• २०८१ बैशाख १३ बिहीबार

के हो ओटीपी फ्रड ? यसरी बचाऔं आफूलाई 

kharibot

काठमाडौं । हाल नेपालमा अनलाइन पेमेन्ट तीव्र गतिमा बढिरहेको छ । काठमाडौं, धरान, पोखरा लगायत केही सहरमा मात्र रहेको अनलाइन पेमेन्ट सेवा हाल नेपालभर विस्तार हुँदै छ । हाल नेपालमा डिजिटल पेमेन्टका लागि ईसेवा, खल्ती, पेवे जस्ता एपहरु सञ्चालनमा छन् । अनलाइन पेमेन्टप्रति धेरैको रुचि र जिज्ञासा बढिरहेको छ । त्यसैले कतिपयले जान्नकै लागि भए पनि अनलाइन पेमेन्ट गर्ने गरेको देखिन्छ । यस्तोमा प्रयोगकर्ताहरूलाई राम्रो जानकारी नहुँदा उनीहरु ठगिने सम्भावना पनि त्यतिकै छ । केही ठगीका घटना सार्वजनिक पनि भएका छन् । 

के हो त ओटीपी फ्रड 

अनलाइन अथवा डिजिटल प्लेटफर्ममा पेमेन्ट गर्दा प्रयोगकर्ताले मोबाइलमा भएको एपको माध्यमले नै रकम भुक्तानी गर्ने गर्दछन् । यसको सुनिश्चितताका लागि प्रयोगकर्ताको डिभाइसमा वान टाइम पासवर्ड (ओटीपी) आउँछ । ओटीपी टाइप गरेपछि मात्रै पेमेन्ट गर्न सकिन्छ । अनलाइन भुक्तानी कम्पनीहरुले यसरी उपलब्ध गराउने ओटीपी अन्य कसैलाई पनि थाहा नदिन सुझाएका हुन्छन् । 

डिजिटल पेमेन्ट भर्खर सुरु गरेकाहरु आफू अलमलमा परेर अन्य व्यक्तिको सहायता लिन खोज्छन् । कतिपयले सहयोगको नाममा यस्ता व्यक्तिलाई आफ्नो शिकार बनाउन पनि सक्छन् । 

टेक्स्ट म्यासेजको रुपमा आएको ओटीपी केही समयका लागि मात्रै प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् । तर, केही गलत धारणा भएका व्यक्तिले यसको माध्यमले अकाउन्टमा भएको सबै रकम गायब गर्न पनि सक्छन् । त्यसैले यसबाट बच्न केही उपाय अपनाउनु अत्यन्त आवश्यक छ । 

आफ्नो ओटीपी कसैलाई पनि नभनौं 

सर्वप्रथम त डिजिटल पेमेन्ट गर्दा आफ्नो ग्याजेटमा आउने ओटीपी कसैसँग पनि बाँड्नु उचित होइन । आफूले पाएको ओटीपी कसैसँग सेयर नहोस् भनी निकै ध्यान दिनुपर्छ । कतिपयले आफू बैंककर्मी अथवा सेवाप्रदायक कम्पनीको कर्मचारी भनेर पनि पासवर्ड माग्न सक्छन् । तर, ध्यान दिनुपर्ने कुरा, यसरी सेवाप्रदायक कम्पनीले कहिल्यै पनि ओटीपी माग्दैनन् । यदि कसैले माग्दै छ भने उसले झूठ बोलेर तपाईंलाई शिकार बनाउन खोज्दै छ भन्ने जान्नुपर्ने हुन्छ । 

भुक्तानी गर्दा स्रोत र रकममा विशेष ध्यान दिनुहोस् 

ओटीपी फ्रडबाट बच्न अर्को ध्यान दिनुपर्ने कुरा भनेको तपाईंले कुन प्रयोजनका लागि कति रकम भुक्तानी गर्दै हुनुहुन्छ, त्यो सुनिश्चित गर्नुहोस् । यदि भुक्तानी गर्न जाँदै हुनुहुन्छ भने त्यसको स्रोत के हो र मर्चेन्ट विश्वासिलो छ कि छैन भन्ने पनि निक्र्योल गर्नुपर्छ । यदि स्रोत विश्वसनीय छैन भने भुक्तानी तत्काल रोक्नु नै बुद्धिमानी हुन्छ । 

पैसा लिन ओटीपी चाहिँदैन 

अर्को ध्यान दिनुपर्ने कुरा के हो भने ओटीपीको आवश्यकता रकम भुक्तानी गर्दा मात्रै पर्छ । आफूले पेमेन्ट रिसिभ गर्दा ओटीपीको कुनै आवश्यकता हुँदैन । त्यसैले कतिपयले आफूले रकम भुक्तानी दिने भनेर ओटीपी माग्न पनि सक्छन् । यस्तो अवस्थामा आफूले रकम पाउनुको सट्टा उसले आफ्नो अकाउन्ट खाली गरिदिन पनि सक्छ । त्यसैले भुक्तानी लिन कुनै ओटीपी नचाहिने भएकाले कसैले मागे पनि नदिनु श्रेयस्कर हुन्छ । 

स्मार्टफोनमा आधिकारिक एपको मात्रै प्रयोग 

हाल स्मार्टफोनमा अनाधिकारिक एपको सहायताले पनि कतिपयले प्रयोगकर्तालाई ठग्ने गरेको पाइएको छ । उनीहरुले एपको माध्यमले प्रयोगकर्ताको सम्पूर्ण डेटा चोरी गर्न सक्छन् । त्यस्तै, विभिन्न म्यासेज पठाएर पनि ग्याजेट ह्याक गर्न सक्छन् । त्यसैले आफू विश्वस्त नभएसम्म शंका लागेको एप र म्यासेज ओपन गर्नु हुँदैन । एप डाउनलोड गर्दा आधिकारिक एपमात्रै डाउनलोड गर्नुपर्छ । 

आधिकारिक ग्राहक सेवा केन्द्रमा मात्रै कन्ट्याक्ट गरौं 

हामीले बैंक अकाउन्ट, पेमेन्ट आदि कुनै पनि विषयसँग सम्बन्धित समस्या भएमा ग्राहक सेवा केन्द्रमा कल गर्ने गर्दछौं, अथवा साइट भिजिट गर्दछौं । यस्तोमा हामीले डाइल गरेको कल आधिकारिक हो कि होइन, हामीले भिजिट गरेको पेज आधिकारिक हो कि होइन, ख्याल राख्नुपर्छ । अन्यथा गलत नम्बरमा डाइल गरेमा अथवा गलत पेज भिजिट गरेमा हाम्रो ग्याजेटबाट डेटा चोरी हुने सम्भावना त्यतिकै रहन्छ ।

कतिपयले त गूगल म्यापमा पनि गलत नम्बर एड गरेर मानिसलाई शिकार बनाउन खोजिरहेका हुन सक्छन् । त्यसैले सधैं सही नम्बर डाइल गर्नुहोस् र आधिकारिक पेज नै भिजिट गर्नुहोस् । त्यस्तै, गलत अफरको चक्करमा पर्नु पनि घातक हुन सक्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै