• २०८१ बैशाख १३ बिहीबार

नयाँ चन्द्र अभियानमा नासा

kharibot

अमेरिका । मानिसले चन्द्रमामा पाइला राखेको ५०औं वर्षको उपलक्ष्यमा हाल विश्वले उत्सव मनाइरहेको छ । कतिपयले ५० वर्षअघि मानिस चन्द्रमामा पुगेको कुरा गलत भएको भनी विभिन्न तर्क प्रस्तुत गरेकाले यो अझै चासोको विषय बनेको छ । केही अघिमात्रै भारतले पनि चन्द्रयान–२ सफलतापूर्वक प्रक्षेपण गरेको थियो । यसैबीच अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो एक नयाँ मिशन ल्याएको छ । 

उसले सन् २०२४ मा मानिसलाई चन्द्रमामा पठाउने योजना सार्वजनिक गरेको छ । यस मिशनलाई आर्टेमिस नाम दिइएको छ । यसको विशेषता के छ भने, नासाले यसपटक महिलालाई प्राथमिकता दिँदै उक्त मिशनमार्फत चन्द्रमामा पहिला महिला र त्यसपछि पुरुषलाई उतार्ने योजना बनाएको छ । 

के हो आर्टेमिस ? 

आर्टेमिस ग्रीसकी देवी एपोलोकी जुम्ल्याहा बहिनी हुन् । उनलाई चन्द्रमा र शिकारकी देवी पनि मानिन्छ । नासाले यो मिशन मंगलका लागि पनि निकै महत्त्वपूर्ण रहेको बताएको छ । नासाले आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ, ‘आर्टेमिसले मंगलमा जान हाम्रो बाटो तय गर्नेछ । नयाँ मिशन आर्टेमिसले पूर्व मिशन एपोलोबाट साहसिक प्रेरणा लिएर आफ्नो बाटो निर्धारण गर्नेछ ।’ अहिलेसम्म मानिस नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयात्रीलाई उतार्ने योजना नासाको छ । 

आर्टेमिसको उद्देश्य

यस मिशनअन्तर्गत अन्तरिक्षयात्रीले चन्द्रमाको हालसम्म कोही पनि नपुगेको क्षेत्रमा ओर्लेर अनुसन्धान तथा विभिन्न परीक्षण गर्नेछन् । उनीहरुले ब्रह्माण्डका रहस्यलाई खोतल्नुका साथै विभिन्न प्रविधिको परीक्षण पनि गर्नेछन् । यसले सौर्यमण्डलमा मानिसको सीमालाई विस्तार गर्ने नासाको भनाइ छ । नासाले भनेको छ, ‘चन्द्रमाको सतहमा अन्तरिक्षयात्रीले पानी, बरफ तथा अन्य प्राकृतिक स्रोतसाधनको खोजी गर्नेछन् । यसले भविष्यमा अन्तरिक्ष तथा अझै अगाडिको मार्गप्रशस्त गर्नेछ ।’ चन्द्रमाको अभियान सफल भएपछि अघिल्लो कदम मंगलका लागि चालिनेमा नासाले जोड दिएको छ । 

अभियानको खर्च 

अन्तरिक्षयात्रीहरुलाई चन्द्रमामा सन् २०२४ अथवा बढीमा त्यसको १ वर्षभित्रमा पठाइने नासाको लक्ष्य छ । यसका लागि उसले करबि ३० अर्ब डलर खर्च छुट्याएको छ । पहिलोपटक चन्द्रमामा मानिस पठाउन सफल स्पेसफ्लाइट एपोलो–११ को खर्च पनि करीब त्यति नै भएको अनुमान छ । अमेरिकाले सन् १९६१ मा सुरु गरेर सन् १९७२ मा सम्पन्न गरेको एपोलो अभियानको कुल खर्च करीब २५ अर्ब डलर थियो । 

एपोलो–११ अभियान अन्तर्गत ५० वर्षअघि दुई अन्तरिक्षयात्री नील आर्मस्ट्रङ र एडविन युजिन एल्ड्रिन जुनियर चन्द्रमाको सतहमा उत्रेका थिए । यो अभियानमा मात्रै त्यस बेला करीब ६ अर्ब डलर खर्च भएको थियो । यो हालको समयमा करीब ३० अर्ब डलरबराबर हो । 

चन्द्रमामा पुग्ने योजना यस्तो  

आर्टेमिस–१ अभियान अन्तर्गत सबैभन्दा पहिला सन् २०२० मा चन्द्रमाको नजिकै मानवरहित यान पठाइनेछ । यस अभियानअन्तर्गत स्पेस लन्च सिस्टम (एसएलएस) रकेट अन्तरिक्षमा पठाउने योजना छ । त्यस्तै, त्यसको ठीक दुई वर्षपछि मानवसहितको यानले चन्द्रमाको परिक्रमा गर्नेछ । हाल नासा र विमान निर्माता कम्पनी बोइङ मिलेर अन्तरिक्ष पठाइने रकेटको निर्माण गरिरहेका छन् । निर्माण पूरा भएपछि यो हालसम्मकै ठूलो रकेट हुने नासाको भनाइ छ । नासाको योजनाअनुसार विभिन्न निजी कम्पनीहरुले सन् २०२२ देखि २०२४ को बीचमा पाँच छुट्टाछुट्टै अभियानको सञ्चालन गर्नेछन् । 

नासाका एक अधिकारी जिम ब्रिडेनस्टाइनले भने, ‘एपोलो र आर्टेमिस दुई अभियानबीच के फरक छ भने, पहिला चन्द्रमाको सतहमा मानिसको उपस्थितिमात्र गराइयो भने अब स्थायी रूपमा नै मानिसलाई त्यहाँ पठाउन लागिएको छ ।’ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै