• २०८१ बैशाख ६ बिहीबार

डेङ्गु नियन्त्रण गर्न ‘खोज र नस्ट गर’ अभियान

kharibot

हेटौँडा । मकवानपुरमा १४ दिनको अन्तरमा ८३ जनालाई डेङ्गु सङ्क्रमण भएपछि हेटौँडा उपमहानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियान तीव्र पारेको  छ । अघिल्ला वर्षमा खासै समस्या नदेखिए पनि यो वर्ष दैनिक १० देखि १५ जना डेङ्गु सङ्क्रमित देखिन थालेपछि उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले कार्यपालिकाको विशेष बैठक डाकेर अभियानको थालनी गरेका हुन् ।

उपमहानगरले सबै वडामा डेङ्गु सङ्क्रमणलाई सार्न सक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नस्ट पार्ने काम गरिएको उपमहानगरपालिकाका जनस्वास्थ प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए । 

कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका, वृद्धवृद्धा,  गर्भवती तथा सुत्केरी एवं दीर्घ रोघ लागेका बिरामीलाई डेङ्गु सङ्क्रमण भए आराम र पौष्टिक आहार प्राप्त नभए ज्यानसमेत जानसक्ने उनले बताए । 

आफ्नो घर वरिपरी खाल्डाखुल्डीमा पानी जमेको भए पुर्न, टायर, फालिएका भाँडाकुडा, पानी जम्मा गर्न बनाइएका ट्याङ्की आदीमा लामखट्टेले अण्डा पार्नसक्ने र केही दिनभित्र नै ती अण्डा लार्भा प्यूपा र वयस्क लामखुट्टेमा परिवर्तन भई सङ्क्रमण सार्नसक्ने भएकाले त्यस्तो पानी पोख्न, खन्याउन वा उचित व्यवस्थापन गर्न अनुरोध गरिएको प्रमुख कार्कीले जानकारी दिए । 

यही साउन १० गते पहिलो डेङ्गु सङ्क्रमित बिरामी भेटिएका र हेटौँडामा बिहीबारसम्म मात्र ८३ जना बिरामी पुगेका उनको भनाइ छ । हेटौँडामा बिहीबार मात्रै १४ जना सङ्क्रमित थपिएका थिए ।

सामान्यतया एउटा पोथी लामखुट्टेले आफ्नो जीवनकालमा अण्डा उत्पादन गर्न आवश्यक प्रोटिनका लागि एक पटक मात्र जीवजन्तुको रगत चुस्ने गरे पनि डेङ्गु सङ्क्रमण फैलाउने प्रजातिको लामखुट्टेको भने धेरै जनाको थोरै रगत खाने बानी हुने र डेङ्गु सङ्क्रमण भएको लामखुट्टेको सङ्क्रमणस्वत हस्तान्तरण हुने हुँदा डेङ्गुले छोटो समयमै महामारीको रुप लिनसक्ने कीटजन्य रोग अनुसन्धान तथा तालिका केन्द्रका जुनियर इस्टोमोलाजिस्ट राधा सुवेदीले जानकारी दिए । 

डेङ्गुले महामारीको रुप लिन थालेपछि प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले पनि रोकथामको पहल शुरु गरेको छ । मन्त्रालयले विभिन्न माध्यममार्फत डेङ्गु लाग्नबाट बच्ने उपाय तथा डेङ्गको सङ्क्रमण भइहालेमा अपनाउनुपर्ने तरिकाबारे जानकारीसहितको सूचना प्रवाह गर्न शुरु गरेको छ । 

यसैबीच ल्याब प्राविधिकको संस्था मेडिकल ल्याब्रोटरी एशोसियशन अफ नेपाल (मेलान) ले डेङ्गु परीक्षणमा छुट दिने निर्णय गरेको छ । मेलानले डेङ्गु  बारे प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय तथा

उपमहानगरपालिकालगायत सरोकारवाला निकायसँगको छलफलपछि सर्वसाधारण बिरामीलाई मध्यनजर गर्दै डेङ्गु परीक्षणमा विशेष सहुलियत दिने निर्णय गरेको मेलानका केन्द्रीय सदस्य उत्सव चौलागाइले जानकारी दिए । 

उनका अनुसार प्राइभेट अस्पताल र क्लिनिकका ल्याबमा पनि सर्वसुलभ शुल्कमा डेङ्गुको परीक्षण हुने छ । यसअघि डेङ्गु परीक्षणबापत रु एक हजार पाँच सय लिने गरेकामा अब रु एक हजार मात्र लिने निर्णय गरिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै