• २०८१ बैशाख ४ मंगलबार

लिलामी नहुँदा भन्सारमै थन्किए सवारी साधन

kharibot

बाँके । सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौँ मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्याङ्कन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी सधानको लिलाम प्रक्रिया शुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ ।

लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करीब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधन अझै लिलाम बिक्री हुन सकेका छैनन् । लिलाम हुन नसक्दा भन्सार कार्यालय परिसरमा थन्काइएका सवारी साधन पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

चलाउन सकिने सवारी साधन पनि थोत्रिएर काम नलाग्ने भएका छन् । राजस्व त गुमेको छ नै, सवारी साधन पनि खेर गएका छन् । यी साधनको लिलाम गर्नका लागि भन्सार कार्यालयले सक्रियता देखाउन सकेको छैन । प्रक्रिया अघि नबढेकाले लिलाम हुनुपर्ने सवारी साधन घामपानीले जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

यातायात व्यवस्था कार्यालयको समन्वयमा मेकानिकल इञ्जिनियरले बरामद सवारी साधनको मूल्याङ्कन र रकम तोकेपछि लिलाम हुने व्यवस्था छ । कर्मचारी अभावका कारण जनाउँदै मूल्याङ्कन गर्न ढिलाइ भएको जनाइएको छ । समयमै लिलाम गरेको भए ती सवारी साधनबाट रु दुई करोड राजस्व उठ्ने अनुमान भन्सार कार्यालयको छ ।

तीन वर्षअघि मात्र चोरीका सवारी साधन लिलाम गरी नेपालगञ्ज भन्सारले रु दुई करोड ४३ लाख ८६ हजार राजस्व सङ्कलन गरेको थियो । यातायात कार्यालयले २० वर्ष पुराना गाडी दर्ता नगर्ने भएकाले त्यसैलाई आधार बनाएर उत्पादन वर्ष नखुलेको भन्दै नयाँ र चालू अवस्थाकै गाडी लिलाम गर्न नसकेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।

भारतीय र नेपाली नम्बर प्लेट लगाएर नियमविपरीत गुडेका मोटरसाइकल र जिप प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएका हो । भन्सार कार्यालय परिसरमा करिब २५० थान मोटरसाइकल र दुई वटा जिप रहेका छन् । लिलाम हुन नसक्दा ती सवारी जीर्ण बनेका छन् ।

मूल्याङ्कन र रकम तोकिएपछि लिलाम प्रक्रिया अघि बढाउने तयारी भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले बताए । सुरक्षाकर्मीले नियन्त्रणमा लिएका चोरीका सवारी साधनको मूल्याङ्कन गरी लिलाम बिक्री प्रक्रिया नथालिङ्ग भएपछि भन्सार कार्यालय परिसरमै त्यसै थोत्रिएका छन् ।

धेरै सवारीका कागजपत्र नभेटिएकाले लिलामीमा जान कठिनाइ भएको भन्सार कार्यालयका सूचना अधिकारी जोशीले बताए ।  उनले भने, “सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हामी त्यसलाई खुला गर्दैछौँ ।” उनले पुराना फाइल खोजेर जीर्ण अवस्थामा रहेको सवारी साधनलाई सफासुग्घर गरेर मात्र प्रक्रिया अघि बढाउने तयारी गरिएको बताए ।

सम्पूर्ण कानूनी प्रक्रिया पु¥याएर लिलाम गर्ने तयारी भइरहेको जनाउँदै उहाँले यसले राजश्व सङ्कलनमा वृद्धि हुने बताए । “सबै काम सकिए जतिसक्यो छिटो लिलाम प्रक्रिया अगाडि बढाउने तयारी भएको छ”, सूचना अधिकारी जोशीले भने । बरामद गरिएका सवारी थोत्रा भइसकेकाले सोचेअनुरुप राजस्व सङ्कलन भने नहुने देखिएको छ ।

लिलाम नभएकै कारण भन्सार कार्यालयमा सवारी साधन राख्ने ठाउँसमेत नभएपछि बरामद भएका सवारी प्रहरीले आफ्नै नियन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, “भन्सारमा राख्ने ठाउँ नभएपछि बरामद गरिएका सवारी साधन प्रहरी कार्यालयमै राख्नुपर्ने बाध्यता छ ।”

सवारी साधन लिलाम मूल्याङ्कन समितिमा जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, यान्त्रिक कार्यालय, कोष लेखा तथा नियन्त्रण कार्यालय र उद्योग वाणिज्य सङ्घ प्रतिनिधि रहने प्रावधान रहेको छ । उक्त समितिले लिलाम बिक्रीमा चासो नदेखाउँदा बरामद भएका सवारी साधन लिलाम हुन नसकेको भन्सार कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै