• २०८१ बैशाख १३ बिहीबार

कमजोर चट्टानले गुल्मीमा पहिरो गयो : प्रारम्भिक अध्ययन

kharibot

फाइल तस्बीर

काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिकास्थित ठूलो–लुम्पेकमा कमजोर चट्टानका कारण पहिरो गएको प्रारम्भिक अध्ययनले देखाएको छ । 

उक्त पहिरोबारे स्थलगत अध्ययनपछि रासससँग कुरा गर्दै खानी तथा भूगर्भ विभागको पहिरो शाखाका भूगर्भविद् राजेन्द्र आचार्यले ठूलो–लुम्पेकमा पहिरो जानुमा कमजोर चट्टान प्रमुख कारण देखिएका बताए ।

“भिरालो जमीन, साना पाटा र जतापट्टि पहाड फर्कियो उतै पट्टि चट्टान फर्किएको छ, भारी वर्षा हुँदा जमीनले थाम्न नसकेर खसेको देखिन्छ र धेरै ठाउँमा बस्ती बसाउन सक्ने अवस्था छैन”, आचार्यले भने ।

सत्यवती गाउँपालिका–३ मा ठूलो–लुम्पेक पर्छ । उक्त क्षेत्रमा दर्जनौ पहिरो गएको छ । जोखिम क्षेत्रमा बस्ती बसेको विज्ञले बताएका छन् । चट्टान कमजोर र भिरालो क्षेत्र भएकाले एउटा पाटो झरेपछि त्यसले थिच्दै–थिच्दै झरेको छ । कतिपय ठाउँमा सडक निर्माणले पनि पहिरो झरेको देखिएको टोलीले बताएको छ । ठूलो–लुम्पेकमा भने बस्ती बसाउन जोखिम हुने टोलीको निष्कर्ष छ ।

सत्यवती गाउँपालिका–४ लिम्घाको पहिरोका प्रकृति अलि फरक रहेको टोलीले जनाएको छ । त्यहाँ एउटा पहिरो खसेको भए पनि मानवीय क्षति बढी भएको छ । पहाडको भित्तामा घर बनाएको र माथिबाट पहिरो आउँदा एकैचोटी लेदोसहित बाढी बनेर आएको देखिने अध्ययन टोलीले बताएको छ । 

“लिम्घामा चट्टान चिरा पर्ने र ढुङ्गा खस्ने खालको रहेको देखिन्छ, खोल्सोजस्तो भएकाले वर्षा हुँदा भलबाढी आउने ठाउँमा केही घर परे”, आचार्यले थपे । पहिरो धेरै खसेको ठूलो लुम्पेकमा पाँच र पहिरो कम खसेको लिम्घामा आठ जनाले ज्यान गुमाएका थिए ।  

सरकारले पहिरो जानुको कारणसँगै सो क्षेत्रमा बस्ती बस्न ठीक छ कि छैन भनेर भौगर्भिक अध्ययनका लागि गत शुक्रबार दुई जना विज्ञलाई पहिरोग्रस्त क्षेत्रमा पठाएको थियो । स्थलगत अध्ययनको काम सकेको र काठमाडौँमा फर्किएपछि सङ्कलित विवरणको आधारमा पूर्ण प्रतिवेदन तयार पारी सरकारलाई बुझाउने टोलीले जनाएको छ । अध्ययनमा आचार्यसँगै अर्का भूगर्भविद् सुलभ कायस्थसमेत सहभागी रहेका छन् । 

साउन ७ गते बिहान पहिरो खस्दा गुल्मी सत्यवती गाउँपालिकाको वडा नं ३ ठूलो लुम्पेक र वडा नं ४ लिम्घामा गरी १३ जनाको मृत्यु भएको थियो । सयौँ घर उच्च जोखिममा परेको छ । एक हजारभन्दा बढी विस्थापित भएका छन् । बिहान ३ बजेदेखि परेको अविरल वर्षाका कारण ४ बजेदेखि पहिरो खस्न थालेको थियो । 

दुई घाइते र १८ घर पूर्ण क्षति भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन् । उनका अनुसार पहिरोका कारण ३०७ घर उच्च जोखिममा छ । पहिरोले एक हजार २६० स्थानीय विस्थापित छन् । पहिरो क्षेत्रमा पुनःनिर्माणको काम अघि बढेको प्रजिअ पौडेलले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै