ढुवानी भएपनि  अन्य चामल बाटो अवरुद्धका कारण अहिलेसम्म ढुवानी गर्न नसकिएको ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताए ।

बाटो मात्र खुले पनि कटारी र गाईघाटबाट नै चामल ढुवानी गरेर खान सकिनेमा सडक खुल्न नसक्दा पहाडी क्षेत्रले खाद्यन्नको सङ्कट झेल्न बाध्य हुनु परेको सोही गाउँपालिकाका उपाध्यक्ष कमला राईले बताइन् । रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काका अनुसार पहाडी क्षेत्रको सडक खुल्न नसक्दा जिल्ला सदरमुकाम गाईघाटसम्म पुग्न पैदल तीनदिनसम्म हिड्न पर्ने बाध्यता छ ।

वर्षाका कारण अवरुद्ध पहाडी सडक खुलाउन पहल  भए पनि काम तत्काल हुन नसकेको स्थानीय जनता तथा जनप्रतिनिधि बताउछन् । प्रदेश नं १ का सदस्य नारायण बुर्जा मगरले प्रदेश सरकारले पहाडी क्षेत्रको बाटो खुलाउन र मर्मत गर्न रु पचास लाख विनियोजन गरेको र नपुग सम्बन्धित  गाउँपालिकाले नै व्यहोर्ने गरी काम शुरु गर्न लागिएको बताए ।

 

अझै पनि पहाडी क्षेत्रको सडकमा पहिरो खस्ने भइरहेकाले सडक खुलाउन समय लाग्ने त्यहाँका जनप्रतिनिधिले बताए । खाद्यन्न तथा दैनिक उपभोग्य वस्तुको अभाव भोगिरहेका बासिन्दा भने प्रदेश सरकार र स्थानीय सरकारले समयमै अवरुद्ध सडक खुलाउन ढिलाइ गरेकाले आफूहरू कष्टकर अवस्थामा रहनुपरेको गुनासो गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै